सोमवार, अशोज १२, २०७७
Monday, September 28, 2020

हामी सूचना प्रविधिको गफ चुट्छौ, गाउँमा अझै कट्वाल प्रथा

हामी स्कीनटच मोवाइल, ल्यापटप बोकेर सूचना प्रविधिको गफ चुट्छौ तर गाउँमा अझै कटवाल प्रथा छ भन्दा पत्याउनुहुन्छ ? नपत्याय यो रुकुमको समाचार पढौं । सूचना प्रबिधिको विकासले गर्दा बिश्व समुदाय साँघुरिदै छ भन्ने मान्छेहरु पनि पछिल्लो समय कम छैनन् । सञ्चार माध्यम, टेलिफोन, सगै पछिल्लो समय भित्रिएको सामाजिक सञ्जालहरुले त झन बिश्वलाई साच्चीकै साँघुरो बनाईरहेको नै छ ।

युरोप, अमेरिका, खाडीमुलुक होस मलेसिया या रोजगारीको सिलसिलामा भारत नै पुगेका किन नहोस यदि सञ्चारको पहुँचमा बिदेशीएका र घरमा रहेका आफन्तजनहरु छन भने हालखबर देखि खानपिनको बारेमा समेत सोध्ने गरिन्छ । तर रुकुमका अधिकांस गाविसहरुमा भने अझैपनि सूचना आदानप्रदानका लागि परम्पराकाल देखि प्रयोग हुँदै आएको कट्वाल प्रथा कायमै छ ।

लौ है सबैले सुन्नु होला, बुझ्न्नु होला हजुर भोली यस वडाको वडा भेला छ । घरको मुली विहान ८ वजे माथिल्लो गाउको विचमा रहेको पिपल चौतारामा भेला हुनुहोला कसैले, सुनेनौ बुझेनौ भन्न पाउनु हुने छैन । सवै गाउँलेहरु समयमा उपस्थिति हुन आउनु होला है हजुर …..। रुकुम पिपल ४ का ३५ बर्षीय पशुपति बिकले गाउँमा कुनै छलफल, सभा, समारोह र गोष्ठी लगाएतका कार्यक्रम गर्नु पर्दा यसरी नै गाउँको अग्लो डाँडामा गएर हाँको (चर्को स्बरमा कराउनु) हाल्छन् ।

उनलाई कहिलेकाहि हुने कार्यक्रमको सूचना गराउन गाउँलेहरुले कट्वाल राखेका छन् । गाउँमा हुने जुनसुकै घटनालाई सवै गाउँलेहरुलाई जानकारी दिनु र एक गाउँको सुचना सम्वन्धित अर्को गाउँमा पु¥याउनु उनको मुख्य काम हो । यो काम उनले गर्न थालेको पनि एक दशक भैसक्यो । ‘पहिले हाम्रा बाले यो काम गर्थे, उनको मृत्यु पछि मैले त्यहि काम गरिरहेको छु’ बिकले भने, ‘गाउँमा कुनैपनि कार्यक्रमहरु गर्दा मैले नै अग्लो डाडाबाट कराउने देखि घरघरमा गएर खबर गर्ने गरेको छु ।’ उनका अनुसार कुनै कार्यक्रमको जानकारी दिन कुनै मौखिक मात्र हुन्छ भने कुनै कार्यक्रमको लागि चिठी नै लिएर घरघर पुग्नुपर्दछ । एक ठाउँको खबर अर्को ठाउँमा पु¥याए बापत उनले गाउँलेबाट कुनै तलभ भत्ता पाउदैनन् । केवल गाउँलेहरुले उनलाई प्रतिघर बर्षेनी डेड पाथी अन्न दिएर कट्वाल राखेका हुन् ।

उनले यसैगरी गाउँभरीको एक÷एक पाथी अन्न संकलन गरेर जीवन निर्बाह गर्दै आएका छन् । तर कुनै संघसंस्थाको कार्यक्रम भएमा भने उनलाई कसैले जानकारी गराए बापत नगद रकम पनि दिने गरेका छन् । ‘कुनै सरकारी कार्यालय तथा संघसंस्थाको समुह बैठक, तालिम लगायतको घरघरमा गएर जानकारी गराए बापत दुईचार सय नगद रुपैयाँ पनि दिन्छन’ उनले भने, ‘नत्र भने त गाउँलेको तर्फबाट प्रतिघर गहुँको मौसममा ६ माना र मकैको मौसममा ६ माना अन्न नै दिन्छन ।’ उनका अनुसार शुरु देखि यहि काम गर्दै आएकोले छोड्न मन मादैन ।

‘मेरो काम मात्र होईन जीवन निर्बाह गर्ने पेशा पनि हो, मेरो जिम्दार नै यहि कट्वाले पेशा हो ।’ उनले भने । उनी मात्र होईन राङसी ५ का ५० वर्षीय तुले कामीले पनि गाउँमा कुनै कार्यक्रमहरु हुँदा अग्लो डाँडामा गएर दमाह बजाउछन । उनले दमाह कुनै बिहे वा अन्य मनोरञ्जनका लागि नभई गाउँहरुलाई कुनै कार्यक्रमबारे तत्काल खबर दिनकै लागि हो । शुरुमा लेकमा गएर दमाह बजाएर सबै गाउँलेको ध्यान आर्कषण गर्नु र त्यसपश्चात हुन लागेको कार्यक्रमबारे जानकारी गराउनु उनको पनि दैनिकी नै हो । उनले पनि बिकको जस्तै कटुवाल बनेर गाउँमा हुने कार्यक्रमबारे जानकारी गराए बापत प्रत्येक घरबाट बर्षको एक-एक पाथी अन्न पाउने गर्छन ।

गाउँमा भरपर्दो संचारसेवा नहँदा उनीहरु जस्तै गाउँका धेरै कट्वाल काम गर्नेहरुलाई सहयोग मिलेको छ । गाउँमा भरपर्दो कुनै संञ्चार प्रविधि नभएकोले पहिले देखिनै कट्वाल मार्फत जानकारी हुदै आएको छ । फोनको विकास भएपश्चात केहि ठाउँहरुमा कट्वाल प्रथा ओझेलमा परेको बताउदै उनले गाउँगाउँमा फोनको बिकास भएपनि गुणस्तरीय नहुँदा र फोन बेलाबेला जानेआउने गरिरहने गरेका कारण खबर गर्नका लागि कटुवाल नै बिश्वासीलो साथी बनेको हो ।

पीपल सगै जिल्लाका राङसी, काक्री, रन्मामैकोट, तकसेरा, कोल, सिस्ने, हुकाम र जाङ लगाएतका दर्जनबढी गाउँहरुमा सुचनाको लागी कट्वाल नै राख्ने गरिएको छ । रुकुम राङसीका स्थानीय नामेन्द्र सुनुवार राङसी गाविसका ९ वटा वडामा कामी सगै अन्य २ वटा कट्वालहरु पनि रहेको बताउछन । अनुसार गाउँमा कुनै संघ संस्थाका कार्यक्रम देखि लिएर गाउँमा हुने विवाह र मृत्यु लगाएतका घटनाको सुचना एक ठाउँबाट अर्को ठाउँमा जानकारी दिन अझै कट्वालमा नै निर्भर हुनु पर्ने बाध्यता रहेको छ । ‘यहाँ राङसी, हुकाम, मैकोट तकसेरा लगायतका ठाउँमाहरुमा न गतिलोगरी रेडियोहरु सुनिन्छन, त न पत्रपत्रिका नै आउछन, सुनुवारले भने, ‘फोनका कतैकतै टावर त छन तर फोनले काम नै गर्दैन ।’ उनका अनुसार कट्वाल काम गर्नेहरु प्राय दलित समुदायकै हुने गरेका छन ।

जिल्लाको ग्रामीण स्तर सम्म टेलिफोन सेवा भरपर्दो र गुणस्तरीय सेवाको रुपमा विकास हुन नसक्दा अझै पनि परम्प्ररागत रुपमा हुँदै आएको कट्वाल प्रथामै स्थानीयहरु निर्भर हुने गरेका हुन । प्रायजसो गाउँमा फोनको नेटवर्क नहुँदा विदेशमा रहेका आफ्ना आफन्तलाई फोन गर्न समेत ३ दिनको पैदल हिडेर सदरमुकाम आउनुपर्ने वाध्यता रहेको रन्मामैकाटी स्थानीय महिला मनकुमारी बुढाले जानकारी दिईन । नेपाल टेलिकमले जिल्लामा ग्राहक विस्तार गरेपनि त्यसको क्षमता अनुसारका टावर विस्तार गर्न नसक्दा ग्रामीण स्तरमा यस्तो समस्या वेहोर्नु परेको हो ।

जिल्लाका पूर्वी गाबिसको संचार सेवा गुणस्तर बनाउन नेपाल टेलिकमले काँडा र राङसीको सेपे लेखमा टावर निर्माण गरेपनि समय समयमा हुने खराबीले सेवाग्राही मर्कामा परेका छन् । रुकुमका जिल्लाका अधिकांस टेलिफोन टावरस्थलहरुमा बिजुली नपुगेकाले सोलार मार्फत जडान गरिएका छन । जसका कारण मौसममा गडबढी लगायतका अन्य समस्याले टावरमा खराबी आउने गरेको छ । पटकपटक अबरुद्ध हुने बिद्युत र फोनसेवाले रुकुमेली सेवाग्राहीहरु हैरान नै भएका छन् । रुकुम जिल्ला सदरमुकाम मुसिकोट खलंगामै समय समयमा स्काई र नमस्ते फोन सेवा अबरुद्ध भैरहने गरेका छ ।

विद्युत सेवा सुचारु भएलगत्तै फोन सेवा सुचारु हुने भएपनि बिद्युत सगै फोन पनि अबरुद्ध हुने गरेको छ । जिल्लामा लामो समयदेखि विद्युत अनियमित बनिरहेकोले झन समस्या भएको छ । रुकुमको बाँफीकोट भाग्ले स्थित विद्युत गृहमा रहेको विद्युत उत्पादन गर्ने एउटा मेसिन पटकपटक बिग्रिने गरेको छ । नेपाल टेलिकम रकुमका अनुसार ग्रामीण स्तरमा सुचनाको विकासको लागी टावर विस्तार गर्ने प्रक्रियामा रहेको र विद्युत समस्याका कारण सदरमुकाम क्षेत्रकै टेलिफोन प्रभावकारी नहुँदा ग्रामीण स्तरको अवस्था झनै बेहाल बनेको हो । हातहातमा मोवाईल घरघरमा ईन्टरनेट भन्ने सरकारको नीति भएपनि सुचना प्रविधिहरु रुकुमका ग्रामीण स्तरमा विकास हुन नसक्दा अझैपनि कट्वालकै भर पर्नुपर्ने अवस्था छ ।

मेघराज खड्का रुकुमबाट

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE