मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

आचार्य भारतका लागि राजदूत सिफारिस

काठमाडौं २६ कार्तिक । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलाम्बर आचार्यलाई सिफारिस गरेको छ ।

आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले आचार्यको नाम सिफारिस गरेको हो । पूर्वकानुनमन्त्री आचार्य नेपाल-भारत सम्बन्ध पुनरावलोकनका निम्ति गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) का सदस्य पनि छन् ।

उनी २०४६ को जनआन्दोलनपछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा कानुन तथा न्यायमन्त्री रहेका थिए ।

भारतको राजदूतका लागि यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस भएको थियो । तर, संवैधानिक अंगका प्रमुख भइसकेका व्यक्तिलाई राजदूत बनाउन नहुने विवाद भएपछि सरकारले उप्रेतीको नाम फिर्ता लिएर आचार्यलाई सिफारिस गरेको हो ।

पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन झन्डै डेढ वर्षअघि राजीनामा दिएपछि भारतका लागि नेपाली राजदूत पद रिक्त छ । सरकारले मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) का लागि पनि राजदूत सिफारिस गरेको छ ।

मलेसियाका लागि उदयराज पाण्डे र युएईका लागि कृष्ण ढकाल सिफारिस भएका हुन् । पाण्डे यसअघि साउदी अरबका राजदूत थिए भने ढकाल परराष्ट्रका सहसचिव हुन् ।

तर, सरकारले निर्णय औपचारिक रूपमा सार्वजनिक गरेको छैन । अब मन्त्रिपरिषद बैठकको निर्णय हप्तामा एक पटक मात्रै सार्वजनिक गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।

बैठकपछि उनले मन्त्रिपरिषदबाट केही महत्वपूर्ण निर्णय भएको र प्रबन्ध मिलाएर सार्वजनिक गर्ने जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE