शुक्रबार, बैशाख ३, २०७८
Friday, April 16, 2021

आरोप लाग्ला भनेर कार्यक्रममा आए : मुख्यमन्त्री पौडेल

अमिर रामदाम,मकवानपुर,हेटौंडा १२ चैत्र : दलित समुदायको कार्यक्रममा आएन भन्ने आरोप लाग्ला भनेर कार्यक्रममा आएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन् ।

हेटौंडास्थित होटल एभोकाडो एण्ड अर्किड रिसोर्टमा बुधबार समता फाउण्डेशन नेपालले दलित मैत्री नीति तथा कार्यक्रम सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया आयोजना गरेको थियो । उक्त कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

उनले दलित समुदाय भित्र पनि विभेद तथा छुवाछुत रहेकोले सबैभन्दा पहिला त्यो विभेद अन्त्य हुनुपर्ने बताएका छन् । “हामी आफै भित्रबाट जातीय भेदभाव निर्मूल गर्न सक्दैनौँ, अरूलाई मात्र भनेर हुन्छ” मुख्यमन्त्री पौडेलले प्रश्न गरे । “मुलुकी ऐनले नै जातीय विभेद अन्त्य गरेको” उनले भने पचासौं वर्ष भयो कानुन बनेको तर हामीले पालना गर्न नसकेको बताएका छन् ।

जबसम्म सङ्गठित आवाज आउँदैन तब सम्म दलित समुदायको समस्या निराकरण नहुने उनले बताएका छन्। सबैकुरा परिवर्तन गर्न सकिन्छ तर संस्कारलाई परिवर्तन गर्न गाह्रो भइरहेको उनले बताएका छन् । त्यस्तै दलित सशक्तिकरण सम्बन्धी विधेयकको मस्यौदा मुख्यमन्त्री डोरमणी पौडेललाई हस्तान्तरण गरिएको छ ।

 

बागमती प्रदेशमा उक्त विधेयक ल्याउन सुझावसहित बुधबार समता फाउण्डेशनका कार्यकारी अध्यक्ष प्रदीप परियारले मुख्यमन्त्री पौडेललाई उक्त विधेयकको मस्यौदा हस्तान्तरण गरेका हुन् ।

समता फाउण्डेशनको तर्फबाट अधिवक्ता प्रकाश नेपालीले प्रस्तुत गरेको दलित सशक्तिकरण सम्बन्धी विधेयकको मस्यौदा ग्रहण गर्दै मुख्यमन्त्री पौडेलले उक्त विधेयक प्रदेश सरकारले आवश्यक छलफल गरी छिटै संसदबाट पास गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, प्रदेश सरकारका प्रमुख सचिव डा. मान बहादुर बिके, सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए ।

छलफलमा आफ्ना अनुभव सुनाउँदै दलित अधिकारकर्मीहरु रामकृष्ण देउला, जंगबहादुर विश्वकर्मा, कल्पना विश्वकर्मा, अमिर रामदाम, शुभलक्ष्मी विश्वकर्मा लगायतले अझै पनि विभेद अन्त्य हुन नसक्नु दुखद् कुरा रहेको बताएका छन् ।

कार्यक्रम मानवअधिकार तथा जातीय भेदभाव सरोकार केन्द्र नेपालका प्रतिनिधि एवम् राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमति प्रदेशका उपाध्यक्ष कमल कुमार विश्वकर्माले सहजीकरण गरेका थिए।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE