सोमवार, अशोज १२, २०७७
Monday, September 28, 2020

जिल्ला तहको एकीकरण छिट्टै हुन्छ : रावल

धनगढी, ९  असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश ७ इन्चार्ज भीम रावलले प्रदेशमा पार्टीको जिल्ला र स्थानीय कमिटीको एकीकरण प्रकृया तीव्र रुपमा अगाडि बढाइने बताएका छन् ।

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा इन्चार्ज रावलले प्रदेशमा पार्टीको तल्ला तहको एकीकरण छिट्टै टुंग्याइने बताए । जिल्ला एकीकरणको प्रतिवेदन यसअघि नैै केन्द्रमा बुझाइसकेकाले एकीकरणमा धेरै समय नलाग्ने उनको दावी छ ।

उनले भने, ‘तल्ला कमिटीहरुको एकीकरण छिट्टै हुन्छ । एकीकरण गर्न धेरै समय लाग्दैन ।’ एकीकरणका क्रममा पूर्वमाओवादी र पूर्वएमालेका नाममा कसैलाई काखापाखा नगरिने रावलले बताए । एकीकरणमा काखापाखा गरे पार्टी कमजोर बन्ने इन्चार्ज रावलको भनाइ थियो ।

एकीकरणपछि पार्टीका सबै पंक्ति परिचालन गरेर पार्टीलाई शसक्त बनाइने प्रदेश इन्चार्ज रावलले बताए । अर्को प्रसङ्गमा रावलले निर्वाचनका बेला गरिएका प्रतिवद्धताअनुरुप सरकार संचालनमा नेकपा प्रतिवद्ध रहेको बताए ।

संघीयता नयाँ अभ्यास भएकोले प्रारम्भीक चरणमा प्रदेश सरकारले जनचाहानाअनुसार काम गर्न नसकेको उल्लेख गर्दै उनले अब सरकारका कामको मूल्यांकन गरेर प्रभावकारी बनाइने बताए । सरकार र मन्त्रीका कामको मूल्यांकन गरेर कमजोरी देखिए सुधार गरेर लैजाने उनको भनाइ थियो ।

‘प्रदेश र केन्द्र सरकार जनअपेक्षाअनुसार संचालन हुनुपर्छ ।’ इन्चार्ज रावलले भने, ‘सरकारको र प्रदेश मन्त्रीको पनि मूल्यांकन गर्छौं ।’ यद्यपि सरकार गठन भएको छोटो समयममात्र भएकाले सरकारले केही पनि गर्न सकेन भन्ने निष्कर्ष अहिलेनै निकाल्नु उपयुक्त नहुने उनले बताए ।

हतारहतारमा पूर्वाधार व्यवस्थापन गर्नु, कर्मचारी अभावजस्ता कारणले काम गराइमा केही कमजोरी हुनसक्ने उल्लेख गर्दै उनले सरकारले केही गरेन भनेर हुने आलोचनालाई सकारात्मक रुपमा लिएर अघि बढ्नुपर्ने बताए ।

रावलले संघीयता नयाँ प्रयोग भएकाले केही अलमल भए पनि यो अन्यौलता धेरै समयसम्म नरहने बताए । प्रदेश सरकारले आफूलाई दिइएको अधिकारको प्रयोग गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

अर्को फरक प्रसंगमा उनले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनालाई केन्द्र सरकारले गम्भीर रुपमा लिएर अनुसन्धान गरिरहेको बताए । एकै घटनामा यतिधेरै अनुसन्धान केन्द्रीत भएको र प्रहरी अधिकारीहरु निलम्बन भएको पहिलो भएको उनको भनाइ थियो ।

पश्चिम सेती जलविद्युत आयोजना नेपाल सरकार आफैले निर्माण गर्नुपर्ने उनको धारणा थियो । विदेशी कम्पनीले बनाउने नाममा यो आयोजनालाई वर्षौंसम्म अल्झाएर राख्न नहुने रावलले बताए ।
मेरो असहमति छैन : भट्ट
पत्रकार सम्मेलनमा नेकपाका पोलिटब्यूरो सदस्य लेखराज भट्टले पार्टीले गरेको प्रदेश कमिटी चयनमा आफ्नो असन्तुष्टि रहेको भन्ने हल्ला गलत भएको धारणा राखे । प्रदेश कमिटीका पदाधिकारी चयनप्रति आफ्नो असहमति नरहेको उनले प्रष्ट पारे ।

प्रदेश इन्चार्जका दावेदार मानिएका भट्ट इन्चार्ज नपाएपछि नेतृत्वप्रति असन्तुष्ट रहेको चर्चा नेकपावृत्तमा छ । प्रदेश कमिटीको चयनमा आफ्नो असन्तुष्टि नरहेको प्रष्ट पार्दै नेता भट्टले पार्टीले गरेको निर्णस सबैले मान्नुपर्ने धारणा राखे । उनले भने, ‘पार्टीको निर्णयमा असहमति छैन । एकतामा सबैको व्यवस्थापन हुन सक्दैन । त्यसमा असन्तुष्टि भन्ने हुँदैन ।’

पत्रकार सम्मेलनमा नेकपाका प्रदेश सहइञ्चार्ज लक्ष्मणदत्त जोशी, अध्यक्ष कर्ण थापा, सचिव नेपबहादुर चौधरी, प्रदेश सरकारका मन्त्री, नेकपाका प्रदेश सांसदलगायतको सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE