सोमवार, अशोज १२, २०७७
Monday, September 28, 2020

हलियाका लागि उपलब्ध गराएको रकममा भ्रष्टाचार !

काठमाडौं २३ साउन । राष्ट्रिय सभाका सदस्य चक्रप्रसाद स्नेहीले डडेलधुरामा हलियामुक्त पुनर्स्थापना कार्यक्रम अन्तर्गत सरकारले हलियाका लागि उपलब्ध गराएको रकममा भ्रष्टाचार भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सदस्य स्नेहीले डडेलधुरा मालपोत कार्यालयका सहायक दान बहादुर विक, लेखापाल दिलबहादुर ऐर र मुक्त हलियाका जिल्ला अध्यक्ष तुलाराम सार्कीले हलिया पुनर्स्थापना कार्यक्रम अन्तर्गत हलियालाई उपलब्ध गराइएको रकमबाट प्रतिव्यक्ति २० हजारका दरले ३ करोड ३८ लाख रुपैयाँ घूस लिएको प्रमाणित भइसकेको भन्दै कडा कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

घूस लिएको प्रमाणित भएपछि केही रकम उनीहरूले फिर्ता गरेको र त्यही बहानामा छुट दिने काम नहोस् भनी उनले सरकारको ध्यानाकर्षण गराए। उनले घूस लिने काममा संलग्न सबैलाई कडा कारबाही गर्न माग गरे।

डडेलधुरामा १ हजार ५ सय ५८ जना हलिया पुनर्स्थापित भइसकेका छन् भने २ हजार ५ सय ५१ जना हलिया सरकारको हलिया पुनर्स्थापित कार्यक्रम अन्तर्गत सेवा लिने क्रममा छन्। हलिया पुनर्स्थापित कार्यक्रम अन्र्तगत सरकारले घर निर्माणका लागि ३ लाख २५ हजार, मर्मतका लागि १ लाख २५ हजार र जमिन खरिदका लागि २ लाख रुपैयाँ जिल्ला मालपोत कार्यालय मार्फत उपलब्ध गराउँदै आएको छ ।

सरकारले सरकारी निकायमार्फत् नै उपलब्ध गराएको रकममा भ्रष्टाचार र घूसखोरी हुनु दुस्खद भएको भन्दै उनले दोषीमाथि कारबाही गरी पीडितलाई न्याय दिन सरकारसँग माग गरे।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE