शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

‘मन भएर के गर्नु, बुढियासँग घुम्नेलाई राम्रो मान्दैन’

शकुन्तला जोशी काठमाडौं २८ साउन । सोनेलाल राम (४२) बिहानको खानापछि सामानले भरिएको बोरा बोकेर हतारिँदै नयाँबानेश्वरको घुम्तीमा आइपुग्छन् । बिजुलीको पोलमुनि फुटपाथको सानो भागमा उनी एउटा बोरा फिँजाउँछन् । त्यसमा ओछ्याउँछन्, सीवा (खाप्सियो), कत्तरनु, हथौडी, रंग, क्रिम (जुत्ता टल्काउने), धागो र केही थान पुराना जुत्ता ।

बोराको एक छेउमा रातो रंंगको एउटा टिनको डब्बा घोप्ट्याएर राख्छन्, जो ग्राहकका लागि बस्ने ‘कुर्सी’ हो । काम शुरु गर्नुअघि ‘आज दिनभरिमा धेरै काम पाइयोस्’ भन्दै इष्टदेवतालाई मनमनै सम्झिन्छन् । त्यसपछि ग्राहकको जुत्ता मर्मत र पालिस गर्दै शुरु हुन्छ, उनको दैनिकी । यसरी नै यो घुम्तीमा जीविकोपार्जनको आधार खोज्दै दुई दशकभन्दा बढी बिताइसकेका छन्, उनले ।

सामान्यतया अर्काको खुट्टामा लगाएको जुत्ता कसैले छुँदैन । गन्हाएको भए त कुरै सकियो, टलक्क टल्किएको ब्रान्डेड भए पनि आखिर जुत्ता त जुत्तै हो, छुनु पर्यो भने मानिसको यसै नाक खुम्चिन्छ । तर, रामका लागि अरुको जुत्ता उठाउनु खुशीको कुरा हो । दिनभर जति धेरैका जुत्ता हात पर्यो, उनको अनुहार उति नै उज्यालिन्छ । ‘शुरुमा त घिन र दिक्क लाग्थ्यो । तर, पेसा नै जुत्ता मर्मत गर्ने भएपछि दुःख मान्नुको अर्थ छैन,’ पहेँला दाँत चम्काएर हाँस्दै उनी भन्छन् ।

उनको घर सर्लाहीको पिपरिया हो । बाबुको पालासम्म उनीहरूको अलिकति जमिन थियो । आफ्नै खेतीको उत्पादनले परिवारलाई वर्षदिन खान पुग्दैनथ्यो । परिवार पाल्न उनका बाबु र काकाहरू नै महाजनकामा ज्याला, मजदुरी गर्न जान्थे । परिवार पाल्ने चक्करमै घरबाहेक भएको एक टुक्रा जमिन पनि बाबुकै पालामा सकियो ।

त्यसपछि विद्यालयको मुखसम्म नदेखेका उनी गाई, बाख्रा चराउन छाडेर ०४९ सालमा काकासँग काठमाडौं हानिए । पुस्तौंदेखि गरिबीको चक्रबाट माथि उठ्न नसकेको परिवारलाई थोरै भरथेग गर्ने उद्देश्यले उनी राजधानी आएका थिए । गाउँमा छँदा लाग्थ्यो, आफ्नो जमिन नभएर के भयो, मधेश देख्नलाई विशाल मैदान थियो । जहाँ हेरे पनि आफ्नैजस्तो लाग्ने फाँट हुन्थे ।

उनलाई अभावमा भए पनि खुला क्षितिजमा फैलिएको बानी थियो । शुरुमा काठमाडौं त उनलाई कच्याककुचुक, खाँदाखाँद शहर लाग्यो । मान्छे कति हुन् कति, कहाँबाट आएका होलान् ? उदेक लाग्थ्यो । तर, बुझ्दै जाँदा लाग्यो, आफूजस्तै परिश्रम गरेर जीवन चलाउने यो ठूलो शहरमा धेरै रहेछन् । तर, दुनियाँको बारेमा बुझेर उनलाई के को लाभ हुन्थ्यो । काठमाडौं आउनेबित्तिकै उनी काकासँगै नयाँबानेश्वरमा जुत्ता मर्मत गर्न बसे । काम सिक्दै गएपछि उनलाई लाग्यो, शहरमा जति मान्छे बढ्यो, आफ्नो कमाइ उति बढ्ने छ ।

त्यसपछि उनको ध्यान ग्राहक बढून् भन्नेमै केन्द्रित हुन थाल्यो । उनी पिछडिएका समुदायमा पर्छन् । उनको परिवार मात्र होइन, सम्प्रदायका प्रायः सबै गरिबीको चपेटामा छन् । गरिबीकै कारण उनको जातिका प्रायः कसैले पढ्न पाएनन् । अहिलेको पुस्तामा पनि केहीले मात्र माध्यमिक शिक्षा छिचोल्दै छन् । घरछेउमै विद्यालय भएर पनि उनी जान पाएनन् ।

गाउँमा कथित माथिल्ला भनिएका जात र वर्गका दामलेसँग उनको संगती भएन । भन्छन्, ‘महाजनको खेतमा ज्यालादारी गर्न जानुपथ्र्यो । मेरै उमेरका महाजनका छोरा स्कुल जान्थे । त्यसबेला लाग्थ्यो, पढ्न पाएको भए मैले पनि यसरी काम गर्नु पर्दैनथ्यो ।’ गरिबी र अशिक्षाकै कारण दामले भएर पनि महाजनका छोराहरू कहिल्यै साथी नबनेको उनको अनुभव छ । तर, उनले अरूको जुत्ता मर्मत गरेरै पनि थोरैतिनो पैसा कमाउँछन् ।

उनी मासिक पाँचदेखि सात हजार रुपैयाँ बचत गरेर आवश्यकताअनुसार घर पठाउँछन् । उनका छोरा ११ र छोरी नौ कक्षामा पढ्दैछन् । वृद्ध बाबुसहितको परिवार अहिले उनको कमाइले नै पालिएको छ । उनी छोराछोरीलाई उनीहरूले चाहुञ्जेल पढाउन चाहन्छन् । उनलाई विश्वास छ, तिनीहरूले धेरै पढेर जागिर खान्छन् र आफ्नो परिवारमा पनि सुखको दिन आउनेछ ।

श्यामश्वेत जिन्दगी

उनले ०५१ सालमा विवाह गरे । तर, परिवारको पेट पाल्न उनले कमाइ नगरी सुखै थिएन । विवाहको केही समयपछि नै नयाँ दुलहीलाई घरमा छाडेर उनी फेरि राजधानी फर्किए । त्यसपछि समय मिलाएर उनी २/४ महिनामा घर पुगिरहन्छन् । तर, भर्खरै विवाह गरेका बेला उनलाई दुलहीको नियास्रो लाग्थ्यो । भन्छन्, ‘नियास्रो त उनलाई पनि लाग्थ्यो होला । तर, हाम्रो समाजमा त्यस्ता कुरा अरूले थाहा पाएको राम्रो मानिँदैन । दुलहीलाई सँगै लिएर हिँड्ने त कुरै आउँदैन ।’ साँच्चै पत्नीसँग एकपटक हाटबजार गएको पनि उनलाई सम्झना छैन ।

देहातमा बुढियासँग घुम्न निस्किनुलाई पटक्कै राम्रो मानिँदैन रे । उनी भन्छन्, ‘हामीजस्ता गरिबका लागि त्यस्तो रमाइलो गर्ने कहाँ समय मिल्नु रु दुई छाकको जोहो कसरी गर्ने, परिवार केगरी पाल्ने होला, आज ग्राहक आउलान् कि नआउलान् भन्ने चिन्ता हुन्छ । अरू केही मतलब छैन ।’ उनी बानेश्वरमा आफूजस्तै काम गरिखाने ५/६ जना साथीसँग मिलेर बसेका छन् । उनीहरूको कोठामा टेलिभिजन पनि छैन, न त घरमै । अहिलेसम्म अरूको घरमा झल्याकझुलुक हेरेबाहेक टेलिभिजन पनि खासै हेरेका छैनन् । वर्षायाममा पानी परेर एकाधपल्ट हलमा फिल्म हेरेबाहेक उनको जीवनमा मनोरञ्जन भन्ने कुनै कुरा छैन । उनलाई देख्दा लाग्छ, जिन्दगी श्यामश्वेत मात्र छ ।

दिनभर बाटोमा सुकिला र आकर्षक पहिरनमा हजारौं मानिस ओहोरदोहोर गरिरहन्छन् । तिनमा उनको आँखा त पर्छ तर मन अडिँदैन । आफू पनि त्यस्तै हुन पाए भन्ने चासोसम्म पलाउँदैन । उनी भन्छन्, ‘उमेरमा शुरु–शुरुमा चिटिक्क पर्ने रहर नजागेको होइन ।’ तर, आफ्नो धरातल सम्झेपछि उनको मनबाट त्यस्ता रहर आफैं टाढा भाग्थे । उनी लगाएको लुगा फाटेपछि मात्र नयाँ किन्छन् । सधैं देखिरहेको मानिसहरू दिनदिनै नयाँ–नयाँ लुगा फेरेर हिँडेको देख्दा उनलाई अचम्म लाग्छ । कति धेरै पैसा कमाउँदा हुन् शहरका यी मानिसले भन्ने लाग्छ उनलाई ।

तर, अचेल छोराछोरीलाई पनि राम्रा लुगा लगाउने रहर छ । उनीहरूको सबै रहर पूरा गरिदिने कमाइ त उनीसँग छैन । तर, गच्छेअनुसार राम्रै लुगा लगाएर हिँड्दा उनलाई खुशी लाग्छ । उनकी पत्नी कहिलेकाँही केही दिनलाई काठमाडौं आउँछिन् । तर, उनले आफूसँग कहिल्यै कुनै गुनासो गरेको उनलाई सम्झना छैन । ‘जे छ, जीवनमा खुशी नै छु । दिनभर हात खियाएर कमाउने ठाउँ छ,’ उनी भन्छन् । गाउँका कति युवा अरबका मरुभूमिमा पुगेर पनि आफूले जति पनि पैसा घर पठाउन नसकेको उनले देखेका छन् ।

गरिबी र अशिक्षाकै कारण दामले भएर पनि महाजनका छोराहरु कहिल्यै साथी नबनेको सोनेलालको अनुभव छ । तर, उनले अरुको जुत्ता मर्मत गरेरै पनि थोरैतिनो कमाउँंछन् ।

कतिपय युवा उतै हराएको, कति विभिन्न कारणले जेल परेको, कति मरेर कफिनमा बन्द भएर फर्केको देखेका छन् । तिनको परिवारको थप विपत्ति उनले देखेका छन् । त्यो दुःखभन्दा त फुटपाथमै सही, आफ्नै देशमा थोरै कमाइ गरेर परिवार पाल्नु सुख लाग्छ, उनलाई । कम्तीमा बेला–बेलामा आफ्नो घर जान सक्छन् । उनी दशैं, तिहार, छठ मिलेसम्म परिवारसँगै मनाउँछन् ।

८-१० वर्षको हुँदा उनले हात्तीछाप चप्पल लगाएका थिए । त्यसपछि उनले सामान्य जुत्ता लगाउन पाए । तर, आजसम्म पनि छालाका राम्रा जुत्ता उनका खुट्टामा परेका छैनन् । तर, यसमा उनलाई कुनै अफसोच छैन । उनीकहाँ ल्याङफ्याङ भइसकेको थोत्रो जुत्ता मर्मत गरिमाग्नेदेखि ब्रान्डेड जुत्ता पालिस गर्नेसम्म आउँछन् । सिलाउनै नमिल्ने गरी फाटेको जुत्ता लिएर आउने ग्राहक देख्दा उनलाई कहिलेकाहीँ गरिबीको काँडाले च्वास्स घोच्छ पनि । तर, ब्रान्डेड होस् वा फाटेको, आखिर जुत्ता त खुट्टामै लगाउने हो । चर्चित कवि धूमिलको कविता ‘मोचिराम’मा उल्लेख भएझैं महँगा जुत्ता लिएर आउने ग्राहक पनि उनका लागि जुत्ता समान हुन् ।

ग्राहकको जुत्ता मर्मत गरिदिएवापत पाइने पैसासँग मात्र उनको मतलब छ । उनी जुत्ता मर्मत गरेवापत १० देखि दुई सय रुपैयाँसम्म लिन्छन् । मुलुकको संविधान बनाउने ठूलो सेतो भवनको आडैमा बसेर जीवन निर्वाहको सेतो, कालो धागो उनिरहन्छन्, राम । तर, संविधान बनेपछि के–के हुन्छ, उनलाई थाहा छैन । उनीजस्ता गरिब र पिछडिएको वर्गका नाममा धेरै आन्दोलन भएका छन् । अहिले राज्य व्यवस्था नै परिवर्तन भइसकेको छ । मुलुक संघीयतामा प्रवेश गरेको छ । मधेशका बासिन्दाको हक, अधिकारका नाममा पनि आन्दोलन भइरहेका छन् ।

उनीजस्ता सीमान्त वर्गको पक्षमा काम गर्न धेरै गैरसरकारी संस्था पनि देहातमा सक्रिय छन् । सरकारले पनि विभिन्न विकासे कार्यक्रम लगेको छ । तर, उनलाई यी सबैसँग कुनै मतलब छैन । बानेश्वरको यही सडकमा बस्दाबस्दै उनले यहाँ भएका परिवर्तनकारी धेरै आन्दोलन देखेका छन् । गोला, बारुद, अश्रुग्यास, ढुंगामुढा, भागदौड देखेका छन् ।

तर, आफ्ना लागि आफैं पसिना बगाउन सिकेका उनी यस्ता कुनै आन्दोलनमा सहभागी भएनन् । धेरै पहिले कुनै चुनावमा एक भोट हालेका थिए । तर, उनले अहिलेसम्म कसैबाट केही सुविधा लिएका छैनन् । त्यस्तो कहीँबाट केही पाइएला भन्ने थाहा पनि छैन, आस पनि गर्दैनन् । उनलाई आफ्नो पसिना र परिश्रममा मात्र विश्वास छ । ‘अरूले देलान् भन्ने के आस गर्नु ? आफ्नो हात चलुञ्जेल आफैं कमाउँदा आनन्द आउँछ,’ उनले सन्तुष्टि व्यक्त गरे ।

साभार : अन्नपूर्ण टुडे/तस्बिर : सुनिता डंगोल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE