प्रधानमन्त्रीलाई भेटे मुख्यमन्त्री भट्टले

धनगढी, १५ कार्तिक । छातिको संक्रमणका कारण त्रिबि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल पुग्नु भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न आजै बिहान ९ : ४५ बजे काठमाडौं जानु भएका मुख्यमन्त्री भट्टले प्रधानमन्त्री ओलीसंग १ः२० बजे भेट गर्नु भएको हो ।
त्रिवि शिक्षण अस्पतालको आईसियु कक्षमा प्रधानमन्त्री ओलीसंग भेट गर्दै मुख्यमन्त्री भट्टले उहाँको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव शिवसिंह ओलीले बताए ।
उपचारपछि प्रधानमन्त्री ओलीको अहिले स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उपचारपछि स्वास्थ्यमा सुधार आएपनि केही दिन भने अस्पतालमानै रहने भएका छन्।
त्रिवि शिक्षण अस्पतालले बिहीवार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि डिस्चार्ज गर्न नसकिने बताएको हो।
प्रधानमन्त्रीको रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहे पनि प्रधानमन्त्रीलाई दिइएको औषधिको मात्रा नपुगेकोले अझै केही दिन अस्पतालमा नै रहने डा। दिव्या सिंहले जानकारी दिइन्।
अहिलेनै काममा फर्कने गरी स्वास्थ्य अवस्था तयार नभएको र केही औषधि नियमित सेवन गर्नुपर्ने तथा अस्पतालमा आराम समेत मिल्ने भएकोले प्रधानमन्त्री केही दिन अस्पतालमा नै बस्ने डा. सिंहले बताइन्।
प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलन देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो।
प्रधानमन्त्री ओलीको उपचारमा निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दीलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन्।
बुधबारदेखि प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले जानकारी दिए। साथै, प्रधानमन्त्रीले उपचार कक्षमा सामान्य हिँडडुल र खाना आफैंले खान थालेका पनि डा. सायमीले जानकारी दिए।
WRITE COMMENTS FOR THIS ARTICLE