सोमवार, असार २९, २०७७
Monday, July 13, 2020

मधेशी र पहाडी शब्दभित्र लुकेको ब्राम्हणवाद

हरिनन्दन कुमार रंजन : सर्वप्रथम यस प्रकारको शीर्षक राखेर आलेख लेखी रहदा धेरै जनालाई नमिठो लाग्न सक्ने यथार्थ प्रती म सजग छु,भन्ने कुरा दृढताका साथ राख्न चाहन्छु । आज नेपालको धारातलमा सबै भन्दा बढी चर्चा हुने र सबै भन्दा बढी प्रयोग हुने मुद्दाको रुपमा मधेसीया र पहाडिया शब्दलाई भन्दा कुनै गलती हुदैन। मधेसी र पहाडी शब्द वास्तवमै आन्दोलनको प्रतिकात्मक शब्द हो त ? यसलाई गम्भीरताका साथ बुझ्नु जरुरी देखिन्छ। के साच्चै नै मधेसी आन्दोलन पहाडिया बिरुद्दको आन्दोलन नै हो ? अथवा मधेसी पहाडीको दुश्मन हो ? या पहाडी मधेसीको दुस्मन हो ? यो प्रश्नको जवाफ खोज्दै जादा मधेसी र पहाडी शब्द लाई कुनै तेस्रो पक्षले एक अर्काको दुश्मनकै रुपमा प्रचार र प्रयोग गरेको पाइन्छ। र त्यो तेस्रो पक्ष कुन हो ? जसले पहाडी,मधेसी शब्द लाई नस्लिय शासन बचाउन प्रयोग र प्रचार गरिरहेको छ,भन्ने प्रश्न गर्दा एउटै मात्र जवाफ छ-” शासक वर्ग”

नेपालको शासक वर्ग जस लाई खस-आर्य नाम ले चिनिन्छ। उसले सबै भन्दा बढी मधेसी र पहाडी शब्द लाई भजाउने काम गरेको छ। यसको कारण के छ भने मधेसी नाम बाट तराईका मधेसी जनताहरुमा एउटा मनोबैज्ञानिक तरंगको शृजना हुन्छ । जुन तरंग ले सारा पहाडी समुदाय बिरुद्धको लहर जन्माउँछ। र पहाडी शब्दले एउटा अर्को मनोबैज्ञानिक असर जन्माउछँ,जसले पहाडी समुदायमा मधेसीको बिरुद्द एक मुष्ट घृणाको भाव जन्माउने काम गर्छ। जसले गर्दा मधेस भित्रका उत्पीडित जनसमुदाय र पहाड भित्रका पिडित समाज पनि एक अर्काको दुश्मन बनेर खडा हुन्छ । त्यसपछी मधेसी र पहाडी सबै उत्पिडित समुदायलाइ गुलाम बनाएर राखी राख्न चाहने शासक वर्ग वा शासक जमातले यो मनोबैज्ञानिक रे लाई आफ्नो हितमा प्रयोग गर्न थाल्दछन।

मधेसका साशक जमात सवर्ण मधेसी र पहाडका शासक जमात सवर्ण पहाडीले जब जब देशमा चुनाव आउँछ। तब तब मधेसि साशकले पहाडिया भनेर गाली गर्ने र पहाडी शासकले मधेसिया भनेर गाली दिनेकाम गर्न थाल्दछन । फलस्वरूप मधेसी पहाडी मानसिकताको उजागर हुन्छ र मधेसी उत्पीडितले मधेसी शासक लाई र पहाडी उत्पीडितले पहाडी शासकलाई आफ्नो प्रतिनिधिको रुपमा छनौट गर्ने काम बडो सरलताका साथ गरिहाल्छन । जुन समग्रतामा यस देशका शोषित जमातको लागि दुर्भाग्यपूर्ण फैसला हुन जान्छ। मधेसीले पहाडका वंचित बहुजन समाज (दलित,जनजाती,आदिवासी,धर्म परिवर्तित अल्पसंख्यक) र पहाडीले मधेसका वंचित बहुजन समाजलाई आफ्ना शत्रु सम्झेर एक आपसमा लडाइँ गर्छन । जसको प्रत्यक्ष फाइदा बहुजन समाज लाई फुटाएर शासन गरिरहेको अल्पजन समाज लाई पुग्छ।

यदि पहाड र मधेस दुबै ठाउँका बंचित बहुजन समाजले शासक जमातको बिरोधमा एकीकृत संघर्ष गर्ने हो भने सहि रुपमा यस देशमा यहाँका मुलवासी दलित,जनजाति,आदिवासी,पिछडा,एवं रिलिजियस माइनारिटिज समाज (बहुजन) शासक जमातमा परिणत हुन सक्ने छ। जुन शासन तथागत बुद्धाको बहुजन हिताय, बहुजन सुखायू मा अधारित हुनेछ। त्यसै कारण बडो चलाखीपुर्ण तवर ले मधेस र पहाड दुइटै भुगोलका सवर्ण जातीका शासकहरु ले यो शाब्दिक षड्यन्त्र लाई कहिल्यै पनि समाप्त हुन दिन चाह्दैन। यस लाई समाजिक न्यायको विषय बन्न्न दिन चाह्दैन । एउटा राजनैतिक (घण्टी) झुन्झुनाको रुपमा सदैव बजाइ राख्न चाह्न्छ।

गैर बराबरीको विचारधारा लाई आफ्नो मुल सिद्धांत मान्ने समाजको शासन र वयवस्था ध्वस्त न गरे सम्म बहुजन समाज कहिले पनि देशको मुलधारमा आउन सक्दैन। र बिषमतावादी एवं एकल जातीय राज्य व्यवस्थाको बिरुद्ध बिखण्डित पहाडिया र मधेसिया मनोविज्ञानबाट संचालित संघर्ष ले कदापी सामाजिक न्यायको लडाइ बृहत स्तरमा लड्न सकिदैन। नेपालीहरुको हरेक समस्याको मुलजड जाती अधारित वर्णाश्रम व्यव्स्था नै छ। यसमा कुनै दुई मत राख्नुहुदैन। किन भने वर्णाश्रम वयवस्थाको अधारमा पावरको संचय र श्रम एवं श्रमिको बिभाजन तथा उत्पादनका श्रोतहरु माथिको नियन्त्रण हुने देशको प्रमुख समस्या अरु हुन सक्दैन।

यदि यो अरु कुनै अन्य समस्याहरु भएको भए सबै वाद र सिद्धान्तले शासन गरिसकेको यस देशमा सुधार भएको हुनु पर्ने हो।वर्गीय समस्याको कुरा गर्नेहरु ले त झण्डै दुई तिहाईको सरकार चलाइरहेको छ। तैपनि जनताको लागि आमूल परिबर्तन हुन सक्ने क्रान्तिकारी भुमी सुधार,जातको विनास,मजदुरबर्गको अधिनायकवाद स्थापित हुने कार्यक्रमहरु किन गर्न सकेका छैनन ? व्यक्ति पिच्छै तर्कहरु हुन सक्द्छन। तर प्रमुख कारण भनेको नेपालको जाती अधारित राज्य वयवस्था र मनोबैज्ञानिक असर हो। केही अपवाद बाहेक यहाँ मजदुर भनेको पनि शुद्र नै हो। पिडित भनेको पनि शुद्र नै हो । अशिक्षित ,गरिब,शोषित जे भने पनि वर्णाश्रम वयवस्था अन्तर्गतको शुद्र नै हो। र जुनसुकै तन्त्रको नाममा शासन गरे पनि शासक भनेको सवर्ण अथवा ब्राह्मण नै हुंदा परिबर्तन हुन नसकेको हो।

त्यसैले हाम्रो संघर्ष पनि वर्णाश्रम व्यव्स्थाको बिरुद्ध हुनु पर्दछ। र समस्या देश व्यापी भएको ले मुद्धा पनि देश व्यापी रुपमै उठान हुनु जरुरी छ। यसरी बहुजन समाज एकीकृत रुपमा एकल ब्राह्मण जातीय राज्यको बिरुद्ध संगठित हुन नसकोस भनेर विभिन्न काउण्टर मुव्हमेण्टहरु चलाइ राख्ने षड्यन्त्र अनुरुप पहाडी मधेसी शब्द लाई सामाजिक न्यायको आन्दोलन बनाउनु भन्दा पनि भौगोलिक शत्रुताको प्रतिकको रुपमा स्थापित गराइएको छ। यस मनुवादी चाल लाई नेपालको हिमाल पहाड तराई सबै ठाउँको बहुजन जनता ले बुझ्नु पर्दछ।

यो सामाजिक न्याय र लुटिएको हाम्रो शासन लाई फिर्ता लिनु पर्ने मुभमेन्ट हो। यसलाइ समान्य रुपमा आंकलन गर्नु बहुजन नेपाली मुलवासी समाजको लागि हितकर हुने छैन। सामाजिकन्याय प्राप्तिको आन्दोलन लाई सजिलै जित्न सकिँदैन । यसको लागि समझ ,निष्ठा र समर्पण चाहिन्छ।यसको लागि हामी बिच अनुहार,छालाको रंग,भौगोलिक बसाइ,एवं भाषा बाधक हुनु हुदैन। योद्धाहरु जति सुकै बलिया भए पनि केबल बलको प्रयोग ले युद्ध जित्न सकिँदैन भन्ने कुरा लाई आत्मसात गर्नु पर्छ। युद्ध जित्न लाई योजना र अन्य श्रोत साधन चाहिन्छ साथै दुश्मनको काउण्टर प्लान बारे पनि जानकारी राख्नु महत्वपूर्ण हुन्छ।

मधेसी पहाडी काउण्टर प्लान बारे पनि जानकारी राख्नु महत्वपूर्ण हुन्छ। मधेसी पहाडीको नारा ले पहाडका मुलवासी समाज मधेसी मुलवासीको दुश्मन हुने र मधेसी बहुजन समाज पहाडको बहुजन समाजको दुश्मन हुने क्रम निरन्तर रहे सम्म नेपाली मुलवासीको हार निश्चित छ।यसको एक मात्र उपाय हो मधेसी वर्सेज पहाडि बनाइएको मुभमेन्टलाई बहुजन भर्सेज अल्पजन अथवा मुलवासी भर्सेज विदेशी आन्दोलनको स्थापना गर्नु। यसरी मधेशका शासक एवं पहाडका शासक जमात ले आपसी संम्झौतामा खिचडी बनाइरहेको यो मनुवादी चाल लाई निस्तेज गर्नु बुद्धिमानी पुर्ण कदम हुनेछ।

प्रकाशित २०७७ जेठ १२ गते सोमबार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE