बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

रुकुम नरसंहारमा बेपत्ता युवकको शव भेटियो

धनगढी, २० जेठ : रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको नरसंहारमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

चौरजहारी नगरपालिका–८ सोतीका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भनिएका भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको शव मंगलबार फेला परेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रमुख डीएसपी किशोर श्रेष्ठका अनुसार शाहीको शव भेरी नगरपालिका–१२ स्थित भेरी नदीमा स्थानीयले फेला पारेको हो । उनी घटना भएकै दिन जेठ १० गतेदेखि बेपत्ता थिए ।

उनीसँगै भेरी नदीमा हामफालेका भनिएका सुषमा मल्लका प्रेमी नवराज विक,सञ्जु विक, लोकेन्द्र सुनार,गणेश बुढा र टीकाराम सुनारको शव यसअघि नै भेरी नदीमा फेला परेको थियो ।

घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE