शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

मकै सुन्दरीको संघर्ष-कथा

शकुन्तला जोशी काठमाडौं २९ साउन । सीता वाइवा (४०) को सपना नर्स बन्ने थियो । सेतो लुगा लगाएर सेतै फूलले कपाल सजाएर बिरामीको सेवामा जुट्ने नर्स देख्दा उनमा पनि त्यस्तै सपना आएको थियो । तर, अहिले थापाथली चोकमा दिनभरि तगारीमा मकै पोल्छिन् । प्रसूति गृहका नर्स उनका ग्राहक हुन् । भन्छिन्, ‘सपनै त देखेको हो ।

स्कुलको मुखै नदेखेकी गरिब टुहुरीको सपना कहाँ पूरा हुनु ।’ उनी दैनिक सयदेखि डेढसय घोगा मकै बेच्छिन् । त्यसबाट एक हजारदेखि १२ सय रूपैयाँसम्म कमाउँछिन् । मकै पोलेरै उनले चार जनाको परिवार पालेकी छन् । नुवाकोटमा जन्मेकी उनी र उनको परिवार वागमती पुलमुनि सुकुम्वासी बस्तीमा बस्छन् । बस्ती नब्युँझँदै उनको दिनचर्या चार बजेदेखि शुरु हुन्छ । झिसमिसेमै नाम्लो र बोरा बोकेर मकै लिन कालिमाटी पुग्छिन् । मधेशबाट एक ट्रिप मात्र आउने हुँदा मकै किन्न मारामार हुने उनी बताउँछिन् ।

भीडमा सक्नेले राम्रो मकै उठाइहाल्छन् । उनी पनि भीडमा लडाइँ गरेर रामै्र घोगा छान्छिन् । मध्याह्नदेखि मकै पोल्न थाल्छिन् । भन्छिन्, ‘खै १ मकै पोल्दा–पोल्दा यो आगोले मेरो शरीरको रगत पनि सुकायो कि कसो ?’

संघर्षका ती दिन
उनको बाल्यकाल पनि सुखद रहेन । सात वर्षकी छदा आमा बितिन् । अरूले भनेको सुनिन्, आमालाई बोक्सीले खायो । बोक्सीले खानु वा मर्नुको अर्थ थाहा नपाउने त्यो उमेरमा आमा फेरि कहिल्यै नफर्किने कुरा उनले बुझिनन् । कसैले भन्थे आमा तारा टिप्न गएकी छन् डाँडापारि । बर्कोभरी तारा टिपेर आउँछिन् । हातभरि तारा खेलाउने रहर बोकेर सानी बहिनी फकाउँदै आमा आउने बाटो हेरेर बस्थिन् । तर, आमा फर्किनन् ।

पत्नी वियोगले सीताका बाबु भौंतारिन थाले । त्यसपछि बाबु र बहिनीलाई खाना पकाएर खुवाउने, गाईभैंसीलाई घाँस काटेर हाल्ने जिम्मा आइलाग्यो । आमाले धानेको घरव्यवहारको भारीले स्कुल पनि छुटायो । त्यसैबीच, कान्छा दाजुको विवाह भयो । सोचिन्, भाउजू आएपछि सुख पाइएला । तर, भाउजू आउनुको खुशीले उनलाई धेरै दिन साथ दिएन ।

दाजुभाउजूसँग मन नमिलेपछि विरक्तिएकी उनी १२ वर्षको उमेरमा घर छाडेर हिंडीन् । घर छाड्दा उनको साथमा ४५ रुपैयाँ थियो । २८ वर्षअघि गाउँकै एक अग्रजको पछि लागेर काठमाडौं पसिन् । काठमाडौंमा उनको काकाको छोरा दाजुभाउजू बस्थे । उनी तिनैको शरणमा गइन् । भाउजू गलैंचाको धागो बाट्थिन्, भोलिपल्टदेखि उनी पनि त्यही काममा लागिन् । करिब चार वर्ष त्यसैबाट गुजारा चल्यो ।

मकै पोल्न तगारीमा सल्किँदै गरेको अगुल्टोको आगो ठोस्दै उनी भन्छिन्, ‘काली भए नि बैंसले यही आगोजस्तो राता थिए गाला । मन पराउने र जिस्क्याउने थुप्रै थिए । एकदिन साथीको लहलहैमा मकवानपुर पालुङको ट्रक ड्राइभरसँग भागेँ । जीवनको अर्को दुर्भाग्य त्यही दिनदेखि शुरु भयो ।’ लोग्नेको घरमा १५ सदस्य थिए । पाथीले चामल भरेर खाना पकाए पनि खानेबेलामा पिँधको रहलपहल मात्र भेटाउने । सासू र नन्दहरू निकै कडा स्वभावका थिए ।

पति आक्कलझुक्कल मात्र घर आउने, आए पनि खासै कुरा नगर्ने । उनको दुःख बिसाउने कोही हुँदैनथ्यो । बस्दै जाँदा छोरी जन्मिइन् । खासै जग्गा जमिन थिएन । परिवारले रक्सी बनाउने रहेछ । २र४ पैसा हात परे छोरीलाई न्यानो लुगा लगाइदिन हुन्थ्यो भन्ने सोचेर उनी पनि त्यही गर्न थालिन् । तर, उनले पैसा कमाएको सासूलाई मन परेन । झगडा पर्न थालेपछि उनी फेरि पति खोज्दै काठमाडौं आइन् । तर, विश्वासले गाँसेको सम्बन्धले उनलाई खासै न्यानो दिएन ।

उनी दोस्रो बच्चा पाउने व्यथाले च्यापेर प्रसूति गृह थापाथलीमा छटपटाउँदै गर्दा पनि पति आएनन् । भन्छिन्, ‘बिहान नौ बजे छोरा जन्मियो, खुशी हुँदै शिरमा हात राख्न लोग्ने आउला भनेर पर्खिएँ, बेलुकीसम्म पनि आएन । सुत्केरी मान्छे, दिनभर तातोपानीसम्म दिने कोही भएन । पाँच बजेतिर अस्पतालले भात दियो र खाएँ । साँझमा ट्रकको खलासीलाई लिन पठाएको थियो ।’

काली भए नि बैंसले यही आगोजस्तो राता थिए गाला। मन पराउने र जिस्क्याउने थुप्रै थिए। एकदिन लहलहैमा मकवानपुर पालुङको ट्रक ड्राइभरसँग भागेँ। जीवनको अर्को दुर्भाग्य त्यही दिनदेखि शुरु भयो।

ती दिन सम्झ“दा आज पनि उनको मन अमिलो हुन्छ । त्यसपछि पनि पतिले कोठा भाडा नतिर्ने, रासन पनि नल्याइदिने गर्न थालेपछि उनी फेरि गाउँ फर्किन् । गाउँमा जति गरे पनि टिक्नै सकिनन् । कलिला लालाबाला टिपेर फेरि काठमाडौं आइन् र साबुन कारखानामा काम गर्न थालिन् । तीन हजार रूपैयाँले महिना चलाउन मुस्किल पथ्र्यो । उनी छोरा सुताएर आधारातसम्म गलैँचाको ऊन बाट्थिन् । त्यसबीच उनको जीवनले अर्को मोड लियो । गलैँचा उद्योगको ठेकेदार तेजबहादुर गोलेसँग उनको चिनजान भयो ।

बारा निजगढ घर भएका गोले उनीभन्दा अनाथ थिए । पत्नीले छाडेर एक्लिएका गोलेले उनलाई छोराछोरीसहितको साथ मागे । त्यस समयमा एक्ली त्यही पनि गरिब महिलालाई समाजमा टिक्न निकै गाह्रो थियो । एउटा अनाथको माया लागेपछि उनले गोलेसँग बिहे गरिन् । सोझो र कम बोल्ने स्वभावका गोलेले उनी र उनका दुई छोराछोरीलाई अभिभावकत्व दिँदै आएका छन् ।

छोराछोरीको पेट बढ्दै गयो । दुवै जनाको कमाइले पनि परिवार पाल्न मुस्किल पर्न थालेपछि उनीहरू साथीको सल्लाहमा दशकअघि हालको थातथलोमा बास बस्न आइपुगे । जिन्दगी कहिले पो सजिलो थियो र, यहाँ आएपछि उनले पसिना वागमतीको बालुवामा मिसाउन थालिन् । पतिसँग मिलेर उनी दिनभरिमा ५०र५५ डोको बालुवा निकालेर बेच्थिन् । त्यति गर्दा उनको परिवारको गुजारा मुस्किलले चलेको थियो । त्यहाँ मालिकको खप्की खानु पर्दैनथ्यो, पारिश्रमिकको चिन्ता पनि नहुने । जति हुन्थ्यो आफ्नै कमाइ ।

चुहिने छानोमुनि ढिँडोरोटो चलेकामा उनीहरू खुशी नै थिए । छोराछोरीलाई स्कुल हाल्नु पर्‍यो । त्यो पैसाले पुग्न छाड्यो । अनि, पानीमा चोपलिँदै गरेको ज्यान आगोको नजिक पुग्यो, उनी मकै पोल्न थालिन् । पतिसँग आलोपालो गर्दै बिहानभर बालुवा झिक्ने र दिउँसो मकै पोल्ने । सुकिलो लुगा लाएर अस्पताल हिँडेका नर्स हेर्दै मकै बेच्दा पुरानो सपना ब्युँझिन्थ्यो आँखामा ।

त्यसैले आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाउने उनले अठोट गरिन् । थोरै भए पनि अंग्रेजी जानुन् भनेर उनले नानीहरूलाई दुई कक्षासम्म बोर्डिङ स्कुल पढाइन् । मनले मात्र चाहेर नहुने रहेछ । पैसाले नपुगेपछि उनका छोराछोरी त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्चमावि धाउन थाले । छोरीले एसएलसी पास गरेका दिन उनी जीवनमै सबैभन्दा खुशी भइन् ।

उनलाई नर्स पढाउने चाहना थियो । तर, आम्दानीले भ्याउ“दैनथ्यो । छोरी अहिले स्नातक प्रथम वर्ष अध्ययरत छिन् । छोराले उनको सपनालाई खुट्टा टेकाउन सकेनन् । बीचमै पढाइ छाडेका उनको भविष्यको चिन्ताले अहिले निद्रा बिथोलेको छ ।

ओइलिए रहर
कुनै समय थियो, दाजुभाउजूसँग उनी राजधानीका सिनेमा हलमा पुग्थिन् । पाँच रूपैयाँ तिरे बाल्कोनीमै बसेर सिनेमाको मजा लिन सकिन्थ्यो । ‘त्यसबेला म जानीनजानी फिलिमको गीत गुन्गुनाउँदै धागो बाट्थेँ । भाउजूहरू जिस्क्याउँथे लौ १ हिरोनी हुने भइन् हाम्री सीता,’ थोते गिजा देखाउँदै मुस्कुराइन् उनी, ‘तर, व्यवहार र दुःखले किच्दै लगेपछि रमाइलो भन्ने कता भाग्यो खै १’

विवाहपछि पहिलो पतिले उनलाई सिनेमा हल त के एक दिन हाटबजार पनि सँगै लगेनन् । अहिलेसम्म मोबाइल बोक्न सकेकी छैनन् । एउटा तुना खुलेको चोलो, गुन्यु र पटुका, पछिल्ला कैयौँ वर्षदेखि उनको पहिचान यति लुगाले दिएका छन् । मकै पोलेको कमाइले उनले एकजोर सुनको मुन्द्राचाहिँ कानमा झुण्ड्याएकी छन् । यसबीच वागमतीमा पानीभन्दा धेरै ढल बगिरह्यो । उनको शरीरबाट पनि वागमतीजस्तै धमिलो पसिना कति बगे नदीको बगरमा, हिसाब छैन । भदौरे घाममा मकै पोल्दा कति निलिन् अमिलो पसिना न त्यसको लेखाजोखा छ उनीसँग ।

बाँदरले दुःख दिन आइरहन्छ । दाउरा उज्याएर धपाउँछिन्, झुक्याएर मकैको घोगा टिपिहाल्छ । बाँदरसँग उस्तो रिस उठ्दैन उनलाई । हाँस्दै भन्छिन्, ‘सुट लाएर आएका मान्छे त एक घोगा मकैको पाँच रूपैयाँमा किचकिच गर्छन् । लैजाओस् मोराले त्यसको भाग । यसको पनि मेरो जस्तै न जाने ठाउँ, न खाने ठाउँ छ ।’उनलाई गुनासो त ठूला मान्छेहरू मिलेर बनेको सरकारसँग छ ।

यसबीचमा सरकारले सुकुम्वासी बस्ती हटायो । त्यो विचल्लीमा परेर उनी जहान टिपेर कलंकी भाडाको कोठामा बस्न पुगिन् । तर, केही समयपछि नै कतै घर नभएकाहरू फेरि फर्केर त्यही बस्न पुगेपछि उनको परिवार पनि पुरानै थलो फर्कियो । वर्षा लागेपछि वागमतीले बगाउने डर, अरू बेला सरकारले डोजर लगाउने पीर । चुनाव र जुलुस गर्नुपर्ने बेला विभिन्न पार्टीका मान्छे आफूलाई सघाउन भन्दै आउँछन् । स्थायी बसोबासको टुंगो गरिदिने आश्वासन दिन्छन् । त्यस्तो आश्वासन भने अहिलेसम्म पूरा नभएकामा उनलाई गुनासो लाग्न छाडिसकेको छ ।

साभार : अन्नपूर्ण टुडे/तस्बिर : सुनिता डंगोल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE