आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

अनुदानको चामल महँगो भएपछि जनताले किनेनन्

रामचन्द्र न्यौपाने डोल्पा साउन ९ । हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि सर्वसाधारणले किन्नै छोडेका छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्य संस्थानबाट चामल वितरण गर्ने गरेको छ ।

जापान सरकारले अनुदानमा दिएको चामलको मूल्य बजारको भन्दा महँगो भएपछि खाद्यको चामल बिक्री हुन छाडेको हो । प्रतिकेजी ६५ रुपैयाँमा बिक्री गर्न केन्द्रले मूल्य निर्धारण गरेपछि महँगो भन्दै किन्न नमानेको नेपाल खाद्य संस्थान डोल्पा शाखाले जनाएको छ ।

जिल्लाको दुनै शाखा, सर्मी डिपो र जुफाल डिपोमा आएको ३ हजार ५ सय १५ क्विन्टल जापानी चामल बिक्री भएको छैन । ०७२र७३ मा ५० रुपैयाँ प्रतिकेजीमा बिक्री भएको जापानी चामलको मूल्य यस वर्ष प्रतिकेजी १५ रुपैयाँले वृद्धि भएको हो । मूल्यवृद्धिपछि ग्राहकले किन्न नमानेको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोशीले जानकारी दिए ।

पहिलोपटक ८ जातको चामल अनुदानमा
डोल्पामा पहिलोपटक ८ जातको चामल खाद्यले वितरण गरेको छ । बजारमा आउनेभन्दा गुणस्तर भएको चामल वितरण गर्ने गरेको शाखाका प्रमुख जोशीले जानकारी दिए । उनले भने, ‘मूल्य अलि महँगो छ, तर बजारको भन्दा राम्रो गुणस्तरको चामल खाद्यले अनुदानमा दिने गरेको छ ।’ हाल डोल्पाको शाखा र डिपोबाट सोना मनसुली प्रतिकेजी ६० रुपैयाँ, मध्यम ६०, मकावनपुरे ५२, मोटा ५१, जिरा–मसिनो ७०, गोरखनाथ ६५ र उसिना ३५ रुपैया प्रतिकेजीमा बिक्री गर्दै आएको छ ।

मूल्य घटाउन पत्राचार
जापानी चामल नबिकेपछि मूल्य समायोजनका लागि आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानमा पत्राचार गरिएको जिल्ला समन्वय समिति प्रमुख शेरबहादुर बुढाले बताए । ‘सरकारले दिएको अनुदानको चामल नै बजारको भन्दा महँगो भयो । त्यसैले मूल्य समायोजन गर्न पत्राचार गरेका छौँ,’ उनले भने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE