बिहिबार, असार २५, २०७७
Thursday, July 9, 2020

लकडाउनले काठमाडौं डेरामा बस्ने विद्यार्थी समस्यामा

धनगढी, १३ बैशाख : आर्थिक अबस्था कमजोर हुदाँहुँदै पनि जेनतेन खर्च जुटाएर उच्च शिक्षा अध्ययनका लागि काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरु समस्यामा परेका छन् । एक महिने लामो लकडाउनका कारण उनीहरु समस्यामा परेका हुन् ।

उच्च शिक्षा अध्ययन र सरकारी सेवामा प्रवेश गर्न चाहनेहरु लोकसेवा आयोगको परीक्षाको तयारीका लागि होस्टल र डेरामा बस्दै आएका छन् ।

समस्यामा पर्नेहरुमा अधिकांस सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका दलित,जनजाती र थारु समुदायका बढी छन् । दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउने परिवारहरुलाई सरकारी तथा बिभिन्न गैरसरकारी संस्थाहरुले राहत उपलब्ध गराए पनि समस्यामा परेका यि विद्यार्थी भने राहत पाउनबाट बंचित छन् ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी सबैभन्दा बढी समस्यामा परेको विद्यार्थीहरुले कट्‍‍वाल डटकमलाई जानकारी गराए । एक्कासी लकडाउन हुँदा उनीहरु घर जान नसकी काठमाडौंमै रोकिएका छन् ।

प्राप्त जानकारी अनुसार सुदूर तथा कर्णाली प्रदेशका मात्रै करिब २ सय विद्यार्थी समस्यामा परेका छन् । बाहिर जिल्लाबाट आएर अध्ययन गरिरहेका विद्यार्थी खर्च सकिएर निकै सकसपूर्ण अवस्थामा दिन गुजारी रहेको बाजुरा घर भई बानेश्वर डेरा गरी बस्ने अमर सुनारले बताए ।

“केही दिनका लागि मात्र लकडाउन होला भन्ने लाग्यो,घरबाट पठाएको खर्च पनि सकियो,उधारो रासन दिने पसल पनि बन्द छ, डोटी घर भई हाल काठमाडौं शान्तिनगर डेरा गरी बस्ने सुनिल बागचनले बताए । उनले भने,लकडाउन थपिए काठमाडौंमा भोकै मर्नु पर्ने अबस्था छ ।

त्यस्तै, कैलाली घर भई अनामनगर डेरा गरी बस्ने शान्ति चौधरीले पनि लकडाउनले बाच्नै गारो भएको बताईन् । घरबाट पठाएको खर्चले हामी काठमाडौं पढ्न बसेकाहरुलाई निकै समस्या परेको उनले सुनाईन् । यस्तै हो भने रुममा ताला लगाएर घर फर्कनु पर्ने अबस्था छ,चौधरीले अनलाईन कुराकानीमा भनिन् । उनका अनुसार कैलाली,कंचनपुर र बर्दियाका मात्रै ५० जना भन्दा बढी थारु समुदायका बिधार्थी समस्यामा परेका छन् ।

स्वदेश तथा प्रवासमा बस्ने नेपालीहरुले देशभरका बिभिन्न ठाउँहरुमा राहत वितरण गरेका खबरहरु प्राप्त भएपनि बिधार्थीहरुको समस्याप्रति भने कसैको ध्यान नपुगेको बिधार्थी नेताहरु बताउँछन् ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE