सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

कोरोना भाइरसबारे नेपालीले जान्नुपर्ने आठ तथ्य

धनगढी, २१ फागुन : कोरोना भाइरस अर्थात् कविड–१९ को प्रकोपका कारण संसारभर त्रास फैलिएको छ । नेपाली जनजीवनलाई पनि यसले त्रस्त बनाएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रोखेको छ । यद्यपि, अहिलेसम्म एक जनामा मात्रै कोरोना पुष्टि भएको छ । ती व्यक्ति पनि निको भएर घर फर्किइसकेका छन् ।

चीनबाट उद्धार गरी ल्याइएका १ सय ७५ जनालाई १५ दिन खरिपाटी क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा कोरोनाको संक्रमण नदेखिएपछि घर पठाइएको छ । सोमबार टेकु अस्पतालमा भर्ना गरिएका चार जनामा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान शहरबाट सुरु भएको नोवेल कोरोना भाइरस संसारभर फैलिँदै गएकाले यो ठूलो चिन्ताको विषय बनेको छ । नेपाल पनि यसलाई लिएर ‘हाइ अलर्ट’मा छ ।

कोविड–१९ लाई लिएर धेरै चर्चा भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरू यसबारे विभिन्न कुरा सेयर गरिरहेका छन् ।

यसरी सेयर गरिएकामध्ये कति कुरा सत्य छन् भने कतिचाहिँ भ्रामक ।

त्यसैले सरकारी अधिकारी र विभिन्न विशेषज्ञसँग लिइएको जानकारीअनुसार नेपालमा कोरोना भाइरससँग जोडिएका आठ तथ्यबारे यहाँ चर्चा गरिएको छ ।

१. नेपालमा कोरोना भाइरसको स्थिति के छ ?

सरकारी अधिकारीहरूका अनुसार अहिलेको अवस्थामा नेपालमा कसैलाई पनि कोरोना भाइरसको संक्रमण छैन । यसको अर्थ नेपालमा कोरोना भाइरस आइनपुगेको भने होइन ।

करिब एक महिना अगाडि चीनको वुहान शहरबाट फर्केका एक व्यक्तिमा मात्र भाइरसको संक्रमण पुष्टि भएको थियो । ज्वरोले साह्रो पारेपछि उनी अस्पताल पुगेका थिए ।

चिकित्सकहरूले उनको नमूना संकलन गरी परीक्षणका लागि हङकङ पठाएका थिए । रिर्पोट ‘पोजेटिभ’ आएपछि ती व्यक्ति अस्पतालको आइसोलेसनमा बसे र निको पनि भए । पूर्ण रूपमा ठीक भएपछि उनलाई डिस्चार्ज गरिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले अन्य देशहरुसँगै नेपाललाई पनि भाइरसको उच्च जोखिममा रहेको मुलुकको सूचीमा राखेको छ ।

नेपालमा अहिलेसम्ममा २ सय २२ शंकास्पद व्यक्तिहरूको नमूना परीक्षण भइसकेको छ । १ सय ७५ जना ३ फागुनमा चीनको वुहानबाट उद्धार गरिएका थिए, अन्य ४३ जना परीक्षणका लागि आफैँ अस्पताल पुगेका थिए भने आशंका गरिएका ४ जनाको सोमबार परीक्षण गरिएको थियो । नमूना परीक्षण गरिएका कुनै पनि व्यक्तिमा भाइरसको संक्रमण नदेखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बताएको छ ।

२. नियन्त्रणका लागि नेपालले के गर्दैछ ?

नेपालले केही नयाँ कदम चालेको छ । सभा/सम्मेलन गर्न रोक लगाइएको छ । भ्रमण वर्ष २०२० नै स्थगित गरिएको छ । ५ चैतसम्म कक्षा १ देखि ९ सम्मको परीक्षा सम्पन्न गरिसक्ने गरी तयारी अघि बढाइएकाे छ । श्वासप्रश्वासबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कोरोनाको जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको र रुघाखोकीलगायत श्वासप्रश्वासको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको महाशाखाकाे भनाइ छ ।

विमानस्थल कार्यालयले समेत चीनबाट आउने यात्रुको निगरानी गर्न थालेको छ । विमानमा रुघाखोकी लागेका बिरामी भए वा नभएकोबारे जानकारी लिने र त्यस्ता बिरामी पाइए उनीहरुको स्वास्थ्य परीक्षण गर्न पठाउने गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।

जमीनी सीमाहरूमा पनि परीक्षण थालिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए । छिमेकी भारतले जमीनी सीमाहरूमा स्क्रीनिङ सिस्टम लगाइसकेको छ । नेपालले पनि विभिन्न सीमामा स्क्रीनिङ गर्ने काम गरिरहेको दाहालको भनाइ छ ।

बागमती प्रदेश र सम्बन्धित स्थानीय तहको सक्रियतामा रुसुवा र तातोपानी नाकामा परीक्षण भइरहेको छ । स्वास्थ्य विभागबाट पुगेको टोलीले त्यहाँ परीक्षण गरिरहेको हो । अन्य नाकाहरूबाट नेपाल छिर्नेहरूको परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले देशभर ७ वटा टोली खटाएको छ । कतिपय स्थानमा हेल्प डेस्क स्थापना गरेर काम भइरहेको छ ।

३. नेपाल तयार छ ?

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार कोरोनाको प्रकोप फैलिए सामना गर्न आन्तरिक तयारी तीव्र पारिएको छ ।

मन्त्रालयले भाइरस पत्ता लगाउने संयन्त्रको विकास गर्ने, संक्रमण रोकथाम गर्ने, अस्पतालहरूको क्षमता अभिवृद्धि गर्नेसहितका योजना बनाएर काम गरिरहेको मन्त्री ढकालको भनाइ छ । यसबाहेक संक्रमणबाट बच्न वा फैलिन नदिन जनचेतना बढाउने काम गरिरहेको उनले बताए ।

४. नेपालमा संक्रमित व्यक्तिको पहिचान कसरी गरिन्छ ?

नेपालमा कोरोना भाइरसको परीक्षण काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै गरिन्छ । यसबाहेक अन्य स्थानमा ज्वरो मात्रै परीक्षण गरिने हो । स्क्रीनिङ गर्दा उच्च ज्वरो देखिए वा कोरोनाको लक्षण देखिएमा टेकु अस्पतालमा लगेर नमुना परीक्षण गर्ने गरिएको छ ।

भारत र चीनसँग सीमा जोडिएका नाकासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्रीनिङ गर्ने काम भइरहेको छ । ती क्षेत्रमा स्वास्थ्य विभागका कर्मचारीहरू खटाइएको छ ।

जमीनी सीमामा होस् वा विमानस्थलमा, बाहिरबाट आएका यात्रुहरूलाई थर्मल स्क्यानरको माध्यमबाट परीक्षण गरिन्छ । ज्वरो देखिएमा तत्कालै त्यस्ता व्यक्तिलाई चिकित्सक भए ठाउँ लगिन्छ । त्यसपछि त्यस्ता व्यक्तिको यात्रा पृष्ठभूमिको व्यवहोराबारे जानकारी लिएपछि ब्लड स्याम्पल लिइन्छ ।

यसरी आशंका लागेर नमूना परीक्षण गरिएका व्यक्तिलाई आइसोलेसन वार्डमा राखिन्छ । तर, यस्तो वार्ड टेकु अस्पतालमा एउटा मात्रै छ । त्यसैले धेरै संक्रमित भएको अवस्थामा भने समस्या पर्ने देखिन्छ ।

५. के हो प्रारम्भिक लक्षण ?

ज्वरो, खोकी, सास लिन समस्या… यी सबै वा यीमध्ये केही लक्षण हुन सक्छ । गम्भीर अवस्थामा निमोनिया र सास लिन निकै अप्ठ्यारो हुन्छ । कतिपय अवस्थामा यसको संक्रमण प्राणघातक हुन सक्छ ।

यसको लक्षण सामान्य सर्दी लागेजस्तो हुन्छ । यस्तो लक्षण देखिए स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ ।

६. कसरी बच्ने ?

सरसफाइमा विशेष ख्याल गर्नुपर्छ । साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ । भीडभाड भएको क्षेत्रमा जान हुँदैन । हिँडडुल गर्दा मास्क लगाउने गर्नुपर्छ ।

खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्नुपर्छ । कोरोनाजस्तो लक्षणको शंका लागेमा अस्पताल जान थोरै पनि ढिला गर्न हुँदैन ।
आशंका गरिएका व्यक्तिको नजिक जान हुँदैन ।

७. अरूकाे सुरक्षा

तपाईंलाई सास लिनलाई अप्ठ्यारो भइरहेको छ, निरन्तर हाच्छिउँ आइरहेको छ भने मास्क लगाउनुपर्छ । यसो गर्दा अरू मानिस सुरक्षित हुन्छन् ।

तपाईंलाई यस्तो कुनै लक्षण छैन भने मास्क नलगाउँदा पनि हुन्छ ।

८. मास्क लगाउनै पर्छ ?

तपाईं मास्क लगाउँदै हुनुहुन्छ भने यसलाई सही ढंगले लगाउनुपर्छ । राम्रोसँग मास्क लगाउनुभयो भने यो फैलिने सम्भावना न्यून हुन्छ ।

मास्क लगाउँदैमा मात्र इन्फेक्सन फैलिनबाट रोकिने होइन ।

एन कुँवरले लेखेको समाचार शिलापत्र डटकमबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE