बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

धनगढी विमानस्थलमा आधुनिक उपकरण राख्ने तयारी

तेजराज भट्ट धनगढी, साउन ११ । धनगढी विमानस्थलमा रात्रिकालीन उडान र अवतरण गर्न सकिने आधुनिक उपकरण राख्ने तयारी गरिएको छ । वर्षायामलगत्तै उपकरण जडान गरिने नागरिक उड्डयन प्राधिकरण धनगढीले जनाएको छ ।

जापान सरकारको सहयोगमा कम ‘भिजिबिलिटी’ र राति पनि गर्न सकिने भिओआर (भिएचएफ ओम्निडाइरेक्सनल रेन्ज)-डिएमई (डिस्टेन्स मिजरिङ इक्युपमेन्ट) जडान गर्न लागिएको हो । यसका लागि जापानी सहयोग नियोग (जाइका) को टोलीले प्राविधिक अध्ययन गरिसकेको छ ।

त्यस्तै, उपकरण राख्नका लागि आवश्यक जग्गा अधिग्रहण गरिएको प्राधिकरणले जनाएको छ । ‘आवश्यक जग्गा अधिग्रहण गरिसकेका छौँ । अहिले माटो भर्ने र तारबार लगाउने काम भइरहेको छ,’ प्राधिरकण धनगढीका प्रमुख छवि ठगुन्नाले भने, ‘वर्षायाम सकिएलगत्तै उपकरण जडानको काम सुरु हुन्छ ।’

जाइकाको प्राविधिक टोलीले अध्ययन गरेर वर्षायामलगत्तै जडानको कार्य सुरु गर्ने भएको हो । सात–आठ महिनाभित्रै यो काम पूरा हुने ठगुन्नाले बताए । यसमा दश करोडाभन्दा बढी खर्च लाग्ने जनाएको छ । यससँगै विमानस्थलमा एप्रोचलाइट पनि राखिने भएको छ ।

रात्रिकालीन उडान गर्न सकिने
भिओआर–डिएमई उपकरण जडान भएपछि धनगढी विमानस्थलमा रात्रिकालीन उडान गर्न सकिनेछ । यो उपकरणको अभावमा हिउँदमा बाक्लो हुस्सु लाग्दा पनि उडान रद्द हुदै आएको छ ।

बुद्ध एयरले भने केही ‘सेटलाइट बेस’ मा बेलुकी पनि उडान गरिरहेको छ । अहिले धनगढी–काठमाडौं दैनिक पाँच उडान हुने गरेका छन् । धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग गर्दै आएका यहाँका पर्यटन व्यवसायीले भिओआर–डिएमई जडान विमानस्थलको स्तरोन्नतिका लागि पनि महत्वपूर्ण हुने बताएका छन् ।

१७ बिघा जग्गा अधिग्रहण
भिओआररडिएमई उपकरण जडानका लागि प्राधिकरणले विमानस्थलको धावनमार्गदेखि पूर्व १७ बिघा चार कट्ठा साढे आठ धुर जग्गा अधिग्रहण गरेको छ । यसमध्ये एक बिघा जग्गा मात्रै प्राधिकरणको स्वामित्वमा आउन बाँकी छ ।

नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख ठगुन्नाले चारजनालाई मात्रै मुआब्जा दिन बाँकी रहेको बताए । मुआब्जा दिन बाँकी जग्गामा पनि माटो भर्ने र तारबारको काम भइरहेको जनाइएको छ । नयाँपत्रिकाबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE