मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

छाउप्रथा माने कारबाही

बिस्‍नुप्रसाद न्यौपाने कालिकोट १४ कार्तिक । कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउँपालिको वडा नम्बर ४, ५, ६ र साविकको मेलमुडी गाविसलाई छाउगोठमुक्त घोषणा गरिएको छ। गाउँपालिकाको आयोजना तथा साहास नेपालको सहजीकरणमा छाउगोठमुक्त कार्यक्रम आयोजना भएको थियो। गाउँपालिका उपाध्यक्ष होइजा बुढाको अध्यक्षता तथा अध्यक्ष डम्बरबहादुर शाहीको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रमको आयोजना नै गरी ती वडाका छाउगोठ भत्काइएको छ।

गाउँपालिका अध्यक्षले छाउपडी प्रथाका कारण महिलाले अनेक खाले हिंसा खेप्नुपरेको भन्दै बाल क्लब, महिला सञ्जाललगायत स्थानीय अगुवाको सक्रियतामा गाउँपालिकाका तीन वटा वडा र साविकको मेहेलमुडी गाविसलाई छाउगोठमुक्त बनाउन सकिएको बताए। उनले भने, ‘अब यी वडामा कसैले छाउप्रथा माने कारबाही गर्छौं।’ उनले पूरै गाउँपालिकालाई छाउगोठमुक्त बनाउन सबैले सहयोग गर्नुपर्ने बताए।

छाउगोठमुक्त कार्यक्रममा प्रस्तुत सडक नाटक

गाउँपालिका उपाध्यक्ष बुढाले अभियानमा पुरुषहरू पनि सहभागी भएका बताइन्। उनले महिला मात्रले छाउप्रथा न्यूनीकरण नहुने भन्दै सबैले उचित वातावरण बनाउनुपर्नेमा जोड दिइन्। स्थानीय ६५ बर्से मणिराम भट्टाईले २०२८ सालदेखि नै आफूले छाउप्रथा त्यागेको बताए। उनले भने, ‘छुइ नबारे भैंसीले दूध दिँदैनन्, देवता लाग्छ। अनिष्ट हुन्छ भन्थे। तर मेरो घरमा त कसैले बार्दैनन्। आजसम्म न देवता रिसाए न कुनै अनिष्ट नै भयो।’

छाउमुक्त घोषणा गरेसँगै स्थानीयले सातबुँदे प्रतिबद्धता पनि जनाएका छन्। उनीहरूले छाउ भएका महिलालाई घरभित्रै राखी खानेकुरामा विभेद नगर्न आग्रह गरेका छन्। उनीहरूले त्यस्ता महिलालाई मानसिक तथा शारीरिक यातना दिए तथा गोठमा राखे कानुनबमोजिम कारबाही गरिने बताए। साथै उनीहरूले त्यस्तो कार्य आफूहरूबाटै भए पनि कानुनको भागीदार हुने बताए। अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE