शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

भारतको तथ्याङ्क आएपछि मात्रै नेपालले दिने

१७ माघ,काठमाडौं । भारतमा जारी बाघ गणनाको अन्तिम प्रतिवेदन तयार भएपछि मात्रै नेपालले ऊसँग तथ्याङ्क आदान–प्रदान गर्ने विषयमा सम्झौता गर्ने अडान लिएको छ ।

यसै साता दिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल र भारतबीच यस्तो सम्झौता हुने आशा भारतीय पक्षको थियो । तर, नेपाली पक्षले भारतमा वाघ गणना जारी नै रहेकोले अहिले नै यस्तो सम्झौतामा हस्ताक्षर गर्नु उपयुक्त नहुने धारणा अघि सार्यो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक गोपाल भट्टराईले भारतीय पत्रिका द हिन्दूसँग भने, “दुबै देश सावभौम छन् र दुई देशबीच समानताको सिद्धान्तको आधारमा तथ्याङ्क आदान–प्रदान गर्ने सम्झौता हुनुपर्छ ।”

भट्टराईले अब मार्च अन्तिम (मध्य चैत) सम्म यस्तो सम्झौता हुने आशा व्यक्त गरे । नेपाल, भारत, भुटान र बङ्गलादेशले यसअघि नै आ–आफ्ना बाघ गणनाका बिवरणहरू रू एक–अर्कासँग आदान–प्रदान गर्ने सहमति गरिसकेका छन् । यो सहमति अनुसार बङ्गलादेशले आफ्नो तथ्याङ्क भारतलाई उपलब्ध गराइसकेको छ । भुटानले पनि एक साताभित्रै तथ्याङ्क उपलब्ध गराउँने भएको छ ।

एउटा देशमा गणना गरिएका वाघ अर्को देशको गणनामा नदोहोरिऊन् र वाघको सही तथ्याङ्क सार्वजनिक हुन सकोस् भन्ने उद्देश्यले यस्तो सहमति गरिएको हो । यसका लागि नेपाल र भारतबीच बाघको तथ्याङ्क आदान–प्रदान हुनु जरुरी छ । किनकि, नेपालको चितवन, बाँके र बर्दियामा भेटिने बाघ आहाराको खोजीमा उत्तर प्रदेशका संरक्षित क्षेत्र र जङ्गलमा समेत पुग्ने गरेका छन् । यसैगरी, भारतका वाघ पनि नेपालसम्म आइपुग्ने गरेका छन् ।

चारै देशमा एकै विधिबाट गरिएका गणनाको सूक्ष्म बिवरणहरू विश्लेषण गरेपछि मात्रै वाघको वास्तविक अवस्था पत्ता लाग्नेछ । तर, भारतमा वाघको वासस्थानमा धेरै फराकिलो क्षेत्रमा फैलिएको छ । यसैले, उसलाई वाघ गणना सक्नु हम्मे परेको छ ।

नेपालले गत वर्ष नै पछिल्लो वाघ गणनाको प्रतिवेदन सार्वजनिक गरेको थियो । सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ को अप्रिलसम्म क्यामेरा ट्र्याप विधि अपनाई गरिएको गणना अनुसार नेपालमा हाल २३५ वाघ छन् ।

भारतमा सन् २०१४ मा गरिएको गणनामा २,२२६ वाघ पाइएका थिए । त्यहाँ नयाँ वाघ गणना जारी नै छ । नेपालमा सम्पन्न वाघ गणनाको बिवरण पाएपछि भारतले त्योसँग आफ्नो बिवरण दाँज्नेछ । यो तथ्याङ्क विश्लेषणमा मुख्य गरी नेपालमा क्यामेरामा कैद भएका हरेक वाघको स्ट्राइप् भारतमा क्यामेरामा कैदम भएका वाघको स्ट्राइपसँग दाँजिन्छ ।

सन् २००९ मा रसियाको सेन्ट पिटर्सबर्गमा भेला भएका १३ देशका सरकार प्रमुख एवं अधिकारीहरूले आगामी १२ वर्षभित्रै बाघको संख्या दोब्बर पार्ने महत्वकांक्षी घोषणा गरेका थिए । त्यसको एक वर्षपछि गरिएको गणनामा नेपालमा १२१ वाघ थिए । सन् २०१३ मा वाघको संख्या बढेर १९८ पुग्यो ।

नेपालले आठ बर्षभित्रै झण्डै वाघको संख्या दोब्बर बनाएको छ । उता भारतमा पनि हरेक गणनामा वाघको संख्या बढिरहेको छ । यी दुई देशले एउटै वाघलाई आ–आफ्नो गणनामा समेट्दै आएका छन् भन्ने आशङ्का संरक्षणविद्हरूको छ । वाघको तथ्याङ्क आदान–प्रदान गर्ने सम्झौता त्यही आशङ्का चिर्ने पहल हो ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

WRITE COMMENTS FOR THIS ARTICLE