शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

शम्भु मुसहरको हत्या आशंकामा धनुषामा विशाल प्रदर्शन

जनकपुरधाम ३० जेठ : धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा शम्भु सदा मुसहरको रहस्मय मृत्यु भएको घटनालाई लिएर धनुषामा शुक्रबार विशाल प्रदर्शन गरिएको छ ।

बन्दाबन्दीको बेला अन्याय सहेर बस्न नसकिने भन्दै प्रत्येक घरका हजारौं दलितहरुले दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रहरीद्वारा हत्या आशंकामा घटनाको निष्पक्ष छानविन गरी दोषीमाथी कारबाही,पिडित परिवारलाई उचित क्षतिपुर्ति र आन्दोलनको क्रममा घाईते भएकाहरुको उपचारको माग गर्दै सबैला नगरमा विशाल विरोध प्रदर्शन गरिएको बहुजन एकता समाज नेपालका केन्द्रीय संयोजक चन्देश्वर दासले बताए ।

संयोजक दासका अनुसार दलितहरुको शृंखलाबद्ध सुनियोजित हत्याको विरुद्ध ३२ डिग्रि गर्मिमा पनि मधेशी दलित समुदायले धनुषा प्रहरी,नेपाल सरकारका गृहमन्त्री र स्थानीय दलाल नेतालाई चुनौती दिदैं प्रदर्शन गरिएको हो ।

टेक्टर दुर्घटनाका कारण उत्पन्न विवादले जेठ १५ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका शम्भु सदा मुसहर २७ गते राती २ बजे झुण्डिएको अबस्थामा फेला परेका थिए । प्रहरी निरिक्षक चन्द्रभुषण यादब र टेक्टर मालिक संजय साह तेलीको मिलेमतोमा हत्या गरिएको पिडित परिवारको आरोप छ ।

मृतककी आमालाई ईलाका प्रहरी कार्यालयमा गुपचुप लगेर जबरजस्ती इन्जेक्शन लगाई औठाछाप लगाउनु आदिले यो आत्महत्या नभई षड्न्त्रपूर्ण तरिकाले हत्या गरिएको आन्दोलनकारीहरुको भनाई छ ।

नेपाल राष्ट्रिय मुसहर संघले पनि बिहिबार दोषीमाथि कारवाहीको माग गर्दै धनुषामा प्रदर्शन गरेको थियो । प्रहरी दमन मुर्दावाद, दलितमाथिको हत्याहिंसा बन्द गर, सुरक्षा दिने प्रहरी चौकीनै असुरक्षित,हिरासतमै मृत्यु, हत्यारालाई कारवाही गर लगायतको नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सयौंको संख्यामा रहेका युवाहरुले मोटरसाइकल यालीसहितको प्रदर्शन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत,मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा,जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय, राष्टिय मानव अधिकार आयोगको कार्यालयमा दोषीमाथी कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE