मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व समापन

२८ कार्तिक, काठमाडौं । बिहानको उदाउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिई ४ दिन लामो छठ पर्व समापन भएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिइएको थियो ।

उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।

गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारको दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो । लाखौँ भक्तजनले मङ्गलबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर ४ दिन लामो सूर्य उपासना पर्व अन्त्य गरेको छठ पूजा समितिका सदस्य चन्द्रकान्त यादवले जानकारी दिए ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनले नदी किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरेका थिए । आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका ब्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास रहेको छ ।

विसं २०४६ अघि छठ तराई क्षेत्रमा मात्र मनाइन्थ्यो । हाल पहाडी क्षेत्रसहित प्रमुख शहरमा छठको रौनक बढ्न थालेको छ । यस पर्वमा पहाडी क्षेत्रका मानिस पनि उत्तिकै सहभागी हुन थालेका छन् । तराई र पहाडका मानिसबीच सामाजिक सद्भाव बढाउने पर्वका रुपमा छठ स्थापित हुन थालेको छ ।

आज बिहान छठ सकिएपछि नदी किनारमा सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । सफाईमा काठमाडौँ क्षेत्र नं.४ का सांसद गगन थापा, गुह्येश्वरी विनायक युवा क्लबका सदस्य, सफाई अभियानकर्मी लगायतको सहभागिता रहने बताइएको छ ।

छठ मनाउने क्रममा फोहर जम्मा भएकाले ४ दिनसम्म निरन्तर गुह्येश्वरी-गौरीघाट क्षेत्रमा सफाई अभियान चलाइने अध्यक्ष पुडासैनीले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE