मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

खसोग्गीसम्बन्धी हत्या रेकर्डिङ हस्तान्तरण

काठमाडौं २५ कार्तिक । टर्कीले पत्रकार एवं लेखक जमाल खसोग्गीको हत्यासँग सम्बन्धित रेकर्डिङ हस्तान्तरण गरेको छ ।

खसोग्गी हत्याबारेको रेकर्डिङ संयुक्त राज्य अमेरिका, बेलायत, साउदी अरब र अन्य देशलाई दिएको बताएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बारम्बार पत्रकार खसोग्गीको हत्या कसले गरेको हो भनेर साउदी अरबलाई जानकारी रहेको बताउने गरेका छन् ।

साउदी राजपरिवारका आलोचक खसोग्गीको टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा अक्टोबर २ का दिन हत्या भएको थियो ।

सुरुमा अस्वीकार गरे पनि व्यापक आलोचनापछि साउदीले पत्रकार खसोग्गीको आफ्नै वाणिज्य दूतावासमा हत्या भएको स्वीकार गरे पनि त्यसमा राजपरिवारकै संलग्नता रहेको भन्ने आरोप भने अस्वीकार गर्दै आइरहेको छ ।

उसले पत्रकार खसोग्गीको वाणिज्य दूतावासमा भएको झगडाका क्रममा मृत्यु भएको र त्यसमा आफ्ना खराब एजेन्टहरुको संलग्नता रहेको बताउने गरेको छ । शुरुमा पत्रकार खसोग्गी वाणिज्य दूतावासबाट सकुशल बाहिरिएको बताएका थियो ।

साउदीले उसको युवराज मोहम्मद बिन सलमानले खसोग्गीलाई खतरनाक इस्लामिस्ट भनेको भन्ने विवरणबारे पनि प्रतिक्रिया दिन अस्वीकार गर्ने गरेको छ । कुनैबेला साउदी राजपरिवारका निकट रहेका र हाल अमेरिका निवासी पत्रकार खसोग्गी वासिङ्टन पोस्टका स्तम्भकार थिए ।

टर्कीस् प्रेमिकासँग वैवाहिक बन्धन बाँधिनका लागि पूर्वपत्नीसँग गरेको सम्बन्धविच्छेदको कागजात मिलाउन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा गएका बेला उनको हत्या भएको थियो ।

लामो समयसम्म दूतावासबाट नबाहिरिएपछि उनको प्रेमिकाले उनी बेपत्ता भएको विवरण सार्वजनिक गरेकी थिइन् । टर्कीले उनको त्यही हत्या भएको र त्यसमा साउदीकै संलग्नता रहेको बताएको थियो । साउदीले भने त्यसको प्रतिवाद गरिरहेको थियो । विश्वभरबाट दबाब बढेपछि रियादले पनि पत्रकार खसोग्गीको हत्या भएको स्वीकार गरेको थियो ।

तर खसोग्गीको हत्या वा मृत्यु कसरी भयो भन्नेबारे भने एकमत छैन । सुरुमा टर्कीका सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै उनको हत्या भएको विवरण पुष्टि गर्ने अडियो रेकर्ड टर्कीसँग रहेको जनाएका थिए ।

उनीहरुका अनुसार पत्रकार खसोग्गीलाई यातना दिएर हत्या गरिएको हो । यद्यपि गत साता टर्कीले खसोग्गी वाणिज्य दूतावास प्रवेश गर्नेबित्तिकै हत्या भएको र उनको शवको टुक्राटुक्रा पारिएको बताएको थियो । पत्रकार खसोग्गी हत्यामा संलग्न भनेर हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

उता, टर्कीले भने यो मुद्दालाई साउदीले यतिकै टुंग्याएको बताएको छ । खसोग्गीलाई के भएको थियो भनेर साउदीले पटक पटक बोली फेर्ने गरेको छ । उसले १८ जना शंकास्पद व्यक्ति पक्राउ गरिएको र उनीहरुविरुद्ध साउदीमै मुद्दा चलाइने बताउने गरेको छ ।

टर्कीले भने ती १८ जनालाई सुपुर्दगी गर्न माग गरिरहेको छ । खसोग्गीको हत्यामा साउदीको संलग्नता रहेको छ भनेर टर्कीले भने सार्वजनिक रूपमा बताएको छैन । ‘हामीले पत्रकार खसोग्गीको हत्यासँग सम्बन्धित रेकर्डिङ साउदी अरब, वासिङ्टन, जर्मनी, फ्रान्स र बेलायतलाई दिएका छौं,’ शनिबार टेलिभिजनमार्फत दिएको सम्बोधनमा टर्कीका राष्ट्रपति एर्दोगानले बताए ।

‘उनीहरुले यहाँ भएको वार्तालाप सुने र थाहा पाए,’ उनले बताए । अन्य देशले भने रेकर्डिङ सुनेको भन्ने विषय सार्वजनिक गरेका छैनन् । खसोग्गीकी प्रेमिका हातिस सेन्जिजले हत्यारालाई कानुनी कठघरामा ल्याएर न्याय प्रदान गर्नका लागि विश्व नेतासमक्ष आग्रह गरेकी छिन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE