सोमवार, असार २९, २०७७
Monday, July 13, 2020

भरतपुर महानगरले गर्यो अन्तरजातीय विवाह गर्नेलाई पुरस्कारको व्यवस्था

चितवन १३ असार : अन्तरजातिय प्रेम सम्बन्धका कारण रुकुम पश्चिम,रुपन्देही लगायतका जिल्लाहरुमा हत्याका घटनाहरु भएका छन् । दलितसँग प्रेमसम्बन्ध वा विवाह गरेकै कारण दलित युवा युवतीको हत्या गरिने गरेको छ ।

जसको ज्वलन्त उदाहरण हुन्, रुकुम सोतीगाउँ नरसंहारका नवराज विक र रुपन्देहीकी अंगिरा पासी । उनीहरु दुबै जनाले अन्तरजातिय प्रेम सम्बन्धकै कारण ज्यान गुमाउनु पर्यो । त्यस्तै चार बर्ष अघि काभ्रेका अजित मिजारले पनि कथित ब्राम्हण समुदायकी युवतीसंग विवाह गर्दा उनको पनि ज्यान गयो ।

गैरदलितसंग अन्तरजातीय विवाह गरेकै कारण कतिपय युवा,युवतीहरु गाउँ समाजबाट लखेटिएका छन् । बाल विवाह,बेचविखनको किर्ते मुद्धामा जेलमा कैद भुक्तान गरि रहेका छन् । तर, चितवनको भरतपुर महानगरपालिकाले भने दलितसँग विवाह गर्ने जोडिलाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरेको छ ।

महानगरले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममै जातिय विभेद तथा छुवाछुतलाई न्यूनिकरण गर्ने उदेश्यले दलितसँग विवाह गर्ने युवा युवतीलाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिको भरतपुर महानगरपालिकाकाले जानकारी गराएको छ ।

महानगरले दिएको जानकारी अनुसार दलितसँग प्रेम विवाह गर्नेलाई ५० हजार र दलितसँग मागि विवाह गर्नेलाई एक लाख रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने गरी बजेटमै ब्यवस्था गरिएको छ ।

“देशमा भइरहेका जातिय विभेद र छुवाछूतका घटनालाई मध्यनजर गर्दै हामीले महानगरभित्र दलितसंग भागी विवाह गर्नेलाई ५० हजार र मागी विवाह गर्नेलाई एक लाख पुरस्कार दिने ब्यवस्था गरेका छौं, यसको लागि आवश्यक बजेट पनि छुट्याइनेछ”, प्रवक्ता अरुण भण्डारीले बताए ।

समाजमा दलित भनेर हेप्ने गैर दलितसंग विवाह गरे अस्विकार गर्दै दलितको हत्यासम्म गर्ने घटना भएकाले समाजमा जातिय सदभाव फैलाउन दलितसंग विवाह गर्नेलाई पुरस्कारको ब्यवस्था गरिएको प्रबक्ता भण्डारीले बताए।

कुसंस्कारका रुपमा समाजमा रहेको जातीय विभेद र छुवाछूतलाई निरुत्साहित गर्न र दलितसंग विवाह गर्ने जोडीलाई हौसलास्वरुप पुरस्कार दिने ब्यवस्था गरेको महानगरका मेयर रेणु दाहालले बताइन् ।

जातिय विभेद तथा छुवाछूतलाई न्यूनिकरण गर्नका लागि महानगरले लिएको यो नीतिलाई दलित अधिकारकर्मीहरुले स्वागतयोग्य भन्दै प्रशंसा गरेका छन् ।

यसअघि नेपाल सरकारतर्फबाट डा.बाबुराम भट्टराईले आफु प्रधानमन्त्री हुँदा दलितसंग विवाह गर्ने जोडीलाई १ लाख पुरस्कारको व्यवस्था गरेका थिए । तर, त्यसपछिका सरकारले उक्त व्यवस्थालाई हटाएका छन् । दलित अधिकारकर्मीहरुले समेत अन्तरजातिय विवाह गर्ने जोडीलाई सरकारले प्रोत्साहन गरेर पुरस्कृत गर्नुपर्ने आवाज पटक पटक उठाउँदै आएका छन् ।

सरकारको विभेदकारी मानिसकता र नीतिका कारणले अहिलेसम्म पनि नेपाली समाजमा जात प्रथा जरा गाडेर बसेको छ । जसका कारण मानव मानवबीच जातिय विभेद र छुवाछूत जस्तो कलँकति घटनाहरु दिनहुँ घटिरहेका छन् ।

सरकारले जातिय विभेदलाई दण्डित गर्ने कानुनी ब्यवस्था गरेपनि समाजमा दिनहुँ विभेदका घटना भइरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE