आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

कैलालीमा बढ्दो बलात्कार

धनगढी १९ भदौ । कसैको छोरीचेली वा श्रीमती एउटा घरमा एक्लै बस्ने गरेका छन् ? यदि, त्यस्तो छ, भने अभिभावक वा श्रीमानसंगै बस्न थाल्नुहोस । कोही बालिका वा महिलालाई सुनसान बाटो वा साँझपख घरबाहिर एक्लै हिड्ने बानी छ, भने त्यो पनि रोक्नुहोस । किनभने, यस्ता अवस्थाले बालिका, युवती, महिलामाथि बलात्कार हुन सक्छ । र, आफन्त, छिमेकी, साथी वा जो कोही यौनपिपासु बन्न सक्छन् ।

घरमा महिला एक्लो हुँदा वा साँझपख बाहिर डुल्डा सुरक्षित नरहेको तथ्य कैलालीमा घटेका बलात्कारका घटनाहरुबाट पुष्टी गर्न सकिन्छ । यस्तो अवस्थाले बलात्कार हुन सक्ने वातावरणको सृजना भइ यौनपिपासु जाइ लाग्ने भएकाले सजगता अपनाउनु पर्ने सन्देश पनि घटनाक्रमले दिएका छन् ।

भदौ १३ गते कैलालीको घोडाघोडी नगरपालिकाकी एक १४ वर्षीया बालिका राति घरमा एक्लै रहेकी थिइन् । आफन्त पर्ने छिकेकी ३२ वर्षीय हर्क भन्ने हरिशबहादुर कुँवरको गिद्धेदृष्टि प¥यो, उनीमाथि । यौनपिपासु हरिशले कोही नभएको मौका छोपेर राति करिब १० बजेतिर बालिकामाथि बलात्कार ग¥यो । बालिकाको हात बाँधी मुखमा कपडा कोचेर बलात्कार गरेका हरिश बालिका मरेको ठानी आफ्नो घरमा ढुक्कसंग रात काटे ।

बिहानमात्रै फरार भएका उनी अन्ततः प्रहरी फन्दामा परेका छन् । उनलाई कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० स्थित चुहाबाट प्रहरीले आइतवार पक्राउ गरेको हो । पीडक व्यक्ति पीडित बालिकाकी साथीकै बुवा हुन र आफन्त पनि । हरिशले बलात्कार गरेपछि बेहोस भएकी बालिकाको राति १ बजेमात्रै होस आएको थियो । होस खुलेपछि उनले पहाडमा भएका आमाबुवालाई राति नै फोन गरेर घटनाको जनाउ दिएकी थिइन् । अहिले पीडित बालिकालाई धनगढी स्थित ओरेकको सेफ हाउसमा राखिएको छ ।

पक्राउ परेका हरिशमाथि अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ ख बमोजिम १४ वर्षदेखि १६ वर्ष कैद सजाय हुने जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

यसैगरी, आइतवार बिहान १० बजे एक घरको दिदी बिहिनीमाथि बलात्कारको प्रयास गरेका धनगढी उपमहानगरपालिका–६ जालीका २२ वर्षीय अनिल चौधरी पनि पक्राउ परेका छन् । दिदीबिहिनीमात्रै रहेको अवस्थामा उनीहरुका घरमा गएका अनिलले नुहाई रहेकी १३ वर्षीया बालिकालाई झम्टेका थिए । प्रहरीको अनुसार बालिका चिच्याएपछि घरभित्र पसेका उनले १४ वर्षीया बालिकामाथि पनि त्यहि प्रयास गरे । दुवै बालिकाले जोड जोडले चिच्याएपछि जम्मा भएका स्थानीयले अनिललाई पक्रेर प्रहरीको जिम्मा लगाएका हुन ।

शनिवारमात्रै सोही ठाउँमा बलात्कार घटना न्यूनीकरण सम्बन्धी कैलाली प्रहरीले सचेतनामूलक कार्यक्रम गरेको थियो । जुन कार्यक्रममा सहभागी थिए, उनै अनिल पनि ।

कैलालीमा तत्कालै घटेको यी दुई प्रतिनिधि घटनामात्रै हुन । तर, घरमा बालिका, महिला एक्लै बस्दा, वा सुनसानको बेला एक्लै हिड्दा बलात्कार भएको थुप्रै उदाहरण छन् । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन पाएको छैन । यसबीचमा, कैलाली, कञ्चनपुर दुवै जिल्लामा बलात्कारका घटना बढेका छन् ।

यहाँ घटिरहेका घटनाक्रमले बलात्कार हुन सक्ने वातावरणको सृजना नै गर्न नहुने पाठ सिकाएको प्रहरीको समेत बुझाइ छ । ‘घरमा अभिभावक नहुँदा वा महिला सुनसानमा एक्लै हिड्दा यौन पिपासुले बलात्कार गरेको धेरै घटना छन्’, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने–‘खास गरेर बलात्कार हुन सक्ने वातावरण बनाउनु भएन । परिवार नै सतर्क हुन आवश्यक छ । यदि, त्यस्तो वातारण बन्यो भने यौन पिपासुले बलात्कार गर्न सक्छन् ।’ विगत र वर्तमानका घटनाक्रम केलाउँदा असहाय वा एक्लो देखिएकामाथि बलात्कार भइरहेको उनको बुझाइ छ ।

यहाँ बढ्दो बलात्कारले प्रहरी पनि चकित परेको छ । एक घटना सेलाउन नपाउँदै बलात्कारको अर्को घटना थपिदैं गएका छन् ।
आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म कैलालीमा १०३ वटा बलात्कारको घटना घटेको प्रहरीले तथ्याङ्क राखेको छ । यहि अवधिमा ४८ वटा बलात्कारको प्रयास भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा २६, आव २०७३/०७४ मा ३०, आव २०७४/०७५ मा ४१ र चालू आर्थिक वर्षको हालसम्म ६ वटा बलात्कारको घटना कैलालीमा घटेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।  बढ्दो बलात्कारको घटनाले समाज कुन दिशातिर गइरहेको छ, भन्ने विषय सोचनीय बनिसकेको प्रहरीको ठहर छ ।

‘यो गम्भीर भएर सोच्ने र अनुसन्धानकै विषय बनेको छ, प्रहरी उपरीक्षक घिमिरेले अगाडि थपे–‘किनभने घटना दिनप्रति दिन भइरहेका छन् ।’
पछिल्लो तीन महिनाको अवधिमा कैलालीको माया विक र कञ्चनपुरको निर्मला पन्त, कविता बिष्ट गरी तीन जनाको बलात्कारपछि हत्या समेत भएको छ । बलात्कारको घटना बढ्दै गएकाले बलात्कारीलाई सजाय दिनका लागि कडा कानून बनाउनु पर्ने मुलुकभरी आवाज समेत उठिरहेको छ ।
फरार आरोपी पक्राउ
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्त खड्कालाई बेलडाँडी क्षेत्रबाटै आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । शनिबार किशोरी बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले मानबहादुर विष्टलाई पक्राउ गरेको थियो । शुक्रबार राति घरमा पूजा भइरहेका बेला मोटरसाइकलमा लगी किशोरीलाई बलात्कार गरिएको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । पश्चिमटुडेबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE