शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

मध्यम वर्गका उपभोक्ताको रोजाईमा सुनको जलप लगाएका गहना

काठमाडौँ २३ असोज। सुनका गरगहना लगाउने रहर नहुने सायदै होलान् । तर महंगिदो सुनको भाउ र आफ्नो आर्थिक अवस्थाका कारण सबैको सुनका गहना लगाउने रहर पूरा नहुन सक्छ । तर सुनका जस्तै देखिने गहनाले तपाईँ आफ्नो गहना लगाउने रहर भने पूरा गर्न सक्नुहुन्छ ।

चाडबाड नजिकिएसँगै बजारमा यतिबेला सुनका जलप लगाएका गहनाहरु छ्यापछ्यापती निस्किएका छन् । निम्न तथा मध्यम आर्थिक अवस्था भएकाहरुका लागि गहना लगाउने रहर पूरा गर्न सुनका जलप लगाएको गहना काफी हुन सक्छन् ।

सुनको जस्तै जलप लगाएका गहनाको मूल्य पनि कम हुने र सुरक्षाका दृष्टिकोणले समेत सहज हुने गरेकाले यस्ता गहनाको रोजाई पछिल्लो समयमा बढ्दै गएको छ । तीज, दशैँ, तिहारजस्ता चाडपर्वमा जलप लगाएका गहनाको बिक्री बढ्ने गरेको व्यापारीहरु बताउँछन् ।

न्युरोडस्थित एक कस्मेटिक्स पसलका व्यापारी कुमार यादव भन्छन्, ‘ चाडबाडका बेला सुनका जलप लगाएको गहनाको व्यापर बढ्ने गरेको छ । उनका अनुसार पसलमा कस्मेटिक आइटमभन्दा बढी सुनको जस्तो देखिने गहना बढी व्यापार हुने गरेकोछ ।

महंगो सुनको गहना चोरी हुने र हराउने डर हुने भए पनि सुनको जस्तै देखिने गहना भने चोरी हुने डर कमै हुने गरेको प्रयोगकर्ताहरु बताउँछन् । बाग्लुङ जिल्ला घर भई हाल काठमाडौँ बस्दै आएकी सरिता गौतम आफूले हरेक चाडबाडका बेला सुनका जलप लगाएको गहना किन्ने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘सस्तोमा विभिन्न डिजाइनका गहना पाइन्छ । महंगो पैसा हालेर एउटा गहना किन्नु भन्दा सस्तोमा सुन जस्तै देखिने थुप्रै गहना किन्न सकिन्छ ।’

व्यापारीहरुका अनुसार अन्य समयको तुलनामा चाडबाडका बेला सुनका जलप लगाएको गहनाको व्यापार दोब्बर हुने गरेको छ । हस्तकलासंसारबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE