आइतवार, माघ ४, २०७७
Sunday, January 17, 2021

पोखरा विमानस्थलमा ३ बजेपछि उडान बन्द, मर्मतसंभार शुरु

२ कार्तिक, काठमाडौं । पोखरा विमानस्थलको धावनमार्गको मर्मतसंभार शुरु गरिएको छ ।

मर्मतसंभारका लागि आइतबारदेखि १५ दिनसम्म दिउँसो ३ बजेपछिका सबै उडान र अवतरण पूर्ण रुपमा बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

यस अवधिमा दिउँसो ३ बजे बन्द हुने विमानस्थल भोलिपल्ट बिहान ६ बजे मात्र संचालनमा आउनेछ । मौसम सामान्य रहेको अवस्थामा अहिले पोखरा विमानस्थलबाट बिहान साढे ६ बजेदेखि बेलुकी ५ बजेसम्म उडान हुँदै आएकोछ ।

विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाँइका अनुसार धानवमार्ग, ट्याक्सी-वे, एप्रोन सहित धावनमार्ग वरिपरि रहेको कालोपत्रे सडकको पनि मर्मतसम्भार गर्न थालिएको छ ।  उनका अनुसार धावनमार्गसहित विमानस्थलभित्रको सबै कालोपत्रे खण्ड मर्मत हुनेछ । त्यसका लागि अलकत्रा जस्तै पदार्थले कालोपत्रेको सबै खण्ड पोतिनेछ ।

यो प्रविधिलाई स्लरी सिल भनिन्छ । यो प्रविधिबाट धावनमार्ग मर्मत गर्दा उप्किएको साना आकारको गिट्टि पूर्ण रुपमा टाँसिने छन् ।

दिउँसो ३ बजेपछि उडान र अवतरण रोकिने भएकोले विमानस्थलले सबै हवाई कम्पनिका लागि ‘नोटाम’ जारी गरेको छ । नोटाम जारी गरेपछि रोकिएको समयमा कुनै पनि जहाज पोखरा आउन पाउने छैनन् ।

पर्यटकीय सिजन भएकोले अहिले पोखराबाट दैनिक ४० हाराहारीमा ठूला आकारका जहाजको उडान हुँदै आएको छ । यहाँबाट तारा, समिट, यती, बुद्ध, नेपाल एयरलाइन्स र सिम्रिकका जहाजको नियमित उडान हुन्छ ।

ती हवाई कम्पनिका जहाजले पोखराबाट जोमसोम, काठमाडौं, भरतपुर, भैरहवा र पर्वतीय उडान गर्दै आएका छन् । ती बाहेक पोखराको आकाशमा पर्यटकलाई सयर गराउने हेलिकोप्टर, अल्ट्रालाईट र ग्योरोकोप्टर (हेलिकोप्टर जस्तै) को पनि उडान हुन्छ । धावनमार्ग मर्मत गर्दा ती उडान पनि रोकिने छन् । हेलिकोप्टरको उडानमा भने खासै समस्या नहुने गुरागाँइले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE