सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

सुदूरपश्चिममा ओल्के पर्व मनाउदैँ

सविना परियार डोटी, १ भदौ : आज भाद्र सङकान्ति सुदूरपश्चिमका नौवटै जिल्लामा ओल्के पर्व मनाईएको छ । विषु खानु मरुलो भनि ओलके खानु बाचुलो भनी भन्ने कथन अनुसार ओल्के पर्व मनाइएको हो ।

आजको दिनलाई बर्खायामको प्रकोप र महामारीबाट बचेर नया जीवनको प्राप्ती भएको खुशियालीमा ओल्के पर्व मनाईदै आएको जनविश्वास रहिआएको छ । डोटेली भाषामा ओलके भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ ।

आजका दिन विहानै नदी,ताल,छहरा वा पधेरोमा स्नान गरी विभिन्न परिकार बनाएर आफन्तलाई ओल्कोको रुपमा कर्कलो,चिचिण्डो,सागपात,फलफुल,अन्न दुध,दहि,घिउ,गुड र पकवान मान्यजन र आफन्त कहाँ लगेर आर्शिवाद थाप्न जाने चलन छ । विभिन्न मन्दिरमा नयाँ अन्न बाली ओल्केका रुपमा देवतालाई समेत चढाउने गरिन्छ ।

यो पर्व सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लाहरु छिमेकी देश भारतको कुमाउ गढवालमा समेत मनाइन्छ । ओल्के संकान्तिका दिन गाउँ नजिकका डाँडामा सबै जना मिलेर रुखका हागाबिगा झयाङ तथा अन्य बोटविरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ जसलाई स्थानीय भाषामा बुढी हालेको भनिन्छ ।

आजका दिन बुढी पोल्ने ठाउँमा विषेश गरी सल्लाको बोट र नभए अन्य बोट विरुवा काटेर बन्दनी गाड्ने गरिन्छ उक्तm बुढीलाई असोज १ गते मनाईने सुदूरपश्चिको अर्को महान पर्व बुढि संकान्तिको साझ सबै जना मिलेर एकैसाथ पोल्ने गरिन्छ ।

आफुभन्दा ठुलावडा मान्यजनलाई सम्मान स्वरुप गाभा कर्कलाको भित्री पात,चिचिण्डो,फलफुल आदि दिनु मिठो मसिनो खानु हातमा मेहेन्दी लगाउनु यो पर्वका विशेषता हुन् । वर्षायाम सकिएर विभिन्न चाडपर्व सुरु हुने हुदाँ यस पर्वलाई जेठो पर्वका रुपमा पनि लिने गर्दछन । आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर नजिकको पिपल चौतारामा पिङ खेल्ने,डेउडा खेल्ने,दिनभर रमाइलो गर्ने र बेलुका तिर बुढी हाल्ने गर्दछन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE