बिहिबार, असार २५, २०७७
Thursday, July 9, 2020

रुकुम पश्चिम नरसंहार योजनाबद्ध भएको हो : कर्णाली प्रदेश सासंद

जाजरकोट, १८ जेठ : कर्णाली प्रदेशसभाका सांसदहरुले रुकुमको चौरजहारी नगरपालिका-८ सोती घटनामा केटी सुष्मा मल्लको घरबाट फर्किएका युवाहरुलाई स्थानीयले लखेट्दै कुटेर हत्या गरेको निष्कर्ष निकालेको छ । ३ दिन जाजरकोट, रुकुम बसेर शनिबार फर्किएको प्रदेश सासंदहरुको टोलीले नवराजसहित १९ जना युवाहरु घरतर्फ फर्कदै गर्दा योजनाबद्ध रुपमा लखेटेर कुटपिट गरि विभत्स हत्या गरेको निष्कर्ष निकालेका हुन् ।

प्रदेशसभा सदस्य रातो कामीले जाजरकोटको भेरी नगरपालिका -४ रानागाउँका नवराज विक र सोतीकी किशोरीबीच प्रेम सम्बन्ध रहेको र अभिभावक तथा गाउँलेले त्यो सम्बन्ध अस्वीकार गरेकै कारण घटना भएको बताए । केटीकी आमासित भनाभन परेपछि अर्को बाटो लागिसकेका युवालाई गाउँलेले योजनाबद्ध ढंगले कुट्दै लखेटेको पत्यक्षदर्शीले बताएको उनले बताए ।

पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययन, स्थानीयबासी र प्रत्यक्षदर्शीलाई भेटेर सुर्खेत फर्केका कर्णाली प्रदेशसभाका पाँच सांसदले घटना पूर्व योजनाअनुसार नै सामूहिक हत्या भएको निष्कर्ष निकालेका हुन् । घटनाको न्यायीक र निष्पक्ष छानविन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

नेकपाकी सचेतक सीता नेपालीले घटनाका दोषीलाइ कडा कारबाही गर्न माग गर्नुभयो । सचेतक नेपाली, सामाजिक विकास समितिका सभापति राजु नेपाली, सांसद रातो कामी, दानसिङ परियार र झोवा विक घटनास्थलको अवलोकन गरी फर्किएका छन् । उनीहरुले घटनामा मल्ल परिवार र आफन्तले योजनाबद्ध रुपमा लखेटेर कुटपिट गर्दै भेरी नदिमा मराणासन्न हुने गरि कुटपिट गरि हत्या गरेको र भेरी नदिमा फालेको बताएका छन् । जेठ १० गते शनिबार जाजरकोटबाट आएका युवालाई चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले आक्रमण गरेपछि पाँचजनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् ।

घटनामा जाजरकोटको भेरी नगरपालिका–४, का नवराज विक, गणेश बुढा, सञ्जु विक, भेरी नगरपालिका -११ का लोकेन्द्र सुनार र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टिकाराम सुनारको मृत्यु भएको छ । भेरी नगरपालिका–११,जाजरकोटका गोविन्द शाही बेपत्ता छन् । पाँचजनाकै शव भेरी नदी र किनारमा भेटिएका थिए ।

तस्बिर कान्तिपुरबाट साभार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE