बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

‘गाेपी’मा थपिइन् वर्षा

काठमाडौं,साउन १४ । छायांकनको तरखरमा रहेको फिल्म ‘गोपी’मा नायिकाका रुपमा वर्षा सिवाकोटी पनि जोडिएकी छिन्। फिल्ममा मुख्य अभिनेता खगेन्द्र लामिछानेले दुई अभिनेत्रीसँग ‘रोमान्स’ गर्नेछन्। अर्की अभिनेत्री सुरक्षा पन्त हुन्।

‘गोपी’को पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई कास्ट गरिएको निर्देशक दीपेन्द्र लामाले बताए। फिल्मको घोषणा हुँदा खगेन्द्र र सुरक्षामात्र अनुबन्धित भएका थिए। निर्देशक दीपेन्द्रका अनुसार पटकथालाई सुहाउने भएकीले वर्षालाई लिइएको हो। दुई नायिका भए पनि यो त्रिकोणात्मक प्रेमकथा भने नरहेको उनले जानकारी दिए।

खगेन्द्रले यसअघि वर्षासँग ‘पशुपति प्रसाद’ र सुरक्षासँग ‘धनपति’मा अभिनय गरिसकेका छन्। आफ्ना अघिल्ला नायिकाहरुसँग फेरि एकसाथ एउटै फिल्ममा काम गर्न पाउँदा खगेन्द्रलाई खुसी छन्। ‘यो रमाइलो संयोग हुनपुग्यो, वर्षा र सुरक्षा दुवैसँग पहिला काम गर्दा राम्रो अनुभव भएको थियो, यसपालि पनि पक्कै राम्रो हुनेमा म विश्वस्त छु,’ खगेन्द्रले भने।

वर्षा र सुरक्षाले भर्खरै रिलिज भएको फिल्म ‘भैरे’मा सँगै काम गरेका थिए। ‘पशुपति प्रसाद’मा खगेन्द्र दाइसँग काम गरे पनि खासै स्क्रिन सेयर गर्न पाएकी थिइन, तर गोपीमा दर्शकले उहाँ र मेरो केमिस्ट्री अलि बढी नै हेर्न पाउनुहुनेछ,’ वर्षाले भनिन्।

वर्षाको आगमनले फिल्ममा ग्ल्यामर थपिएको महसुस गर्छिन् सुरक्षा। ‘पछिल्लो समयका सुन्दर अभिनेत्रीमध्ये एक पर्छिन् वर्षा, उनी पनि ‘गोपी’मा जोडिएको खबरले म उत्साही छु,’ सुरक्षाले बताइन्। आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’को छायांकन आगामी भदौ १ गते काठमाडौंमा सुरु हुँदैछ।

फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ। फिल्मलाई आगामी चैत १५ गते रिलिज गर्ने विषयमा वितरकसँग सहमति भएको कार्यकारी निर्माता श्रीधरले बताए। न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने फिल्मका गीतहरु विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन्। कल्याणको संगीत रहेको गीत शिव परियारले गाएका छन् भने अरु दुई गीतका गायकगायिका टुंगो लाग्न बाँकी छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE