शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

निर्मला पन्त हत्या प्रकरणबारे सांसदको प्रश्न– न्याय माग्दा गोली खानुपर्ने ?

संसदीय समिति गठन गर्न माग

काठमाडौं ७ भदौ । कञ्चनपुरकी बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि गरिएको हत्याको विषयमा सांसदहरुले आवाज उठाएका छन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले दोषी किन पत्ता लागेन भन्दै सरकारको जवाफ माग गरे।

पन्तको विषयमा प्रहरीले सधैं अनुसन्धान मात्र गर्ने तर अभियुक्त पक्राउ नगरेकोमा उनीहरुले आपत्ति जनाए।

कांग्रेस सांसद मीन विश्वकर्माले घटनापछि न्याय माग्दै आन्दोलनमा उत्रिएका पीडित पक्षहरुलाई दबाउने र अभियुक्तलाई बचाउनेतर्फ सरकार लागेको आरोप लगाए। प्रहरीले अनुसन्धान गर्नुपर्नेमा सुस्त मनस्थितिका व्यक्तिलाई पक्राउ गरेर ढाँटिरहेको भन्दै सरकारको जवाफ माग गरे।

सांसद नेकपाकी सांसद मीना पाण्डेले निर्मलाको बलत्कारपछि हत्यामा अभियुक्तलाई लुकाउने प्रयास भइरहेको र घटना राजनीतिकरण हुँदै गएको भएको बताइन्।

अर्की सांसदले मैनाकुमारी भण्डारीले बलात्कारका घटना देशभर भइरहेको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिन्। बालिका र वृद्धाहरु पनि सिकार भएको भन्दै उनले त्यसका कडा हुन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद रंगमती शाहीले बलात्कारीलाई कारबाही माग गर्दा सरकारले गोली चलाएको भन्दै उनले त्यसको बारेमा संसदमा जानकारी माग गरिन्।

‘निर्मला पन्तका दोषीलाई कारबाही हुनुपर्छ भन्दा किन गोली चलाएको होरु सत्य तथ्य छानबिन होस्,’ उनले भनिन्, ‘न्याय माग्दा अब गोली हान्नुपर्ने हो।’

सांसद राधा ज्ञवालीले अब संविधान संशोधन गर्दै बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने कानुन बनाउन माग गरिन्। ‘कलिला नानीहरुमाथि दैनिक रुपमा बलात्कार बढिरहेको छ,’ उनले भनिन्, ‘सबै दल गम्भीर भएर संविधान संशोधन गरौं। बलात्कारीलाई मृत्युदण्डको सजाय हुने कानुन बनाऔं।’

सांसद रामबहादुर विष्टले कञ्चनपुरकी बालिकाको छानबिन मात्र गर्ने कि अपराधी पनि पक्राउ गर्ने भन्दै प्रश्न गरे। बलत्कारीलाई पक्राउ गर्न सरकार असफल भएको उनल आरोप लगाए।

संसदीय समिति गठन हुनुपर्ने माग
संसदको विशेष समयमा बोल्दै सांसद दीपक भट्टले निर्मला पन्तको हत्या प्रकरणको छानबिनका लागि संसदिय समिति गठन गर्न माग गरेका छन्।

गृहमन्त्रीले अनुसन्धान भइरहेको बारे जानकारी यसअघि सदनमा गराए पनि अहिलेको अवस्थाबारे जानकारी गराउन उनले माग गरे।

‘यही घटनामा गोली चलेको छ, सबैतिर आन्दोलन छ। सडकबाट जनताले प्रश्न उठाएका छन्,’ उनले भने, ‘सडकबाटै फलानो बलात्कारी हो भनी जो सुकैलाई दोषी करार दिने कार्य भइरहेको छ। त्यसअघि संसदीय समिति गठन हुनुपर्छ।’

गत साउन १० गते बालिका पन्तको बलात्कारपछि हत्या भएको थियो। नेपाललाइभबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE