शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

आँखाको ज्योति गुमाएकी रुपा राई शिक्षाको ज्योति प्रदान गर्दै

धनगढी २४ भदौ । करिब तीन दशकअघि सुदूरपूर्वबाट सुदूरपश्चिम आएकी रूपा त्यसपछि एक पटक पनि थातथलो फर्किनन्। नितान्त फरक भूगोल, त्यसैमा पनि आफ्नो समुदायका व्यक्तिहरू पाउनै मुस्किल। नयाँ ठाउँ, नयाँ परिवेशबीच पनि रूपालाई सुदूरको भूमि नै प्यारो लाग्यो।

प्रदेश ७ को अस्थायी राजधानी धनगढीभित्रै रहेको पञ्चोदय माध्यमिक विद्यालयमा उनी कक्षा तीनदेखि पाँचसम्मका बालबालिकालाई पढाउँछिन्। हामी विद्यालय पुग्दा उनी बालबालिकासँग अंग्रेजीमा प्रश्न उत्तर गर्दै थिइन्। रूपा दृष्टीविहीन हुन्। सानै उमेरमा उनले दुवै आँखाका ज्योति गुमाइन्। आफूले ज्योति गुमाए पनि अरूलाई यस्तो नहोस् भन्दै बालबालिकालाई बेलाबेलामा आफ्नो कथा सुनाइरहन्छिन् उनी।

धामीले ज्योति लग्यो 

२०२४ जेठ ५ गते मलेसियाको पेनाङमा जन्मिएकी रूपालाई अभिभावकले छ वर्षको उमेरमा भोजपुरको ठूलोदंगा- १ च्याप्लेमा ल्याए। बुबा वृटिस आर्मी थिए। घरमा कमै समय बिताउँथे। आमा थिइन् घरमा।  रूपा आठ वर्ष पुग्दा उनका दुवै आँखामा केही पसेको जस्तो भयो। घर वरपर अस्पताल थिएन, भए पनि कमै जान्थे अस्पताल। गाउँमा नामी धामी थिए। सबै उनैलाई मान्थे, उनैकहाँ जान्थे। रूपाकी आमाले पनि तिनै धामीलाई देखाइन्। महिना दिनदेखि झारफुक भयो तर उनको आँखामा केही परिवर्तन भएन।  त्यो पल सम्झँदै रूपाले भनिन्, ‘कहिले कुखुरा माग्यो, कहिले कालो बोका माग्यो, सबै पुर्‍याइन् मेरी आमाले तर पनि मेरो आखाँको ज्योति कहिल्यै आएन।’ सात वर्षको उमेरदेखि उनको आँखामा समस्या देखियो। १० वर्षको उमेर पुग्दा उनी पूर्ण रूपमा देख्न नसक्ने भइन्।

आफूले ज्योति गुमाए पनि अरूलाई शिक्षाको ज्योति छर्न थालिन्

दुवै आँखाको ज्योति गुमाएपछि रूपालाई संसार गुमाएजस्तो लाग्यो। उनले भावुक हुँदै भनिन्, ‘मलाई नर्स बन्न मन थियो, दु:खी पीडितको सेवा गर्न मन थियो, आँखा गुमाएँ तर सपना गुमाएजस्तो लाग्यो।’  आँखाको ज्योति गुमाएपछि उनमा नयाँ सोच पलायो। उनले भनिन्, ‘मोडमोडमा जिन्दगीले आफैँ निर्णय गर्दाेरहेछ। मलाई विस्तारै शिक्षण पेसा प्यारो लाग्न थाल्यो।’ दार्जिलिङमा रहेको सवभेसन आर्मीबाट उनले माध्यमिक तहको अध्ययन पूरा गरिन्। महेन्द्र बहुमुखी क्याम्पस धरानमा आइए पढिरहँदा उनले पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा अध्यापन गर्न थालिन्। चक्षु भन्नाले आँखा भन्ने बुझिन्छ।

उनले त्यो विद्यालयमा दृष्टिविहीन बालबालिकालाई पढाइन्। उनको मनमा भने दृष्टिविहीन बालबालिकालाई मात्रै बढाउने रहर थिएन।  २०४० सालमा कैलालीको पञ्चोदय माध्यमिक विद्यालयमा पनि दृष्टिविहीन बालबालिकालाई पढाइन्छ भन्ने सुनिन् उनले। एक जना नजिकका व्यक्तिको माध्यमबाट उनी कैलाली आइन्। २०४२ बैशाख १७ गते तीन महिनाका लागि काजमा आएकी रूपा तत्कालीन विद्यायलका प्रधानाध्यापक शिवहरि उपध्याय समक्ष बिदा माग्न गइन्। शिवहरिले रवाना दिन आनाकानी गरे। ‘मैले दोस्रो पटक फेरि रवाना मागे, सर बोल्नुभएन। केही बेरपछि सधैँका लागि नियुक्ति दिन्छु, बस्नुहुन्छ? भन्नुभयो।

मैले केही सोचिनँ, सोधिनँ र हुन्छ भनेँ’, रूपाले भनिन्, ‘मलाई पनि यो ठाउँ छाडेर जान मन थिएन।’ त्यसपछि रूपाले कक्षा तीनदेखि पाँचसम्मका आँखा देख्ने बालबालिकालाई अंग्रेजी पढाउन थालिन्। आफूले ज्योति गुमाएपछि ज्योति भएकाहरूलाई शिक्षाको ज्योति छर्न थालिन् रूपाले।

विद्यार्थीकी प्यारी राई मेडम

सानासाना बालबालिकाहरूले उनलाई राई मेडम भन्छन्। राई मेडम भनेपछि विद्यार्थीहरू हुरुक्कै हुन्छन्। रूपा पनि विद्यायमा पुगेपछि अधिकांश समय बालबालिकासँगै खेलेर बसेकी हुन्छिन्। सरकारी विद्यालयमा अंग्रेजीमा विद्यार्थी कमजोर हुन्छन् भन्ने भनाइलाई उनले गलत सावित गरिदिएकी छन्। उनी भन्छिन्, ‘मेरो कक्षामा अरू विषयमा भन्दा बढी अंग्रेजीमा रुचि राख्छन्।’ आफ्ना विद्यार्थीले अंग्रेजीमा कस्तो लेखे भन्नेबारे आफैँले हेर्न नपाउँदा उनलाई साह्रै दु:ख लाग्छ। उनी बेलाबेलामा विद्यार्थीलाई चित्र कोर्न लगाउँछिन्। प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई आफ्नै पैसाबाट कहिले सिसाकलम कहिले चकलेट किनिदिने गर्छिन्। रूपालाई चित्र साह्रै मनपर्छ तर विडम्बना, कसले कस्तो चित्र बनायो कहिल्यै हेर्न पाइनन्। ‘विद्यार्थीहरूले बनाएको चित्र लगेर साथीहरूलाई देखाउँछु, उनीहरूले वर्णन गर्छन्, म रमाउँछु’, उनले भनिन्।

दुई दशकअघि छोरालाई सकी नसकी निजी विद्यालय पढाउने र छोरीलाई सामुदायिक वा सरकारी विद्यालयमा भर्ना गर्ने परम्पराको रूपाले अन्त्य गरिन्। उनले दुई छोरालाई आफूले नै पठाउने पञ्चोदयमा भर्ना गराइन् र एउटी छोरीलाई एेश्वर्य विद्या निकेतनमा पढाउन थालिन्। त्यो बेला सबैले उनको कुरा काटे। उनले त्यो सम्झँदै भनिन्, ‘मलाई सबैले छोराको भविष्य बिगारी भन्न थाले, मलाई भने बोर्डिङमा हालेर छोरीको भविष्य बिगारेजस्तो लागिरहेको थियो।’

परोपकारी मन

रूपा राईको पारिश्रमिक मासिक ३० हजार रुपैयाँको हाराहारीमा आउँछ तर उनले अहिलेसम्म पूरै तलब घरमा ल्याएकी छैनन्। उनी आफू दृष्टीविहीन भएका कारण होला अपांगता भएका व्यक्तिहरूले पढ्न पाएनन् भन्ने थाहा पाएपछि उनीहरूलाई घरमै गएर सहयोग गर्ने गरेकी छन्।  ‘विद्यालय जानबाट वञ्चित दृष्टिविहीन बालबालिकाहरू ठूलो आशा बोकेर मसँग आउने गर्छन्। कहीँ कतै छात्रवृत्ति छ भने भनिदिन्छु, नभए आफ्नै रकमले पढाउँछु’, उनले भनिन्।

पञ्चोदयमा कक्षा पाँचसम्म पुगेपछि नरेन्द्र विष्टलाई उनका मामाले अब नपढाउने बताए। मामाका कारणले विष्टको अध्यनमा पूर्ण बिराम लाग्ने भयो। त्यो कुरा रूपाले थाहा पाइन् र विष्टलाई आफ्नै खर्चमा पढाउन थालिन्। अहिले विष्ट १२ कक्षा पढ्दै छन्। उनी पढाइमा तेज छन्। रूपालाई विष्टले आमाझैँ मान्छन्। कैलाली, कंचनपुरका धेरै विद्यालयमा उनले किताब, कापी र कलम किनिदिएकी छन्। रूपाले प्रत्येक महिनाको पारिश्रमिकबाट १० प्रतिशत विद्यार्थी बालबालिकाका लागि खर्च गर्ने गरेकी छन्। उनले विद्याnयमा गार्ड बसेर आजसम्म रकम लिएकी छैनन्। उनी भन्छिन्, ‘त्यो रकम पनि त विद्यार्थीमार्फत् आउँछ। विद्यायलमा नियमिति तलब खाइरहेकी छु। दोहोरो सुविधा किन लिनु?’ एक वर्षमा सबैले जोड गरेर उनले भत्तावापतको रकम लिइन् तर त्यो रकमबाट विद्यालय परिसरमा वृक्षरोपण गरेकी छन्।

बालबालिका पढाउन बेलायतको आइडी त्यागेँ

रूपाका बुबा वृटिस आर्मी हुन्। उनको दुई वर्षअघि निधन भयो। उनी सन् १९५३ मा वृटिस आर्मीमा भर्ती भएका थिए। रूपाकोे सपरिवर बेलायत छन्। केही भाइ, बहिनीहरू अमेरिकामा छन्। उनीसँग पनि बेलायतको कार्ड थियो तर सुदूरमा शिक्षाको ज्योति छरिरहँदा बेलायतको कार्डको अर्थ भएन भनेर उनले राखिनन्।  उनको जन्म मलेसियामा भएका कारण उनी त्यहाँ पनि बस्न सक्छिन्। परिवारका सबै सदस्य बेलायत छन्। उनलाई बोलाइरहन्छन् तर रूपालाई धनगढीभन्दा बेलायत कहिल्यै प्यारो लागेन। उनका दुई छोरा र एक छोरी छन्। जेठो छोरा सिंगापुरको फोर्समा छन्। एउटी छोरी दुवईमा नर्स छन्।

अर्का छोरा दुवईको पाँच तारे होटलमा कार्यरत छन्। छोराले पनि उनलाई सिंगापुर बोलाइरहेका छन् तर उनी भने अन्तिम समयसम्म पनि साना बालबालिकालाई अक्षर चिनाएरै बस्ने रहर भएको बताउँछिन्।

आधा दर्जन संघसंस्थामा नेतृत्व

सांग र अपांग दुवै खाले बालबालिकालाई उनले प्रेरणा दिन्छिन्। आँखाले दुनियाँ नदेखे पनि मनले संसार महसुस गर्न सकिन्छ भन्दै दृष्टिविहीन बालबालिकाहरूलाई ऊर्जा थप्छिन्।  राष्ट्रिय अपांग महासंघ प्रदेश ७ का उपाध्यक्ष हुन् रूपा। त्योसँगै नेपाल नेत्रहीन संघ प्रदेशको संयोजक, नेत्र प्रतिष्ठान प्रदेश ७ को संयोजक, सफल नेपाल कैलाली शाखा अध्यक्ष, अपांगता भएका बालबालिकाको शिक्षामा पहुँच कार्यक्रमकी संयोजक पनि हुन्। उनी शिक्षासँगै सामाजिक काममा पनि सक्रिय छन्। अपांगता भएका बालबालिकालाई परिचयपत्र वितरणदेखि उनीहरूको हक अधिकारका लागि वकालत पनि गर्छिन्।  कैलाली, कंचनपुरदेखि प्रदेश ७ का अन्य सात जिल्लामै पुरेर उनले अपांगता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरेकी छन्। उनी भन्छिन्, ‘थुप्रैलाई रातो परिचयपत्र दिलाएका छौँ।

उनीहरू मासिक दुई हजार पाउँछन्, त्यही रकमले पनि धेरैलाई आधार भएको छ।’ रूपासँग पनि हरियो रंगको परिचयपत्र छ, जसबाट ६०० रुपैयाँ भत्ता पाइन्छ तर उनले आजसम्म सामाजिक सुरक्षा भत्ता लिएकी छैनन्।  रूपा कोही पनि बालबालिका विद्यालयबाट वञ्चित भएको हेर्न नपरोस् भन्छिन्। पञ्चोदयमा पढाउन अझै नौ वर्ष बाँकी छ। त्यसपछि पनि विद्यार्थीहरूका लागि काम गर्ने रूपाको चाहना छ। शिक्षा नीतिले दृष्टिविहीन विद्यार्थीहरूलाई समेट्न नसकेको भन्दै रूपा भन्छिन्, ‘अवकाशपछि आवासगृह संचालन गरेर दृष्टिविहीन बालबालिकालाई पढाउने सपना छ।’

#रेडियो डेलीमेलवाट

 

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE