बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

हात्तीसहितको टोली सुस्तामै अड्कियो, बाढीले बगाएको ३ गैंडा भारतले नेपाल ल्याउन दिएन

२७ मंसिर, नवलपरासी । नारायणीमा आएको बाढीले बगाएर भारत पुर्याएका ३ गैंडा नेपाल फिर्ता गर्न भारतले आनाकानी गरेको छ ।

नेपाली सीमा आसपास भारतीय जंगलनजिकै रहेका ३ गैंडा फिर्ता गर्न नेपाली प्राविधिक टोलीले गरेको आग्रह भारतीय सुरक्षाकर्मीले इन्कार गरेका हुन् ।

भारतको केन्द्र सरकारबाट अनुमति नआएकाले गैंडा लैजान नमिल्ने तर्क भारतीय सुरक्षाकर्मीको छ ।

कुञ्जबाट विभाग हुँदै वन मन्त्रालयबाट परराष्ट्र मन्त्रालय र परराष्ट्रबाट भारतलाई गैंडा फिर्ता गर्न पत्राचार गरेको ३ महिना बढी भए पनि पत्रको जवाफ नआएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।

अघिल्लो वर्षको बाढी निकुञ्जमा पस्दा ११ गैंडा बगेर भारत पुगेका थिए । यस वर्ष पनि १ गैंडा बगाएको थियो ।
तीमध्ये ९ गैंडा बाढी रोकिने बित्तिकै नेपाल ल्याइए पनि ३ वटा गैंडा उसकै नियन्त्रणमा छन् । ती गैंडाहरुका लागि अहिले रोकिएको स्थान उपयुक्त वासस्थान नभएकोले ल्याउन थालिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताए ।

‘जंगली जनवारहरु जुन देशमा गए पनि त्यहाँ उपयुक्त वासस्थान छ भने संरक्षण गर्नु त्यो देशको जिम्मा हुन्छ ।
तर अहिले रोकिएको ३ वटा गैडा भएको क्षेत्र घाँसे मैदान, तालतलैया, जंगल नभएको चुरेको डाँडो भएकोले उक्त क्षेत्र गैडाका लागि उपयुक्त वासस्थान होइन ।

ती गैंडाहरु सुस्ता पारी र बाल्मिकि आश्रमको आसपासको क्षेत्रमा रहेका छन् । जुन भारतले अतिक्रमण गरेर विवादित बनाएको भूमि हो । हात्तीसहितको टोली सुस्तामै रहेको छ । गैंडाको सुरक्षाका लागि नेपालको तर्फबाट सुस्तामा रहेको सशस्त्र प्रहरी खटिरहेको छ ।