बुधबार, फाल्गुन १९, २०७७
Wednesday, March 3, 2021

बैतडीमा मोबाइलबाटै गर्भजाँचको निम्तो

बैतडी, १८ कार्तिक– बैतडीमा मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नामदर्ता गराउने र उनीहरुलाई एसएमएस मार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ । बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाहरूले मोबाइल मार्फत गर्भवती महिला र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पुगाउन सहयोग गरिरहेका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूले मोबाइल प्राप्त गरेपछि गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरुका लागि सहज भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाईजर डिल्लीरमण जोशीले जानकारी दिनुभयो । अहिले ९० प्रतिशत गर्भवती महिलाको नाम महिला स्वास्थ्य स्वयंसेविकाहरुले मोबाइलबाटै दर्ता गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले मोबाइल प्रदान गरेपछि महिला स्वास्थ्य स्वयंसेविकाहरूले एसएमएस मार्फत गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरूलाई एसएमएस मार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाका ८३१ महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मोबाइल वितरण गरिएको र स्थानीय तहहरुले उनीहरूको मोबाइलमा रिचार्ज समेत गरिदिने गरेको जनाइएको छ ।

स्वयंसेविकाहरुले आफूसंग भएको मोबाइलमा गर्भवती महिलाको नाम ’इन्ट्री’ गर्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उनीहरुको नाम इन्ट्री हुने र गर्भवती महिलालाई ४,६,८ र ९ महिनामा गर्भजाँच गराउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा एसएमएस जान्छ ।

एसएमएसको आधारमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले महिलाहरुलाई गर्भजाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा पठाउने गरेको परिवार नियोजन सुपरभाईजर जोशीले जानकारी दिनुभयोे । सुदूरडेलीबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE