बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

महेन्द्रनगर बजार दिनभर तनावग्रस्त

धनगढी ६ भदौ । कञ्चनपुर प्रहरीले १३ वर्षीया बालिका निर्मला पन्तको हत्याका अभियुक्त भन्दै ४१ वर्षीय दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा तनाव बढेको छ ।

प्रहरीले मानसिक सन्तुलन ठीक नरहेको व्यक्तिलाई अभियुक्त बनाएर घटनामा संलग्नलाई उम्काउन खोजेको भन्दै महेन्द्रनगरवासी, नागरिक समाज, विद्यार्थी, व्यापारी लगायत आन्दोलित भएका छन् । उनीहरुले मंगलवार बिहानैदेखि बजार ठप्प पारेपछि महेन्द्रनगर बजार दिनभर तनावग्रस्त रह्यौ । यातायात, शिक्षण संघसंस्था सबै बन्द गरिएको छ । व्यापारीहरु आफ्नो व्यापार व्यवसाय बन्द गरेर स्वस्फूर्त रुपमा आन्दोलनमा होमिएका छन् ।

आक्रोसित प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखविरुद्व नाराबाजी गरेका थिए । प्रशासन कार्यालयमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयको मुलगेट तोडेर भित्र जाने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले ११ राउण्ड अश्रुग्यास प्रहार गरिएको जनाए । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर २ प्रहरी जवान घाइते समेत भएको प्रहरीले जनाएको छ । भागदौडका क्रममा केही प्रदर्शनकारीलाईसमेत चोट लागेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रशासन अघिको आन्दोलनकारीहरुको भीड तितरबितर भएको थियो ।

१३ वर्षीया बालिका निर्मलाको हत्या भएको तीन सातासम्म अभियुक्त प्रक्राउ गर्न नसकेको भन्दै दिनहुँ आन्दोलन हुँदै आएको थियो । हत्यारा सार्वजनिक गर्नुपर्ने मागसहित नागरिक संघर्ष समितिको नेतृत्वमा प्रशासन कार्यालय अघि भइरहेको रिले अनशन जारी छ ।

प्रहरीले निर्मलाको बलात्कार गरी हत्या गरिएको अभियोगमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दीलिप सिंह विष्टलाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थियो । उनलाई सार्वजनिक गरेपछि घटनाले झनै अर्कै मोड लिएको छ । २६ औं दिनसम्म समेत हत्यारा पक्राउ गर्न नसकेको अवस्थामा बढ्दो दबाव कम गर्न मानसिक सन्तुलन ठीक नभएको व्यक्तिलाई पक्राउ गरी प्रहरीले दोषीलाई जोगाउन खोजेको आन्दोलनकारीको आरोप छ ।

घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका विष्टको मानसिक अवस्था ठीक नरहेको भन्दै अधिकारकर्मी पुनम चन्दले घटनाबाट जोगिनका लागि प्रहरीले गरेको कार्य खेदजनक रहेको बताइन् । ‘अब आन्दोलन अझ सशक्त हुनेछ’, उनले भनिन् ।

सोमबार हत्याका अभियुक्त सार्वजनिक गरिएपछि मंगलबार बिहानैदेखि महेन्द्रनगरमा स्वःस्फूर्त व्यापारी र सर्वसाधारणले दोषीलाई उन्मुक्ति दिई निर्दोषलाई फसाउन नहुने भन्दै विरोधमा आन्दोलनमा उत्रिएका हुन् । सोमवार अभियुक्त सार्वजनिक गर्दै प्रहरीले अभियुक्तले आरोप स्वीकार गरेको र केही प्रमाणसमेत फेला परेको दावी गरेको थियो । तर पक्राउ गरिएका दिलीपसिंह विष्टले अदालतमा म्याद थपका लागि लाँदा न्यायाधीशसमक्ष आफूलाई फसाउन खोजिएको भन्दै आरोप स्वीकार गरेका बताइएको छ ।

विष्टलाई अनुसन्धानका लागि भन्दै १० दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । निर्मलाको बलात्कार र हत्या कहाँ र कसरी भयो भन्नेबारे प्रहरीले अझै प्रष्ट खुलाउन सकेको छैन । म्याद थपपछि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

पक्राउ दिलीपका नाममा किटानी जाहेरी दिन प्रहरीले हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारलाई समेत दवाव दिएको बुझिएको छ । बालिकाका परिवारले भने किटानी जाहेरी दिएका छैनन् । प्रहरीले अभियोग लगाएका व्यक्ति मानसिक रुपमा ठिक नभएकाले उनले एक्लैले घटना गराएको विषयमा स्थानीय विश्वस्त देखिएका छैैनन् ।
मुल सडकबाट करिब २ सय मिटरको दुरीमा कसरी लगेर बलात्कार गरी हत्या गर्न ती युवक सफल भए भन्ने प्रश्नको जवाफ समेत प्रहरीले दिन सकेको छैन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका क्रममा निर्मलाको हत्या दिलीपसिंह विष्टले नै गरेको निष्कर्ष निकाल्दै उनलाई सार्वजनिक गरेको थियो । साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला अर्को दिन भीमदत्त नगरपालिकाको वडा नम्बर १८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पूर्व–उत्तरतर्फको उखुबारीमा मृत फेला परेकी थिइन् ।

मानसिक सन्तुलन ठीक नभएको व्यक्तिले निर्मलाको फुत्केको साइकलको चैन बनाएर सुनसान भएको मौका छोपी बलात्कार गरेको प्रहरीले सोमवार अभिव्यक्ति दिएको थियो । बालिकाको यौनाङ्गबाट रगत आएपछि पक्राउ पर्ने डरले हत्या गरेको समेत बताइएको थियो । मानसिक सन्तुलन ठीक नभएका व्यक्तिका बारेमा भनिएका यस्ता केही कुरा शंकाष्पद् र पत्याउन नसकिने रहेको स्थानीयको दावी छ ।

मृतक बालिकाका बुवा यज्ञराजले पनि सार्वजनिक गरिएको व्यक्ति नै घटना घटाएको हो भन्नेबारे विश्वास गर्न नसकेको बताए । उनले छोरीको वास्तविक अपराधीलाई पक्राउ गर्नु पर्ने जोड दिदैं भने–‘पक्राउ परेका अभियुक्तको नाममा किटानी जाहेरी दिन प्रहरीले मलाई दबाव दिएको थियो ।’ यसैगरी, दिलीपका दाजु खड्गसिंह विष्टले पनि मानसिक रूपमा ठीक नरहेका आफ्नो भाइलाई हत्यारा बनाई घटनाका मुख्य दोषी उम्काउन खोजेको आरोप लगाएका छन् ।

प्रहरीले वास्तविक दोषीलाई पक्राउ गरी सार्वजनिक गर्नु पर्ने भन्दै आन्दोलन चर्केपछि मंगलवार आन्दोलनकारी र प्रहरीबीच पटक–पटक झडपको स्थिति सृजना भएको थियो । प्रहरीले भने धेरै प्रमाणको आधारमा अभियुक्त पुष्टि गरेरमात्रै सार्वजनिक गरेको दावी गरेको छ । उत्पन्न परिस्थितिलाई हल गर्नका लागि मंगलवार साँझ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सर्वदलीय बैठक बसेको थियो । पश्चिमटुडेबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE