सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

यो हो विश्वकै लामो समुद्रमाथि बनाइएको पुल

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले समुद्रमाथि बनाइएको विश्वकै लामो पुलको मंगलबार औपचारिक उद्घाटन गरेका छन् ।

हङकङ–चिनियाँ शहर जुहाई हुँदै मकाउ जोड्ने ५५ किलोमिटर लामो पुलको मंगलबार सिले उद्घाटन गरेका हुन् । आतिशबाजीसहितको विशेष कार्यक्रमका बीच राष्ट्रपति सिले पुलको औपचारिक उद्घाटन भएको घोषणा गरेका छन् ।

सार्वजनिक प्रयोगका लागि यो पुल बुधबारदेखि खुला गरिनेछ । निर्माण सुरु भएको ९ वर्षपछि पुलको औपचारिक उद्घाटन भएको छ । पुल निर्माणका लागि २० बिलियन अमेरिकी डलर खर्च भएको छ ।

पुल निर्माणको क्रममा कामदारको सुरक्षाको विषयलाई लिएर आलोचनाहरू भएका थिए । पुल बनाउने क्रममा कम्तिमा १८ कामदारको ज्यान गएको आधिकारिक तथ्यांक छ ।

पुलले तीन प्रमुख तटीय शहरहरू हङकङ, मकाउ र जुहाईलाई जोड्छ । भूकम्प र समुद्री आँधी प्रतिरोधात्मक संरचनामा पुल बनाइएको दाबी गरिएको छ । पुल निर्माणका लागि चार लाख टन स्टिल प्रयोग भएको छ ।

पुलको कुल लम्बाई मध्ये ३० किलोमिटर समुद्रमाथि पर्छ । पुलको मार्गमा दुई ठाउँमा कृत्रिम आइल्याण्ड बनाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE