बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

कैलालीको नदीमा डल्फिन गणना

धनगढी १३ साउन । बर्खा याममा कैलालीको विभिन्न नदीमा देखिने दुर्लभ गङ्गेटिक प्रजातिका डल्फिनको शनिवार गणना गरिएको छ ।  स्थानीय डल्फिन संरक्षण केन्द्र कैलालीको सहकार्यमा नेपाल जैविक विविधता समाजले डल्फिनको गणना गरेको हो । गणना कार्यमा स्थानीय संरक्षणकर्मी सहित वन्यजन्तु विज्ञहरुको टोली खटेको थियो ।

विभिन्न नदीको ३७ वटा घाटमा एकसाथ डल्फिनको गणना गरिएको छ । गणनाको क्रममा २४ वटा घाटमा वयस्क, बच्चा सहित ४७ वटा डल्फिन देखा परेको वन्यजन्तु विज्ञ समेत रहनु भएका समाजका अध्यक्ष डा.मुकेशकुमार चालिसेले जानकारी दिए । उनले १३ वटा घाटमा भने डल्फिन फेला नपरेको बताए ।

‘सबैभन्दा बढी बैदी स्थित मोहना–पथरैया नदीको दोभान डल्फिन देखा परे’, डा.चालिसेले भने–‘नदीमा पानी कम भएकाले १३ ठाउँमा भने डल्फिन देखिएनन् ।’

शनिवार विहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा डल्फिन गणना गरिएको हो । पथरैया नदीको वाणी घाटसम्म, मोहना नदीको माथिल्लो क्षेत्र छोटी पलियासम्म र तल्लो तटीय क्षेत्रमा मोहना–कर्णाली मिल्ने ठाउँसम्म डल्फिन गणना गरिएको डल्फिन संरक्षण केन्द्र कैलालीका सचिव विजयराज श्रेष्ठले जानकारी दिए । उनले नदीमा पानीको सतह कम हुँदा पनि राम्रो सङ्ख्यामा डल्फिन देखिएको बताए ।

यसअघि, सन २०१६ मा बर्खा याममा नै गर्दा यहाँका विभिन्न नदीहरुमा बच्चा र वयस्क सहित ६२ डल्फिन अभिलेख गरिएको थियो । बर्खा याममा कैलालीमा डल्फिनको उपस्थिति राम्रै हुने गरे पनि अरु बेला गहिराई खोज्दै तल जाने गरेको विज्ञहरुको बुझाइ छ । डल्फिन गणकार्यमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका जैविक विविधता समाज नेपालका सदस्य सुनिल खतिवडा सहित स्थानीय संरक्षणकर्मीको सहभागिता रहेको थियो ।

कैलालीमा विगत दुई दशकदेखि संरक्षणकर्मी भोजराज श्रेष्ठ (गुलेली बाजे) को नेतृत्वमा डल्फिनको संरक्षण भइरहेको छ । यो कार्यमा स्थानीयहरुको सहभागिता बढ्दै गएको छ । स्थानीयस्तरबाट संरक्षणको प्रयास प्रशंसनीय भए पनि नदीको गहिराई घट्दै जानु, ठूलो जालको प्रयोगले माछा मारिनु, विषादी हाल्नु लगायतका कारणले चुनौती पनि थपिदैं गएको डा। चालिसेले बताए । ‘डल्फिन संरक्षण गर्नका लागि सबैभन्दा पहिले नदीको गहिराईलाई नै जोगाउन बहुत जरुरी छ’, उनले भने ।

विश्वमै दुर्लभ मानिएको स्वच्छ पानीमा मात्रै बस्न रुचाउने गङ्गेटिक डल्फिनलाई कैलालीमा नजिकबाट अवलोकन गर्न पाईन्छ । यसवर्ष अहिलेसम्म पाँच जना विदेशी आएर डल्फिन अवलोकन गरेको डल्फिन उप–संरक्षण केन्द्रका भोजराज ढुङगानाले जानकारी दिए ।

उनका अनुसार इङल्याण्डका जोनी स्पार्शटको लगातार डल्फिन अवलोकन गर्दै आएको यसपटक १० वर्ष पुगेको छ । यसैगरी, डेनमार्क र क्यानडाका दुई-दुई जना विदेशी पर्यटक आएर डल्फिन अवलोकन गरेका छन् ।‘स्वदेशी अवलोकनकर्ताको सङ्ख्या भने हालसम्म दुई सयभन्दा बढी पुगेको छ’, ढुङगानाले उनले भने । पश्चिमटुडेबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE