शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

अमेरिका बस्ने मनकारी युवाको सहयोगमा राहत वितरण

महेन्द्रनगर, ८ बैशाख : कंचनपुरको भिमदत्त नगरपालिका वडा नं.१८ देबीटोलको सुकुम्बासी बस्तीमा राहत बितरण गरिएको छ । सरकारले गरेको लकडाउनका कारण भोकमरीको अवस्था सृजना भएपछि सुकुम्बासी बस्तीमा राहत बितरण गरिएको हो ।

कोरोना भाईरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि दैनिक ज्यालादारी काम गरेर जीवन गुजारा चलाउनेहरुलाई अहिले बिहान,बेलुकाको छाक टार्नै मुस्किल परेको छ ।

कच्ची टहरा बनाएर बसोबास गर्दै आएका सुकुम्बासी दलितहरु भोकमरीमा नपरुन भनेर राहत स्वरुप खाधान्य बितरण गरिएको मानबअधिकारकर्मी शारदा चन्दले बताईन् । चन्दका अनुसार शनिबार साझ ४ बजे १०३ घर परिवारलाई राहत बितरण गरिएको हो ।

कंचनपुरकी मानबअधिकारकर्मी चन्द नेतृत्वको समूहले सुकुम्बासी बस्तीमै गएर प्रत्येक घरपरिवारलाई २५ केजीको एक बोरा चामल,एक केजी दाल र एक प्याकेट नूनसहितको राहत वितरण गरेका हुन् । उक्त समूहमा सामाजिक अभियान्ता सुरेन्द्र देउवा,आनन्दी राना र विजय जैरु रहेका छन् ।

कोरोनो भाइरस (कोभिड-१९) ले विश्वनै त्रसित बनेको अबस्थामा दैनिक मजदुरी गरेर खाने दलित,गरिब,विपन्न समुदायलाई राहत बितरण गर्नका लागि डडेल्धुरा घर भई हाल अमेरिका बस्ने समाजसेबी भक्तबोव भण्डारीले आर्थिक सहयोग गरेका हुन् । गत ३ गते पनि भण्डारीको आर्थिक सहयोगमा भिमदत्त नगरपालिका वडा नं.४ को बादी बस्ती र सडक छेउमा रहेको अस्थायी कुचमुनियाँ बस्तीका ६२ घर परिवारका प्रत्येकलाई २५ केजीको एक बोरा चामल,एक केजी दाल र एक प्याकेट नूनसहितको राहत वितरण गरिएको थियो ।

एक महिने लामो लकडाउनले दिनभर काम गरी खाने हामी गरिबको रोजगारी गुम्यो,कोरोना भन्दा भोकै मर्नु पर्ने अबस्था आयो,भोकमरीका बेला राहत दिएर ठूलो सहयोग पुगेको स्थानीयहरु बताउँछन् ।

यस्तो महामारीको बेला मानवीय धर्म पुरा गर्न आफूहरुले बस्तीमै गएर खाधान्य वितरण गरेको सामाजिक अभियन्ता विजय जैरुले बताए । उनले भने,स्वच्छ मनले केही गरौं भनेर ज्यानै जोखिमा पारेर लाग्दा पनि आफूहरुले राजनीती गरेको आरोप खेप्नु परेको छ । सरकारले गर्नु पर्ने काम गर्दा धन्यबाद पाउनुको साटो जनप्रतिनिधीहरुबाट आरोप खेप्दा आफूहरु निकै दुखीत भएको उनले बताए ।

दैनिक काम गरी खाने मजदुरहरुका लागि सरकारले घोषणा गरेको राहत प्याकेज अन्र्तगत नगरपालिका मार्फत वितरण गरिएको राहत प्रयाप्त नभएको,गुणस्तरहिन र पक्षपात गरिएको जनगुनासो बढेपछि स्थानीय सामाजिक अभियन्ताहरुले सहयोग जुटाएर राहत वितरण कार्य शुरु गरेका हुन् ।

कंचनपुरका सामाजिक अभियन्ताहरुको पहलमा कंचनपुरका धेरै दलित,गरिब,विपन्न समुदायका बस्तीहरुमा धमाधम राहत वितरण गरिएको बिभिन्न अनलाइन मिडिया र सामाजिक संजाल मार्फत सार्वजनिक भएपछि आफ्नो राजनीतिक भविश्य संकटमा पर्न सक्ने औल्याउदै भिमदत्त नगरपालिका-१८ का वडा अध्यक्ष राजेन्द्र पाण्डे वडा सदस्यद्धय प्रशान्त भट्ट र कमला देवकोटाले राहत वितरणमा अवरोध सृजना गरि रहेको बताइएको छ ।

जनप्रतिनिधीहरुले अवरोध सृजना गरेपछि उनीहरुको सामाजिक संजाल मार्फत सर्वत्र आलोचना गरिएको छ । गैर राजनीतिक व्यक्तिहरुले राहत वितरण गर्दा आफुहरुको राजनीति संकटमा परेको जनप्रतिनिधीहरुको बुझाई रहेको छ । सामाजिक संजाल मार्फत उनीहरुको चर्को विरोध गरिएपछि उनीहरुले राहतका नाममा चन्द नेतृत्वको समूहले राजनीती गरेको भन्दै असन्तुष्टि जनाउदै आएका छन् ।

यस अघि चैत्र २९ गते अमेरिकामा बस्ने प्रेम नुवाकोटी, भक्तपुरका रामशरण देउजा, कैलालीका चेतराज भट्ट (चिरिञ्जीवी) महेन्द्रनगरका लोक ठकुराठीले आर्थिक सहयोगमा भिमदत्त नगरपालिका वडा नं.१८ सालघारीस्थित सुकुम्बासी दलित बस्तीका १ सय ७१ घर परिवारका प्रत्येकलाई १५ केजीको एक बोरा चामल,एक केजी दाल,एक प्याकेट नून र आधा लिटर तेलसहितको राहत वितरण गरेका थिए ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE