मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

गोविन्द सुवेदी पोखरा ९ असोज । गण्डकी प्रदेशको राजधानी पोखरालाई देशको ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने तयारी भएको छ । गण्डकी प्रदेश सरकारले संघीय सरकारमार्फत औपचारिक रूपमै पर्यटकीय राजधानी घोषणा गराउने तयारी गरेको हो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आगामी मंसिरभित्र पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने गरी तयारी भइरहेको बताए । ‘यसअघि पोखरा पर्यटकीय राजधानी हो मात्र भनियो, अब सबै हिसाबले औपचारिक रूपमै केन्द्र सरकारले राजधानी घोषणा गर्ने गरी नै तयारी भएको छ,’ मन्त्री लम्सालले भने ।

यसकारण पर्यटकीय राजधानी
प्रदेश सरकारले आफ्नो पहिलो प्राथमिकतामा पर्यटन क्षेत्रलाई राखेको छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशका धेरै स्थानले पर्यटकीय सम्भावना बोकेका छन् । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा–काठमाडौं जोड्ने सडक चौडा हुने क्रममा रहेको छ । त्यसैगरी पोखरा–लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्ग पनि चौडा गर्ने, कोरला–पोखरा र पोखरा–सुस्ता जोड्ने सडक पूर्वाधार बन्न अब धेरै समय नलाग्ने मन्त्रीको दाबी छ ।

विश्व प्रसिद्ध अन्नपूर्ण राउन्डको ट्रेकिङ, पोखरा र यस वरपर हुने साहसिक पर्यटकीय गतिविधि, देशकै मध्यभाग, उपयुक्त हावापानी, फेवातालसहित रामसार सूचीमा सूचीकृत ७ ताल, मनोरम अन्नपूर्ण हिमशृंखला र माछापुच्छ«े हिमाल, महत्वपूर्ण धार्मिक स्थलहरू, यस क्षेत्रमा रहेका विभिन्न जातजाति अनि भाषाभाषीका संस्कृतिजस्ता धेरै पर्यटकीय आधारले पोखरा राजधानी घोषणाका लागि तयारी अवस्थामा रहेको प्रदेश सरकारको ठहर छ । पर्यटकीय राजधानी घोषणा गर्दा देशभित्र र बाहिर ध्यान केन्द्रित हुने र पर्यटन क्षेत्रमा लगानी त्यही अनुपातमा बढ्ने दाबी छ ।

प्रदेशका पर्यटनमन्त्रीहरूको ३–३ महिनामा पर्यटकीय स्थलमा बैठक
प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीहरू प्रत्येक तीन–तीन महिनामा पर्यटकीय स्थलमा बैठक बस्ने भएका छन् । संघीय राजधानी काठमाडौंमा भएको पर्यटनमन्त्रीहरूको बैठकले यस्तो निर्णय गरेको हो । पर्यटन प्रवद्र्धनका लागि आधार दिन र पर्यटकीय स्थलको प्रचारप्रसारका लागि यसरी बैठक बस्ने निर्णय गरिएकोे गण्डकी प्रदेशका पर्यटनमन्त्री लम्सालले बताए । यस्तो बैठक फरक–फरक प्रदेशका पर्यटकीय स्थलमा बस्ने उनको भनाइ छ ।

सातवटै प्रदेश सरकारको सहमति
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सातै प्रदेशका मुख्यमन्त्री सहमत भएको पर्यटनमन्त्री विकास लम्सालले बताए । पोखरामा भएको मुख्यमन्त्रीहरूको भेलामा नै पोखरालाई पर्यटकीय राजधानी बनाउने विषयमा सहमति जुटेको उनले बताए । उनका अनुसार राजधानीमा हालै सम्पन्न सात प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीहरूको बैठकले समेत पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने सहमति गरेको हो । ‘सबै प्रदेश सरकारको समर्थन प्राप्त भएको छ, अब गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले केन्द्र सरकारलाई घोषणाका लागि प्रस्ताव गर्ने तयारीमा छौँ,’ लम्सालले भने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE