शुक्रबार, कार्तिक १४, २०७७
Friday, October 30, 2020

समाज ‘म’ र ‘दलित’ मनोविज्ञान !

अन्तरजातीय प्रेम सम्बन्धका कारण जेठ १० गते रुकुम पश्चिमको सोतीगाउँ नरसंहारमा नवराज विकसहितका ६ जना युवाहरुको हत्या गरिनु,धनुषाको सबैला प्रहरी हिरासतमा रहस्मय मृत्यु भएका शम्भु सदा,रुपन्देहीमा बलत्कारपछि हत्या गरिकी अंगिरा पासीका परिवारलाई न्याय दिलाउन यतिखेर सडक तातेको छ । महाब्धाधी विश्वभर महामारीको रुपमा फैलिएपछि मानव सभ्यतानै यतिखेर खतरामा परेको छ । यही मानव सभ्यता जोगाउन गरिएको बन्दाबन्दीका बेला ज्यानको पर्वाह नगरी सडकमा देखिएको दलित अधिकारकर्मीहरुको आन्दोलनले मनको अन्तरकुन्तरमा छछल्किएको विचारका छालहरुले पंक्तिकारलाई यो आलेख लेख्न बाध्य तुल्यायो । देशभर प्रतिदिन भैरहेको जातीभेद् विरुद्धको सडक आन्दोलनलाई नजरअन्दाज गर्दै आफु स्वंम काठमाडौंमा संघर्ष गरी रहेको सचेत युवा विचारलाई बन्धकी बनाएर मौन बस्नु आफै माथि अन्याय हुने ठानेर समाजको मनोविज्ञानलाई केही उधिन्ने प्रयास गरेको छु ।

नेपालमा तत्कालिन नेकपा माओबादीले सुरु गरेको १० वर्षे जनयुद्ध र जनयुद्धको जगमा भएको ०६२/०६३ को १९ दिने जनान्दोलन पश्चात देशमा गणतन्त्र आयो,संबिधान बन्यो,तिन वटै तहका सरकार गठन भई संबिधान कार्यान्वयको चरणमा रहेपछि नेपाली जनताहरुले ठाने अबका दिनहरु सुख र समृद्धिका हुनेछन् । विकासले गती लिनेछ । सामाजिक न्यायसहितको अधिकार, समानुपातिक समाबेशीताको सिद्धान्त अनुरुप राज्य सत्तामा प्रतिनिधित्व हुनेछ । शिक्षा,स्वास्थ्य र रोजगारमा समान अबसर प्राप्त हुनेछन । संबिधानमा दलितहरुका अधिकारलाई मौलिक हकको रुपमा सुनिश्चित गरिए पनि व्यवहारतः फगत सावित भयो । व्यवस्था फेरियो तर शासकहरुको चरित्र फेरिएन त्यसैको परिणाम संबैधानिक व्यवस्थाभन्दा व्यवहार हावि हुन थाल्यो पछिल्ला घटनाक्रमले यो पुष्टि गरेको छ ।

समाजमा मौजुदा विभिन्न समस्याहरुमध्ये प्रमुख जातिय समस्या हो । ३५ सय बर्षदेखि छुवाछुत जस्तो सामाजिक कुप्रथा कायम छ । यस्को अन्त्यका लागि विभिन्न कालखण्डहरुमा आन्दोलनहरु हुदै आएका छन् । तर पनि निर्णायक बिन्दुमा पुग्न नसकेरै तुहिएका छन् । दलित अगुवाहरुको व्यक्तिगत स्वार्थलाभका कारण आन्दोलनले निर्णायक रुप लिन नसक्दा समाजमा जरो गाडेर रहेको छुवाछुत झन मौलाउदै गएको छ ।

सर्वप्रथम प्रसंग थालौ समाजभित्र ‘म’ व्यक्तिगत कुरा गर्दा के भनेर तर्क राख्नु । दलित,नेपाली,दमाई,मधेशी,गरिब वा बेरोजगार युवा हुँ भनेर ? के भनेर परिचय दिउ ????

तर जे भने पनि मैले आफ्नो विचार राख्न पाउनु पर्छ । किनकी म सर्वप्रथम मानिस (मन्युष्य) हुँ । एउटा मानिसले अर्को मानिसलाई केवल मानिसनै देख्ने हो । तर जब त्यहाँ नाम आउँ छ, तब उ नामले चिनिन्छ । जब व्यवहार उस्को हेर्दछौं, तब उ राम्रो कि नराम्रो भनेर चिनिन्छ । जब जातको कुरा आउँछ, त्यहाँ उस्को वर्ग, संस्कृती, रितिरिवाज, भेषभूषा आदि इत्यादि झल्काउँछ ।

तर यहाँ ठ्याकैं उल्टो छ । यो घटना २०७३ सालतिरको हो । म एउटा कलेजको विद्यार्थी थिए । त्यहाँ एक,दुई जना बाहेक कसैलाई मेरो थर थाहा थिएन । नयाँ देखी अग्रज सहपाठी र शिक्षकदेखि कलेज प्रमुख सम्मकाले मलाई राम्रो ठान्थे किनभने म गीत राम्रो गाउँथे, कविता लेख्थे, पढ्नमा पनि मध्यम थिए, राजनीतिमा पनि केही अग्रसरनै थिए, मेरो लगनशिलताले म राम्रो साथी, भाई, विद्यार्थी थिए । तर जब स्नातकतहको पहिलो वर्षको नतिजा आयो म उतिर्ण भए । मेरो शैशिक्ष प्रमाण पत्रमा त्रिभुवन विश्वविद्यालयले दिपेश दमाई भनेर लेखेको थियो । मेरो शैक्षिक प्रमाणपत्र बारे सोधखोज गरी सबैले मेरो थर थाहापाए । मेरो थरको परिचान खुलेपछि म एउटा अछुत विद्यार्थी सावित भए । थरको पहिचान खुलेपछि त्यसअघि जुन माया मैले पाउँथे त्यो पाइन । निरन्तर थुप्रै घटना भए जसका कारण मैले अध्ययनमा विराम लगाउनु पर्यो । जुन शिक्षाले मलाई ‘म’ भन्दा पनि दमाई, दलित, मधेशी, अछुत भनेर चिनाउँछ त्यो शिक्षा मैले किन अंगाल्ने ?

(तर विडम्बना हाम्रा अगुवाहरु यहि विभेदकारी शिक्षा चाहियो भनेर आन्दोलन गरिरहेका छन् ।)

मानिसको सबैभन्दा मुल्यवान चिज आत्मसम्मान हो । सम्मानलेनै मानिसको जिवनमा धेरै महत्व राखेको हुन्छ । सम्मान भएन भने मानिस पानि विनाको माछा सरह हुन्छ । सम्मान कुनै जात वा जातिले प्राप्त हुने कुरा होइन, यो त आफैले बनाउने वा हासिल गर्ने कुरा हो । मानिसले आफ्नो कर्म अनुसार सम्मान पाउने कुरा हो । अपराधिलाई कसैले पनि सम्मान दिदैन, यो कुरा त सबैलाई थाहा छ । तर यहाँ बुझनै गाह्रो ।

प्रसंग २०७५ सालतिरको हो । पहिलो पटक श्रमसँग जोडिदै थिए । काम सिक्दैं थिए । मेरो काम गराई र सिक्ने शैलीबाट ग्राहकदेखि व्यवसाय संचालक सबै खुशी थिए । छोटो समयमै सिप सिकेपछि मेरो नामसँग श्रमसंग सम्बन्धित नाम जोडियो ‘दिपेश डिजाइनर’ । त्यो श्रमको नाम जोडिएर म खुसी थिए । मेरा दिनहरु राम्रै लयमा चलिरहेका थिए । नेपाल सरकारले पान दर्ताको नियम ल्यायो र कम्पनिमा तलब, भत्ता आदि सबै बैंकिङ कारोबार अनुसार गर्नुपर्ने भयो । कम्पनीमा काम गर्ने र केही ग्राहकहरुले पनि मेरो थर थाहा पाएदेखी ……..ऊफ…….कुरै नगरौं मैले त्यो कम्पनी छोड्नु पर्यो ।

(तर बिडम्बना हाम्रा अगुवाहरु कुन सम्मानको लागि लडिरहेका छन् ? दिपेश दमाई वा दिपेश डिजाइनर ? त्यो यात मैले नबुझेको हुँ वा हाम्रा अग्रजहरुलाई थाहा छैन ?)

यस्ता थुप्रै घटनाहरु जीवनमा भोग्नु पर्यो जुन कल्पना बाहिर छ । तर एउटा घटना भने मैले भन्न जरुरी छ । यदि यस्को अर्थ अन्यथा नलागोस । मानिस एकै समाजमा बसेपछि जीवन जिउन र जीवनलाई सार्थक बनाउन विवाह महत्वपूर्ण मानिन्छ । विवाहले दुई व्यक्तिबीचको सम्बन्धलाई जोड्नुका साथै दुईवटा फरक पृष्ठभुमिको संस्कारलाई पनि जोडेको हुन्छ । जस्ले दुबै व्यक्तिको अस्थित्व स्थापित हुन्छ । मानिसले आफ्नो अस्थित्व समाजमा कायम गर्न बैवाहिक सम्बन्धलाई बैधानिक पद्धति बनाएको छ, जुन प्रसंसा योग्य छ । यस कार्यले मानिसलाई एक ठाउँ वाट अर्को ठाउँमा सजिलै आफ्नो अस्थित्व निर्माण गर्ने ठाउँ दिन्छ । मानिसको लागि अस्थित्व बनाउने थुप्रै पद्धतीहरुमध्ये विवाहनै विस्वाशिलो माध्यम हो जस्तो लाग्छ । दुईवटा समाज जोड्ने पुलभन्दा पनि फरक नपर्ला ।

बैवाहिक सम्बन्धले मानिसलाई एकले अर्काको भाषा,सँस्कृति र परम्परा बुझ्ने, सद्भाव साट्ने, सृष्टिको निरन्तरताका लागी यो सवैले मान्नै पर्ने चलन हो । मानिसहरुले एकले अर्कालाई बुझ्नु पर्छ अनि समाज विकसित हुन्छ र नयाँ समाजको सृजना हुन्छ । तर हाम्रो देश, समाजको कुरा गर्दा ठिक उल्टो छ ।

यो घटना २०७५ साल अन्तिमतिरको हो मेरो जीवन संगिनि पूर्व इलामको हुन । उनीसँग बैवाहिक सम्बन्धअघि हामी दुबै जना माईती घर गयौं । त्यहाँ हामी दुईको स्वागत सोचे भन्दा बढी थियो । माईतीपक्षले मलाई पूर्वेली संस्कार, संस्कृती वुझ्ने मौका दिनु भयो । त्यहाँको रहनसहन, भेषभूषा आदि प्रत्यक्ष बुझ्ने मौका पाए । पश्चिमतिरको मान्छे भनेर राम्रै व्यवहार गर्नुभयो । पश्चिमेली भनेर पश्चिमको रितिरिवाज, संस्कृति, संस्कार आदिको बारेमा म सँग साक्षात्कार हुनुभयो । मैले पश्चिमेली संस्कार सबै जानकारी गराए । छोरा जस्तै व्यवहार गर्नुभयो । मलाई लाग्यो पूर्वी नेपालमा पश्चिमको तुलनामा विकसित सोच भएका मानिसहरुको समाज रहेछ ।

जब बैवाहिक सम्बन्धको प्रसंग चल्यो । चिना मिलाउने भनियो । चिनामा भएको नाम, थर सोधिए अनुसार मैले ढुक्कसँग दिपेश दमाई भनिदिए । मेरो चिनाको भेद खुलेपछि माइती पक्षकाले ठाडै अस्वीकार नगरे पनि भन्नु भयो ‘भाई हामी यो समाजमा बस्नु पर्छ, समाजको रिती मानेनौ भने हाम्रो घरमा नाता कुटुम्ब आउन छोड्छन्, हाम्रो पानी चलाउदैनन् । हामीलाई समाजले बहिस्कार गर्छ’ । यो सुनेपछि मैले थाहा पाएकी दलितहरुमाथीको छुवाछुत कुनै व्यक्ति,ठाउँको कुरा होइन यो त यो त हिन्दु बणीवादी व्यवस्था अनुसार सृजित कुप्रथा हो । बर्णवादी व्यवस्था अनुसार जात,थरकाको आधारमा मान्छे छुत वा अछुत मानिन्छ ।

(तर बिडम्बना हाम्रा अगुवाहरु के का लागी लड्दैछन् ? संस्कृति (पश्चिमेली) का लागी वा दिपेश दमाईका लागी ? यो कुरा यात मैले बुझेको छैन वा अगुवाहरु, अभियान्ताहरुले बुझेका छैनन ।)

अब प्रसंग कोट्याउ समाजभित्र ‘दलित’ । के हो यो दलित भनेको ? कस्ले बनायो यो दलित शब्द ? कस्ले निर्माण ग¥यो दलित वर्ग ? मेरो अध्ययन र मेरो विचारमा यो शब्द कोल्मबिया युनिभर्सिटी र अक्सफोर्ड युनिभर्सिटीले खोजी गरेको शब्द हो । जस्को अर्थ समाजमा पिछडिएका, हेपिएका, चेपिएका व्यक्तिहरुलाई दिइएको उपनाम हो । यो शब्द कुनै जाति विशेषलाई दिइएको शब्द होइन ।

युरोपमा जब गुलामहरु किनबेच गरिन्थ्यो वा अमेरिकामा कालाजातिहरुलाई किनबेच गरिन्थ्यो त्यो बेला भएका विभिन्न आन्दोलहरुले तिनिहरुलाई स्वतन्त्र बनायो र त्यहाँका विद्धानहरुले दलित शब्द निर्माण गरे जुन समाजमा पिछडिएका, हेपिएका, चेपिएका व्यक्तिहरु समाजमा स्थिापित गर्न, एककृत गर्न प्रयोग गरिन्थ्यो । अहिले त्यो युरोप तथा अन्य मुलुकमा त्यत्ति प्रचलनमा छैन ।

यस्को बारेमा भारतीय सबिधान निर्माता डा.भिमराव अम्बेडकरले अध्ययनको क्रममा आफ्नो थेसिस (भारतमे जातिप्रथा) मा छुवाछुत गरिएको जातिलाई प्रतिविम्ब गर्ने शब्द दलितको प्रयोग गर्नु भएको थियो । जुन अहिले सबैले प्रयोग गर्छन् ।

भारतको आजाद भारत आन्दोलनको बेला डा.अम्बेडकरले यो छुवाछुत प्रथा हटाउन दलित शब्दको प्रयोग गरेर आन्दोलन गर्नुभयो । जसले एकहद सम्म छुवाछुत पिडितहरुलाई राहत मिल्यो । तर बिडम्बना केहि आरक्षण कोटा र केहि राजनैतिक सिट दिएर आन्दोलन तुहाइयो । डा.अम्बेडकरले जति गरेपनि छुवाछुत हट्ने स्थिति नदेखेपछि धर्म परिवर्तन गरेर बुद्ध दर्शन अंगालेर आफ्नो चित्त बुझाउने बाहेक अरु विकल्प रहेन । डा.अम्बेडकरको मृत्यु पश्चात भारतका हर कार्यालयका भित्ताहरुमा उहाँको फोटो टास्ने काम गरियो ।

नेपालको सन्दर्भमा सदियौदेखि कुप्रथाको रुपमा रहेको छुवाछुतको मुल जरा हिन्दु धर्मको हो । मनुस्मृतीले जात व्यवस्थाको सृजना गरेको हो । मैले यो भनिरहँदा पंंक्तिकार हिन्दु धर्म विरोधी, डलरबादी वा क्रिश्चियन भने पक्कै होइन् । तर मेरो बुझाई म सनातन धर्म मान्छु तर हिन्दु धर्मनै होइन त्यसैले मान्दिन । किनकी हिन्दु भनेको हिमालय बाट र सिन्धुघाटिबाट आएका मानिसहरु भारतमा बसोबास गरेकाले ब्रिटिसहरुले हिन्दु भनेका हुन् । यदि हामी हिन्दु धर्म मान्ने हो भने हामी स्वत भारतीय नागरिक हौं भन्दा फरक पर्दैन । बुद्ध नेपालमा जन्मेका हुन त्यसैले नेपालीको धर्म भनेको बुद्ध हुनु पर्ने हो । तर हाम्रो धर्म सनातन धर्म हो ।

जस्मा दुईटा भाग छ, पहिलो श्रुती (बेद, उपनिषद) जुन ऋषिमुनिहरुले तपश्याबाट प्राप्त ज्ञानहरु लेखेकाहुन्, भने दोस्रो स्मृती (महाभारत, भगवतगीता, रामायण, पुराण, मनुस्मृति) जुन मानिसहरुले लेखेका हुन् । र हामीलाई हाम्रै धर्म बाट टाढा राखियो । किनभने पहिले देखिनै हामीलाई श्रुतिको ज्ञान दिइएन । केबल स्मृतिको ज्ञान दिइयो । हाम्रो समाज मा मनुस्मृति जस्ता अधार्मीक किताबहरु घोकाइयो जस्को परिणाम मेरो पुस्तासम्मले भोग्नु परेको छ । जस्का कारण हामी अछुत भएका छौं । जस्का कारणले सनातन धर्म धमिलो फोहोर पानि सरह भएको छ ।

यहाँ मैले भन्न खोजेको चुरो कुरा हामी पौडि खेल्न सक्छौं भनेर समुन्द्रमा हामफालि रहेका छौं । जुन गलत छ । समुद्र मा पौडनका लागि पहिला पूर्ण तयारी हुन जरुरी छ ।

प्रकाशित मिति असार ३, २०७७, बुधबार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE