बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

निभ्यो दृष्टि, तर रोकिइनन् सृष्टि

विश्वास खड्काथोकी असोज ७ गते । सबै कुरा ठीकठाक हुँदो हो त, सृष्टि केसी यतिबेला कालो कोट पहिरिएर अदालतमा बहस गरिरहेकी हुन्थिन् होला । किनभने उनको सपना थियो वकिल बन्ने । सपनाको त चाङ नै थियो, कलाकार बन्ने, गायक बन्ने, नर्तकी बन्ने, कवि बन्ने ।

तर, बुलेट ट्रेन जस्तै तीव्र रफ्तारमा दौडिरहेको उनको सपनामा त्यही बेला ठेस लाग्यो, जब आँखाको दृष्टि गुम्यो । सपना देख्ने आँखा नै गुम भयो । र, त्यही मोडमा आइपुगेपछि उनले सपना होइन, यथार्थमा बाच्नुपर्ने बोध गरिन् ।

जीवनका जिजीविषालाई एकातिर पन्छाएर उनी संघर्ष गर्न थालिन् । त्यो संघर्ष, जो उनी आफैंका निम्ति थियो ।

८ कक्षा पढ्दै गर्दा उनको आाखामा सामान्य समस्या देखियो । डाक्टरले त्यसलाई एलर्जी भनेर औषधी दिए । उनी आँखामा औषधी हाल्दै गइन्, तर, दृष्टि झन् मधुरो बन्दै गयो । बिस्तारै किताबका अक्षरहरु घिउकमिलाजस्ता देखिन थाले । तर, किताबलाई नाकमै ठोक्काएर भए पनि पढ्न छाडिनिन् । सहयोगी राखेर एसएलसी दिइन् । ७३ प्रतिशत अंक ल्याएर पास गरिन् । एसएलसी पास गर्दासम्म उनको दृष्टि पूरै बन्द भइसकेको थियो ।

अनेक डाक्टर फेर्दा पनि कुनै समाधान निस्किरहेको थिएन । आँखाको दृष्टि गुमिसकेपछि बाँकी पढाइ पूरा गर्नुपर्ने दायित्वले मात्र होइन, सुदूर भविष्यका खातिर पनि लड्नुपर्ने वाध्यता आइलाग्यो । यही वाध्यताले हिँड्न सिकायो, बाँच्न सिकायो, लड्न सिकायो ।

सृष्टि भन्ने गर्छिन्, ‘त्यसबेलासम्म तपाईंलाई आफू कति स्पिडमा दौडन सक्छु भन्ने थाहा हुँदैन, जबसम्म पछाडिबाट भोको बाघले लखेट्दैन । अरुबेला जति दौडिए पनि त्यो हाम्रो वास्तविक स्पिड होइन । बाघले लखेटेको बेला जुन रफ्तारमा दौडनुहुन्छ, त्यो तपाईंको रफ्तारको क्षमता हो ।’

यदि सबै ठीकठाक हुँदोहो त सृष्टिले आफ्नो क्षमता पहिचान गर्थिन् वा गर्दिनथिन् थाहा छैन । तर, जब सबै कुरा गडबड भयो, चुनौतीको ठूलो पहाड चढ्नुपर्ने वाध्यता आइलाग्यो । यही बाध्यताले हो, उनी आजको विन्दुसम्म आइपुगेकी ।

यो विन्दुसम्म आइपुग्न उनले जुन धरातल छिचोलेकी छन्, त्यो सामान्य हिम्मत, लगाव, संघर्ष र निरन्तरताले पुग्दैन ।

दृष्टि गुमेपछिका अवस्थामा उनले कठिनपूर्वक पढिन् । परीक्षामा राम्रो नतिजा हासिल गरिन् । तर, उनका लागि कलेजका ढोका बन्द थिए । एकातिर आफ्नै समस्यासँग जुध्नुपर्ने, अर्कोतिर सुन्दर भविष्यको रचना गर्नुपर्ने ।

त्यसबेलाको क्षण सम्झदै सृष्टि भन्छिन्, ‘के चाहिँ उपचार गर्न बाँकी राखेँ होला र । आयुर्वेदिक, होमियोप्याथिक, अकुप्रेसर, वैद्य सबैकहाँ पुगेँ,’ सृष्टि भन्छिन्, ‘दृष्टि फर्किने आशा मरेको थिएन, रोग हो निको भइहाल्छ नि भन्ने थियो ।’

तर, विस्तारै मानिसहरुले गर्ने व्यवहार फरक देखिन थालेको थियो । उनको अनुहारमा थोरै आक्रोश झल्कन्छ, ‘सबैले मलाई सहयोग त गर्थे तर, साथी बन्न कोही चाहँदैनथे ।’

सृष्टिले चश्मा अली माथि सारिन् । चश्माको छेकोबाट आँखालाई गर्लम्मै ढाकेको फुलो देखियो । उनले कलेजको एउटा घटना सम्झिइन्, ‘म विहान चार बजे उठेर कलेज जान्थेँ । ४५ मिनेट लाग्थ्यो कलेज पुग्न । एक दिन त्यसरी नै कलेज पुग्दा क्लास रित्तो थियो । साथीहरु सबै पिकनिक गएका रहेछन् । जबकि पिकनिक जाने कुरा मलाई कसैले थाहा दिएका थिएनन् । शायद, मलाई लग्यो भने झिँजो हुन्छ भन्ने लागेर होला ।’

‘आँखा नदेखे पनि म आफूलाई सामान्य सोच्थेँ । त्यति धेरै समय भएको थिएन मैले लिपिस्टिकका कलरहरु चुज गरेको, नयाँ-नयाँ ड्रेसहरु ट्राई गर्दै बजार घुमेको, फिल्म हेर्न गएको । तर, साथीहरुको व्यवहारले म झस्किएँ ।’

अर्को दिन उनले साथीहरुसामू खुलेर मनको वेदना पोखिन् । त्यसपछि उनीहरुले गर्ने व्यवहार अलि बदलियो । सृष्टिलाई पनि थोरै कम्फर्ट महसुस भयो ।

०००

समुद्रको किनारमा यत्रतत्र दगुरेँ । धीत मरुन्जेल रोएँ र, दृष्टिविहीनको दुनियाँमा आफूलाई मानसिकरुपमा समाहित गरेँ । त्यसपछि कहिल्यै आँसु झारेको छैन

उनले कलेज टप गरिन् । एक दृष्टिविहीनले कलेज टप गर्नु आश्चर्यजनक थियो । तर, कसरी पढेकी थिइन्, त्यो उनलाई नै थाहा छ । क्याम्पस आउन-जान समस्या थियो । अरुले झैं किताब पढ्न सक्ने कुरै भएन, लेख्न पनि गाह्रो थियो ।

आमाले घरबाट बस स्टपसम्म ल्याएर गाडी चढाइदिन्थिन् । गाडीबाट ओर्लिएर उनी आफैं क्याम्पससम्म पुग्थिन् । क्याम्पस सकिएपछि साथीहरुले ल्याएर गाडी चढाइदिन्थे । आमा बस स्टपमा पर्खिरहेकी हुन्थिन् । तर, कहिलेकाहिँ गाडीले अन्यत्रै ओरालिदिँदा आपत् पर्थ्यो उनलाई । किनकी त्यतिबेला मोबाइल थिएन । न ह्वाइट केन (दृष्टिविहीनले बोक्ने सेतो छडी) नै थियो ।

‘कहाँकहाँ बरालिन्थेँ । छामछुम गर्दै नजिकका मानिसहरुलाई लोकेसन सोध्थेँ । कहिलेकाहीँ सहयोगी भावना भएकाहरुले घरसम्मै पुर्‍याइदिन्थे,’ सृष्टिले विगत सम्झिइन् ।

घर पुग्दा रात परिसकेको हुन्थ्यो । आमा छट्पटाइरहेकी हुन्थिन् । उनलाई भने के रात, के दिन ।

यस्ता कठिनाइबाट मुक्ति पाउन उनले ह्वाइट केन लिइन् । उनलाई लाग्थ्यो ह्वाइट केन लिएपछि सबै ठीक होला । तर, त्यस्तो भएन । आफ्नो दैनिकीलाई सहज बनाउन ट्रेनिङ सेन्टरमै पुग्नुपुर्‍यो उनलाई । ट्रेनिङ लिएपछि भने केही राहत भयो ।

सृष्टि रेकर्डर बोकेर क्याम्पसमा जान्थिन् । सरहरुले पढाएको कुरा रेकर्ड गर्थिन् र घरमा ल्याएर सुन्थिन् । लेख्नलाई पनि उनले उपाय निकालिन् । ग्रिप वाला काठको प्लाई कापि पछाडि राखेर लेख्न थालिन् । ग्रिपमा भएको घेराले अक्षरलाई तलमाथि हुन दिँदैनथ्यो र कहाँसम्म लेखियो भन्ने थाहा हुन्थ्यो ।

परीक्षा दिँदा सहयोगी लैजान्थिन् । उनी उत्तर भन्थिन्, सहयोगीले लेख्थे । यसरी पढेर नै उनले कलेज टप गरिन् ।

अहिले उनको दैनिकी पहिलेभन्दा सहज छ । कम्प्युटर र मोबाइलमा उनी सामाजिक सञ्जाल चलाउन सक्छिन् । अक्षरलाई आवाजमा बदल्ने सफ्टवेयरले सहयोग गरेको छ ।

०००

सृष्टिको उपचारको सिलसिला जारी थियो । देशभरका अस्पताल चहार्दा पनि केही नलागेपछि बाबा राजेशमान र आमा परमेश्वरीले उनलाई भारत लगे । चेन्नईमा रहेको शंकर नेत्रालय पुग्दा सृष्टिसित आफ्नो दृष्टि फर्किने अन्तिम आशा बाँकी थियो ।

पालो आएपछि डाक्टरले उनलाई कोठाभित्र बोलाए । बुवा-आमालाई बाहिरै राखेर सृष्टि एक्लै भित्र गइन् । डाक्टरले सबै रिपोर्ट हेरेर आँखा जाँच पनि गरे । त्यसपछि सृष्टिले मुटु दह्रो बनाएर भनिन्, ‘सबै डाक्टरले ठीक हुन सक्छ भन्नुहुन्छ । तर, ठीक भएको छैन । आज क्लियर भनिदिनुस्, ‘ठीक हुन्छ कि हुँदैन ? एस अर नो ?’

सृष्टिको प्रश्नले डाक्टर पनि एकछिन अक्मकिए । केहीबेरपछि ‘तिमी स्ट्रोङ्ग रहिछौ, ल सुन’ भन्दै डाक्टरले सुनाए, ‘अब तिम्रो दृष्टि फर्काउन असम्भव छ ।’

डाक्टरको यो निष्कर्षले निभ्यो सृष्टिको आशाको दियो । पहिलोपटक उनले आफूलाई दृष्टिविहीनका रुपमा पाइन्, जतिबेला उनी भर्खर १९ वर्ष लागेकी थिइन् ।

सृष्टिको छातीमा दनदनी आगो बलेजस्तो भयो, मस्तिष्क शून्य भयो । कलेजमा साथीहरुले भन्ने गर्थे, ‘तिमी आँखा देख्ने भएपछि म सुन्दर गिफ्ट दिन्छु, मलाई नबोलेरै चिन्नुपर्छ है ।’ यस्ता कुरा त्यही बेला सम्झिइन् । आँखा देखेपछि यो गर्छु त्यो गर्छु भनेर देखेका सपनाले रेट्न थाल्यो । विक्षिप्त भइन् । आँखा आँसुले टम्म भए । तर, आँसु खसालिनन् । बरु सोचिन्, ‘अब म झन् स्ट्रोङ्ग हुनुपर्छ ।’

अनि बुवा-आमालाई सत्य नभन्ने अठोट बोकेर डाक्टरको कोठाबाट बाहिरिइन् । छोरी निस्कनासाथ जुरुक्क उठेर बुवाआमाले सोधे, ‘के भन्नुभयो ?’ सुष्टीले जवाफ दिइन्, ‘सबै डाक्टरको कुरा त्यही त हो नि ! औषधी हाल्नुपर्छ, विस्तारै निको हुन्छ भनेको छ ।’

तर, उनी भित्रभित्र एकदमै आत्तिएकी थिइन् । उनलाई त्यहाँ एक मिनेट पनि बस्न मन लागेन ।

आजै ट्रेनको टिकट काटेर नेपाल फर्कौं भन्न थालिन् । तर, त्यो दिन फर्किन सम्भव भएन । सृष्टि बाबुआमासँग लतारिँदै होटेलको कोठामा पुगिन् । रातभर निदाउनै सकिनन् । रातभर उनलाई अनेकन तर्कनाहरुले गिजोलिरहे ।

तर, भोलिपल्ट बिहान उठ्दा उनको मुड अर्कै भइसकेको थियो । विहानै बुवा-आमाले सोधे, ‘कतिखेर फर्कने ?’

सृष्टिले हाँस्दै भनिन्, ‘किन, अहिल्यै जाने ? मज्जाले घुमेर जाने हो ! देश छोडेर आएका छौँ, धोको फेरेर फर्कने हो ।’

बाबुआमा जिल्ल परे ।

उनले घुमाउन लैजाने दाइसँग सुटुक्क भनिन्, ‘दाइ, मलाई यस्तो खुल्ला ठाउँमा लैजानुस्, जहाँ म मज्जासँग दौडिन सक्छु ।’

ती दाइले चेन्नईको समुद्री किनारमा पुर्‍याए ।

‘त्यो किनारमा यत्रतत्र दगुरेँ, धीत मरुन्जेल रोएँ,’ सृष्टिले त्यो दिन सम्झिइन्, ‘त्यतिबेलै भित्रैबाट परिवर्तन गरी अर्को दुनियाँमा प्रवेश गरेँ । दृष्टिविहीनहरुको हितमा काम गर्ने अठोट लिएँ । त्यसपछि कहिल्यै कोठाको ढोका थुनेर रुँदै बसिनँ ।’

नेपाल फर्किएपछि एक दिन उनी कलेज पुगिन् । एक लेक्चरले सोधे, ‘उपचार भयो सृष्टि ?’

उनले जवाफ दिइन्, ‘भयो सर, फेरि कहिल्यै हस्पिटल जान नपर्ने गरी ।’

लेक्चरले खोई के बुझे ।

मानिस घर चढ्न सिँढी उक्लन्छ तर, चरालाई सिँढी चाहिँदैन, त्यो उडेर जहाँ पनि पुग्छ । के मानिसले म उड्न सक्दिनँ भनेर चिन्ता लिने ? म आफ्नो जीवन यही रुपमा बाँच्न अभ्यस्त भइसकेँ । चिन्ता लिन छोडिसकेँ

सृष्टिलाई सोधियो, ‘दृष्टि गुमाउनु अघि र पछिका सपनामा कति परिवर्तन आए ?’०००

उनले जवाफ दिइन्, ‘मैले कुनै सपनालाई तिलाञ्जली दिइनँ । वकिल बन्न नसके पनि न्यायका लागि लडिरहेकी छु । कलाकारितामा रुचि थियो, डान्स, अभिनय गरिरहेकी छु ।’

सृष्टिलाई विश्व भ्रमण गरेर संसार देख्ने इच्छा थियो । अहिले उनका लागि देख्नुको अर्थ टेक्नु हो, छाम्नु हो । उनले २० भन्दा बढी देश पुगेर मोटिभेसनल स्पिच दिएकी छन् । दृष्टिविहीनहरुलाई उत्प्रेरित गर्न ‘ब्लाइन्ड रक्स’ नामक संस्था खोलेकी छन् । नर्वे, फ्रान्स, हंगेरी र लण्डन पुगेर डान्स एण्ड एन्थ्रोप्लोजीमा मास्टर्स गरिन् ।

उनी भन्छिन्, ‘दृष्टिविहीनतालाई मैले अभिशाप होइन, ईश्वरले दिएको उपहारका रुपमा लिएकी छु । अगाडि ठूलो चुनौती उभिएपछि मान्छेले साहसिक काम गर्न सक्छ । जसरी भूकम्पमा मानिसहरु धरहराबाट हाम फालेर ज्यान बचाउन खोजे ।’

आफ्नो जीवनसँग कसरी सन्तुष्ट भएर बाँच्नुपर्छ भन्ने सृष्टिले सिकिसकेकी छन् । उनी भन्छिन्, ‘मानिस घर चढ्न सिँढी उक्लन्छ तर, चरालाई सिँढी चाहिँदैन, त्यो उडेर जहाँ पनि पुग्छ । के मानिसले म उड्न सक्दिनँ भनेर चिन्ता लिने ? म आफ्नो जीवन यही रुपमा बाँच्न अभ्यस्त भइसकेँ । चिन्ता लिन छोडिसकेँ ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE