शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

चार बर्षभित्र अन्तरिक्षमा मानव पठाउने भारतको योजना

काठमाडौँ साउन ३० । भारतीय प्रधानमन्त्री पाँच वर्षभित्र अन्तरिक्षमा भारतको तर्फबाट यात्री पठाउने घोषणा गरेका छन्। छिमेकी चीनले सन् २००३ मा मानवसहितको अन्तरिक्षयान पठाउन सफलता प्राप्त गरेको थियो।

भारतको ७२ औँ स्वतन्त्रता दिवसको अवसरमा बुधबार दिल्लीस्थित लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले सन् २०२२ अघि नै अन्तरिक्षयात्री पुर्‍याउने बताए।

संभव भएसम्म सन् २०२२ अघि नै अन्तरिक्षमा मानवसहितको ‘गगनयान’ नामक स्वतन्त्र अन्तरिक्ष मिसन सञ्चालन गर्ने बताए।

भारतले सन् २०२२ मा ७५ औँ स्वतन्त्रता दिवस मनाउनुअघि, सम्भव भए त्यो अघि नै भारतीय झण्डा बोकेका भारतीय छोरा वा छोरी सहित अन्तरिक्ष जाने दावी गरे।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) का अध्यक्ष के सिभनले अन्तरिक्षमा मानव पठाउने परियोजना सम्बन्धमा काम भइरहेको जानकारी गराए।

समाचार एजेन्सी ‘एएनआइ’ सँग कुरा गर्दै उनले ‘प्रधानमन्त्रीले सन् २०२२ सम्मको लक्ष्य दिएको’ बताउँदै त्यसलाई पुरा गर्ने दायित्व आफूहरुको भएको बताए।

‘हामीले केही काम यसअघि नै शुरु गरेर ‘क्रु मोड्युल’ र ‘स्केप सिस्टम’ सहित धेरै प्राविधिक काम पुरा गरेका छौँ’ सिभनले भने, ‘यो परियोजना कार्यान्वयनको चरणमा रहेको छ।’

‘गगनयान’ भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) को पहिलो मानवसहितको अन्तरिक्ष मिसन हुने पनि उनले बताए।

मानवसहितको अन्तरिक्ष अभियानमा भारत सफल भए तत्कालीन सोभियत संघ (रुस), अमेरिका र चीनपछि य चौथोँ देश बन्ने छ।

तत्कालीन सोभियत संघले युरी गागरिनलाई अन्तरीक्षमा पठाएको थियो।त्यसको एक महिनापछि नै अमेरिकाले पनि अन्तरिक्षमा मानवसहितको यान पठायो।

सोभियत संघ र अमेरिकाले पठाएको झण्डै चार दशकपछि चीनले सन् २००३ मा मानवलाई अन्तरिक्षमा पठाउन सफल भएको थियो।

शीतयुद्धको समयमा सोभियत र अमेरिकाबीच जस्तै अन्तरिक्ष कार्यक्रममा भारत र चीनबीच प्रतिस्पर्धा रहेको छ ।

भारतले सबैभन्दा पहिले सन् १९७५ मा पहिलो पटक भू उपग्रह (स्याटलाइट) अन्तरिक्षमा पठाएको थियो।

भारतले सन २००८ मा चन्द्रयान पठाएको थियो, जसले चन्द्रमाको भूभागमा पानीका कणहरु भेटेको थियो।

त्यसैगरी, सन् २०१४ मा मंगलग्रहको कक्षमा मंगलयान राख्न सफल भएको थियो।

त्यसै वर्षको शुरुमा भारतले ‘चन्द्रयान-२’ पठाउने भनेपनि अन्तरिक्षयानको डिजाइनमा परिवर्तन गर्ने भन्दै पटक पटक प्रक्षेपणको समय सार्दै आएको छ।

आइएसआरले चन्द्रयान २ यसै वर्ष प्रक्षेपण गर्ने जनाएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE