बिहिबार, साउन १, २०७७
Thursday, July 16, 2020

क्‍वारेन्टाइनमै जातीय विभेद !

बेनी, १६ बैशाख : म्याग्दीको क्वारेन्टाइन (एकान्तबासमा) जातीय विभेद भएको त्यहाँ बसेकाले गुनासो गरेका छन् । सदरमुकाम बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा सञ्‍चालित क्वारेन्टाइनमा (एकान्तबास) मा बसेकाले जातीय आधारमा फरक व्यवहार भएको बताएका छन् ।

यसैगरी क्वारेन्टाइनमा खाना र सरसफाइको व्यवस्थापन राम्रो नभएको, स्वास्थ्य परीक्षण गर्न बेवास्ता गरिएको, बसेकाले सामाजिक दूरी कायम नगरेको गुनासो गरेका छन् ।

वैशाख १२ गते काठमाडौबाट आएर वेष्ट पोइन्टको क्वारेन्टाइनमा बसेका बादल शाहीले जातीय छुवाछुत भएको बताए । क्वारेन्टाइनमा पनि छुवाछुत, कुनै निकाय छ भने त्यहाँसम्म पुगोस्, उनले सामाजिक सञ्‍जाल फेसबुकमा भनेका छन् जातको नाममा गरिने भेदभाव अझै कायम रहेछ ।

खाना, खाजा, पानी खाने विषयमा दलित समुदायकालाई अन्य समुदायका व्यक्तिले गलत व्यवहार गरेको उनले बताए । क्वारेन्टाइनमा राखिए पनि स्वास्थ्य परीक्षणका लागि कोही पनि नआएको त्यहाँ बसेकाको गुनासो छ ।

कोभिड-१९ जिल्ला कमाण्ड पोष्टका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले विभेद भएको गुनासोको विषयमा त्यहाँ गएर बुझ्ने र व्यवस्थापनका लागि बेनी नगरपालिकालाई अनुरोध गरेको बताए ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले मंगलबार सरसफाइ र स्वास्थ्य परीक्षणका लागि क्वारेन्टाइनमा कर्मचारी पठाइने बताए । विदेशबाट आएकाहरु १४ दिनको अवधि पुरा गरेर घर फर्किएपछि रित्तिएका म्याग्दीका क्वारेन्टाइन (एकान्तबास) पुन भरिभराउ भएका छन् । बन्दाबन्दीका कारण शहरी क्षेत्रमा फसेकाहरु गाउँ आएपछि करिब दुई हप्ता खाली भएका एकान्तबास भरिएका हुन् ।

काठमाडौ, बुटवल, चितवनलगायतका ठाउँबाट आएका विद्यार्थी, अभिभावक, निजी क्षेत्रका संस्थामा काम गर्ने र मजदुरलाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला भरका क्वारेन्टाइनमा विभिन्न जिल्लाबाट आएका २२२ जनालाई राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धवलागिरी गाउँपालिकाको एकान्तबासमा सबैभन्दा धेरै १०९ जना छन् । बेनी नगरपालिकाले न्यु वेष्ट पोइन्ट आवासीय माविमा सञ्चालन गरेको एकान्तबासमा १८ जना छन् । मंगलामा ४३, मालिकामा ९, रघुगंगामा १ र अन्नपूर्णमा २९ जनाका एकान्तबास बसेका छन् । जिल्ला कमाण्ड पोष्टले गण्डकी प्रदेशको नवलपुर सहित अन्य ६६ जिल्लाबाट आउनेलाई अनिवार्य १४ दिनसम्म एकान्तबासमा राखेर स्वास्थ्य परिक्षण गरेपछि घर पठाउने निर्णय गरेको छ ।

लकडाउन लगत्तै विदेशबाट आएका करिब ६० जनालाई एकान्तबास राखेर उनीहरुको द्रूत परीक्षण गरेर घर पठाइएको थियो । हालसम्म डेढ सय भन्दा बढीको द्रूत परीक्षण गर्दा उनीहरुलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

अन्नपूर्णमा सन्तोष गौतमले लेखेको समाचार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE