सोमवार, अशोज १२, २०७७
Monday, September 28, 2020

वर्षौदेखी डल्फिन जोगाउँदै स्थानीय

योगेश रावल,टीकापुर १५ साउन । कैलालीको भजनी नगरपालिकाका विप्लवराज श्रेष्ठ (२३) भारतको हैदरावादमा स्नातोकोत्तर तहमा इन्जिनियरिङ पढ्दैछन्। उनी बिदाको समयमा घर आएको बेला डल्फिन क्षेत्रमा घुम्न निस्कन्छन्। डल्फिनको अवस्थाका बारेमा बुझ्छन् र महत्वका बारेमा बुझाउँदै हिड्छन्।

उनी डल्फिन बारेका विज्ञ भने होइनन्। तर उनले सानै उमेरदेखी डल्फिनलाई चिन्ने मौका पाए। उनले डल्फिनका बारेमा धेरै कुरा जानेका छन्। उनी संरक्षणकर्मीद्वय गुलेली बाजेका नामले चिनिने भोजराज श्रेष्ठ (८५) का नाती र विजयराज श्रेष्ठ (५३) का छोरा हुन्। उनको तीन पुस्ता अहिले पनि डल्फिनको संरक्षणमा सकृय छ। शनिबार डल्फिन गणना भइरहेका बेला बाजे, छोरा र नाती मोहना र पथरैया नदीको दोभानमा भेटिए।

‘हजुरबुबा र बुवाको कामबाट प्रभावित भएर नै मेरो डल्फिन संरक्षणतर्फ आकर्षण बढ्यो,’ उनले भने, ‘सधैंभरी सकृय हुन त सक्दैन। कहिले काँही विदाको समयमा चाँसो राख्छु।’

गुलेली बाजेले पहिलो पटक २०५६ मा डल्फिन संरक्षणको पहल थाले। उनलाई अमेरीकी नागरिकले डल्फिनको महत्वका बारेमा सुनाए पछि यस्तो पहल थालेका हुन्। त्यसअघि सीमावर्ती मोहना नदीमा भारतीयले जाल हानेर डल्फिन मार्थे। कहिले काँही स्थानीयले समेत मार्थे। माछा मार्ने क्रममा समेत थु्रप्रै डल्फिन मरेका थिए। त्यसको महत्वका बारेमा कसैलाई जानकारी नै थिएन। स्थानीयले स्वाँसु, सोस लगायत भनेर चिन्थे।

गुलेली बाजेले दिनरात नभनेर डल्फिन संरक्षण अभियान थाले। स्थानीयले उनको अभियानमा साथ दिए। स्थानीयकै पहलमा बिभिन्न १४ स्थानमा डल्फिन संरक्षण केन्द्र स्थापना भएका छन्। समुदायमा ३ वटा इको क्लब र ९ वटा डल्फिन क्लब गठन गरिएका छन्। डल्फिन संरक्षणमा प्रत्यक्ष अप्रत्यक्ष गरी करिव ६० हजार स्थानीय सकृय रहेको टीकापुर नगरपालिका ढुंगानाटोलका संरक्षणकर्मी भोजराज ढुंगाना बताउँछन्।

‘स्थानीयको सकृयताले डल्फिन संरक्षण अभियान सार्थक बन्न पुगेको हो,’ उनले भने, ‘स्थानीयले वास्ता नगरेको भए डल्फिन जोगाउन सकिदैन थियो।’

डल्फिन संरक्षण अभियानमा थुप्रै युवाहरु स्वयम्सेवीका रुपमा खटेका छन्। उनीहरु आफ्नो काम छोडेर भएपनि डल्फिन संरक्षणका बारेमा जनचेतना बाँड्दै हिड्छन्। यसले समुदायका बासिन्दालाई उत्साहित बनाउने गरेको छ।

भजनी नगरपालिका–६ का हिरुलाल डगौरा डल्फिन संरक्षण केन्द्रका कोषाध्यक्ष हुन्। गुलेली बाजेले डल्फिन संरक्षणको अभियान सुरु गर्दा उनी राष्ट्रिय प्रावि पल्टुपुरमा कक्षा ४ मा अध्ययनरत थिए। गुलेली बाजे सो विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष थिए। गुलेली बाजेले संरक्षणका बारेमा दिएको अभिव्यक्तिले उनलाई यसतर्फ आकर्षित ग¥यो। उनले जागिर समेत संरक्षणकै क्षेत्रमा पाएका छन्। उनी पन्छी संरक्षण संघमा कार्यरत छन्। ‘त्यो दिनदेखी अहिलेसम्म म संरक्षण अभियानमा छुँ,’ उनले भने, ‘डल्फिन हाम्रो गहना हो। यसको संरक्षण गर्नु जिम्मेवारी हो।’

भजनी नगरपालिका–२ रजवाराका अन्तराम चौधरी पेशाले कृषक हुन्। उनी खेतीपाती गरेर जीविकोपार्जन गर्छन्। यसका अलावा उनको काम डल्फिन संरक्षणमा सकृय रहनु हो। उनी विगत १५ वर्षदेखी डल्फिन संरक्षणमा छन्। उनी चोरी सिकार नियन्त्रण दलको संयोजक समेत हुन्। उनलाई संरक्षणको नशाले छोएको छ। उनी भन्छन्, ‘म चाहेर पनि टाढिन सक्दैन, किनकी संरक्षण अभियान नशा जस्तै भैसकेको छ।’

स्थानीय धनीराम रेग्मीले डल्फिन भ्यू टावर निर्माणका लागि एक कठ्ठा जमिन निशुल्क दिएका छन्। रेग्मीले दिएको जमिनमा भ्यू टावर निर्माण गरिएको छ। जहाँबाट पथरैया र काँडा नदीको दोभानमा डल्फिन हेर्न सकिन्छ। डल्फिन संरक्षणमा स्थानीयको सकृयता झन बढ्दै गएको संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउँछन्।

‘वृद्धभत्ता पाएको रुपैयाँ खर्च गरेर समेत समुदायका मान्छे डल्फिन संरक्षणमा लागेका छन्,’ उनले भने, ‘न हामीले दिन भनेका छौं, न रात नै भनेका छौं। हाम्रो संरक्षण यात्रा निरन्तर जारी छ।’

स्थानीयको संरक्षण अभियानले गर्दा नै डल्फिनको संख्या सन्तोषजनक ढंगले बढ्दै गएको प्रो।डा। मुकेश चालिसेले बताए। उनले डल्फिन संरक्षणमा स्थानीयको भूमिका निकै महत्वपूर्ण रहेको बताए। ‘यसमा राज्यको कुनै लगानी छैन। यो पूर्ण रुपमा स्थानीयले संरक्षण गरेको डल्फिन हो,’ उनले भने, ‘अब आगामी दिनमा भने राज्यले अभिभावकत्व लिनुपर्छ।’

उनले विगत तीन वर्षदेखी डल्फिन गणना गर्दै आएका छन्। यसअघि २०७२ र २०७४ मा गणना गरेका थिए। यो वर्ष ४७ वटा डल्फिन भेटिएका छन्। जसमध्ये १२ वटा बच्चा रहेको बताइएको छ। सबैभन्दा धेरै मोहना र पथरैया नदीको दोभानमा ७ वटा देखिएको चालिसेले जानकारी दिए। एकै पटक ३७ स्थानमा गणना गरिएको थियो। उनले जसमध्ये १३ स्थानमा डल्फिन नदेखिएको बताए।

‘पानीको सतह अझै बढेको छैन। डल्फिनका लागि करिव २ मिटर पानीको सहत चाहिन्छ’ उनले भने, ‘पानी कम भएकाले पनि डल्फिन कम देखिएको हो।’

मोहना, पथरैया, काँडा नदीहरुमा असारदेखी असोज महिनासम्म डल्फिन देख्न सकिन्छ। अन्य महिनामा डल्फिन नजिकैको कर्णाली नदीतर्फ लाग्छन्। कर्णालीमा पानीको सतह निकै धेरै भएकाले उति सारो डल्फिन देख्न सकिदैन। यहाँ ग्याँगेटिक जातको डल्फिन पाइन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाइन्छ। यो माशांहारी प्राणी हो। यसले मुख्य आहारका रुपमा माछा, घोँगी लगायत खान्छ। यसले बच्चा जन्माउँछ। वर्षमा एक वा एकै पटक दुई वटा सम्म बच्चा जन्माउने गरेको अनुसन्धानले देखाएको छ। नागरिकन्यूजबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE