सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

ऊनको चर्खाले चल्छ सीताको घर खर्च

चितवन । कालिका नगरपालिका–२ शान्तिटोलकी ५० वर्षीया सीता तामाङ ऊनबाट धागो काट्छिन् । जीविकोपार्जनका लागि खेतीपाती र बाख्रापालन गरे पनि ऊनबाट धागो काट्नु उनको फुर्सदको काम हो । धागो बनाउने काम सिक्नुअघि खेतिपातीको काम नहुँदा उनी मजदुरी गर्थिन् । घर खर्च चलाउनकै लागि मेलापात जान्थिन् । मेलापातको काम नहुँदा घरमै बसेर समय बिताउनु उनको बाध्यता थियो ।

‘घर व्यवहार चलाउन गाह्रो हुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले फुर्सदमा पनि घर बसेर काम गर्न पाइएको छ ।’ उनले २०६१ सालमा चर्खा चलाएर ऊनबाट धागो बनाउने तालिम लिएकी थिइन् । घरको काम र मेलापात जानुपरे पनि दिउँसो र बेलुकीको केही समय ऊनको धागो काट्छिन् । धागो काट्ने कामले घरको सानो व्यवहार चल्ने भएकाले चारजनाको परिवारमा खर्चको व्यवस्थापन भएको सीताले बताइन् । धागो बनाउने काममा फुर्सदको बेला श्रीमान्ले पनि सहयोग गर्छन्।

धागो बनाउन थालेपछि भने थोरै खर्चका लागि ऋण खोज्नुपरेको छैन । फुर्सद हुँदा दिनभरी र फुर्सद नहुँदा केही घन्टा भएपनि धागो बनाउने काम गर्दा महिनामा केही हजार रुपैयाँ उनको हातमा पर्छ । साविकको पदमपुर गाविसका २ सय ७० महिला आर्थिकोपार्जनका लागि धागो काट्ने काममा सहभागी भएको ‘चर्खाद्वारा ऊन कात्ने आयमुलक कार्यक्रम’की व्यवस्थापक बुद्धिमाया घले बताउँछिन् । जीविकोपार्जनका लागि आयआर्जनमा सहयोग पुग्ने भएकाले २०६१ मा पदमपुरका केही महिलालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले ऊनबाट धागो कात्ने तालिम दिएको थियो।

त्यही तालिम लिएर पदमपुरको जीतपुरकी ६४ वर्षिया दिलमाया गुरुङले पनि धागो बनाउन थालिन् । धागो बनाउने चर्खा तालिमबाटै प्रदान गरिएको थियो । त्यसपछिका चार वर्ष धागो बनाउने काम गरिन् । ऊन दिने र धागो संकलन गर्ने व्यवस्थापकको अभाव भएपछि पाँच वर्षभन्दा बढी काम बन्द गर्नुपरेको थियो । चार वर्ष उनले फेरि धागो बनाउने काम सुरु गरिन् । ‘दिन मारेर गर्ने होइन्, फुर्सदमा गर्दा नाफा नै हुन्छ,’ उनले भनिन्, ‘गफ गरेर समय बिताउनुभन्दा दुई चार पैसा आम्दानी हुन्छ।’

उनको छरछिमेकका महिलाले पनि धागो बनाउने काम गर्छन् । वरिपरि सबैले बनाउने भएकाले पनि समय कटाउन बाहिर डुल्नुपर्ने बाध्यता कसैलाई नरहेको उनले बताइन् । कामका लागि घर बाहिर घाममा निस्किनु नपर्ने, पानीमा हिँड्न नपर्ने भएकाले घरमै बसेर आम्दानी भएको छ । धागो बनाएर भएको आम्दानीबाट घर खर्च चलाएर बचेको पैसा बचत समूह र सहकारीमा जम्मा गर्छिन्।

राप्ती नदीको डुबान, कटान, बाढी र वन्यजन्तुको जोखिममा रहेको चितवनको पदमपुर गाविसलाई नै स्थानान्तरण गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जभित्र परेकाले पदमपुर स्थानान्तरण आयोग बनाएर २०५१ देखि २०६३ सम्ममा बस्ती स्थानान्तरण गरिएको हो ।

केराखेतीको पकेट क्षेत्र बनेपनि पदमपुरवासीको जीविकोपार्जनको स्रोत ज्याला मजदुरी रहेको छ । खेतीपाती गर्ने जमिन प्रशस्त नहुँदा ज्याला मजदुरीका लागि भरतपुर र रत्ननगर जाने बाध्यता उनीहरुको छ।केही पैसा कमाउन घर छाडेर टाढा पुग्न नपरोस् भनेर २०७१ मा थाङखोला सामुदायिक वनमार्फत १ सय ४० महिलालाई धागो बनाउने तालिम दिइएको थियो ।

त्यसपछि कार्यक्रमको व्यवस्थापन गर्दै आएकी बुद्धिमाया भन्छिन्, ‘यहीका महिला मिलेर सहकारी स्थापना ग¥यौं र थप महिलालाई तालिम पनि दियौं ।’ तीन चरणमा गरी एक सय ८५ महिलालाई तालिम दिएर धागो बनाउने चर्खा सहयोग गरिएको छ । चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक निरु तामाङका अनुसार चर्खाबाट धागो बनाउने सबैजसो महिला सहकारीका सेयर सदस्य बनेका छन् । संस्थामा अहिले ४ सय ८२ जना सदस्य छन् ।

विभिन्न संघसंस्थाको सहयोग र सहकार्यमा संस्था सञ्चालन गरिएको छ । तालिम सञ्चालन गर्न तथा कार्यालय व्यवस्थित रुपमा चलाउन केही आर्थिक र सामग्रीको सहयोग प्रकृति संरक्षण कोषले गरेको व्यवस्थापक तामाङले बताइन् । सहकारीमा आबद्ध हुँदा मासिक बचत गर्न श्रीमान्सँग माग्नुपर्नेमा अहिले ऊनबाट धागो काटेर बचत गर्दै आएको उनी बताउँछिन्।

सहकारीकी लेखा समिति संयोजकसमेत रहेकी बुद्धिमाया नियमित काम गर्नेले धागो बनाएर महिनामा १६ हजार रुपैयाँसम्म आम्दानी गर्नसक्ने बताउँछिन् । काम भएका बेला, खेतीपाती समयमा बाहेक फुर्सदमा धागो बनाउने भएकाले अधिकांशले आंशिक रुपमा यो काम गर्दै आएका छन् । संस्थामा आएर महिलाले ऊन लिएर गए पनि घरमा बच्चा तथा श्रीमान्लेसमेत फुर्सदमा धागो बनाउने गरेको उनले बताइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE