शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

गीत चले,जीवन चलेन

१० भदौ,दाङ । संगीतकार महेश खड्काले चर्चित गीतहरूमा संगीत भरेका छन् । उनका गीत निकै पटक डाउनलोड भए, सेयर भए, सबै क्षेत्रमा अनधिकृत प्रयोग भए । त्यसबापत् संगीतकार खड्काले एक पैसा पाएनन् । बरु अरूले नै कमाए ।

यसले उनको साह्रै चित्त दुखेको रहेछ । ‘हामीले सिर्जना मात्रै गर्‍यौं । हाम्रा सिर्जनाले बजार पाए तर हामीले चर्चाबाहेक अरू केही पाएनौं । गीत चले तर हाम्रो जीवन चलेन,’ उनले भने, ‘हाम्रो अवस्थामा केही सुधार आएन । बिरामी हुँदा उपचार गर्न सक्ने अवस्था छैन ।’

गीतरसंगीतमा लागेर आफूजस्तो गरिब हुन कोही सर्जकले नचाहेकोखड्काले बताए । ‘मेरा बाआमा संगीतमा लागेर गरिब भयो भन्नुहुन्छ,’ उनले भने, ‘मजस्तो गरिब कोही हुन चाहँदैन ।’ सर्जकले आफ्नो सिर्जनामा अधिकार स्थापित गर्न नसकेकामा उनले साह्रै चित्त दुखाए ।

संगीत रोयल्टी संकलन समाजका अध्यक्षसमेत रहेका खड्काले बौद्धिक सम्पत्तिको संरक्षण नभएकोमा खिन्नता व्यक्त गर्दै भने, ‘हामी सिर्जनामा मात्रै ध्यान दिन्छौं । अधिकार खोज्न लाग्दैनौं । मेरा एक हजार ५ सय बढी सिर्जना छन् । ती सबै सार्वजनिक रूपमा निःशुल्क प्रयोग भएका छन् । स्रष्टा समृद्ध हुन बौद्धिक सम्पत्तिको संरक्षण हुनुपर्छ तर त्यस्तो हुन सकेन ।’

जीवनलाई आनन्द दिने हरेक चिजमा मानिस पैसा तिर्न तयार रहेको तर धेरै नै आनन्द दिने संगीतमा पैसा तिर्न तयार नरहेको खड्काले बताए । ‘हामी आफूलाई रमाइलो लाग्ने हरेक चिजमा पैसा तिर्न तयार छौं तर जीवनलाई साह्रै आनन्दित बनाउने, मनोरञ्जन दिने गीत संगीतका लागि केही रकम छुट्ट्याउन तयार छैनौं,’ उनले भने, ‘झलकमान गन्धर्व बित्दा दाउरा किन्ने पैसा नहुने जस्तो विडम्बना फेरि नआओस् ।’

प्रतिलिपि अधिकार तथा संगीत रोयल्टी व्यवस्थापनसम्बन्धी तुलसीपुरमा आयोजित अन्तरक्रियामा खड्काले विभिन्न ४० क्षेत्रमा संगीतको रोयल्टी आउने सम्भावना देखेको बताए । ‘यातायात, पार्टी प्यालेस, रेडियो, टीभी, मेला महोत्सवजस्ता मनोरञ्जनका थुप्रै क्षेत्र छन् । यी सबैबाट रोयल्टी उठाउन सकिन्छ,’ उनले भने, ‘तर, सर्जकसँग आफ्नो भन्नु सृजनाबाहेक अरु केही छैन । हामी लड्न भिड्न सक्दैनौं । कसरी उठ्छ रोयल्टी रु’

प्रस्तोता समाजका सदस्य तथा गायक बैकुण्ठ महतले पनि गीत–संगीतको रोयल्टी नपाउँदाको पीडा पोखे । ‘हाम्रा गीत सबैतिर निःशुल्क बजिरहेका छन् । व्यक्तिगत रूपमा बज्ने गीतमा हामी रोयल्टी माग्दैनौं तर व्यावसायिक रूपमा बज्दा तिर्नुपर्छ,’ उनले भने, ‘सबै क्षेत्रबाट कसरी रोयल्टीको व्यवस्थापन गर्ने भन्ने चुनौती छ । रोयल्टी नउठी कलाकारको आर्थिक स्थितिमा सुधार आउन सक्दैन ।’

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार प्रकाश आचार्यले प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार गीत–संगीत बौद्धिक सम्पत्ति भएको बताए । रोयल्टी नतिरी सार्वजनिक रूपमा गीत–संगीत प्रयोग गर्दा ऐनको उल्लंघन हुने उल्लेख गर्दै आचार्यले यसलाई फौजदारी अपराध मानी कानुनी कारबाही हुने बताए । दुर्गालाल केसीले लेखेको समाचार कान्तिपुरबाट साभार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE