मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

आजदेखि बाँडिँदै राष्ट्रिय परिचयपत्र

सरोज शर्मा ३ मंसिर,काठमाडौं सरकारले गृहकार्यको आठ वर्षपछि आज (सोमबार) देखि बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र बाँड्दै छ । चिप प्रविधिमा आधारित परिचयपत्र पाँचथर फिदिमकी १०१ वर्षीया वृद्धा भगवती भण्डारी र एक उच्च सरकारी अधिकारीलाई दिएर वितरण अभियान सुरु गर्न लागेको हो ।

गृहमन्त्री रामबहादुर थापाले दुईजनालाई परिचयपत्र हस्तान्तरण गरेर वितरण अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । सुरुमा प्रधानमन्त्री केपी ओलीले नै उद्घाटन गर्ने कार्यक्रम तय गरिएको भए पनि स्वास्थ्य अवस्थाका कारण उनी उपस्थित नहुने भएका हुन् । पहिलो दिन पाँचथरका अन्य ४८ जनालाई पनि परिचयपत्र बाँडिने छ ।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा परिचयपत्र वितरणका लागि सरकारले पहिलो चरणमा पाँचथरमा वितरण गर्न लागेको हो । तर, ७७ वटै जिल्लामा यसै वर्षबाट परिचयपत्र सुरु गरिने राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताए ।

०६६/६७ मा सरकारको नीति तथा कार्यक्रममै राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी योजना समेटिएको थियो । ०६७ मा गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरिएको थियो ।

एक लाख १७ हजार परिचयपत्र छपाइका लागि सुरुमा एडिबीले अनुदान दिनेछ । यति कार्ड छाप्न करिब ५५ करोड रुपैयाँ खर्च हुने अनुमान छ । यसबाहेक सबै परिचयपत्र सरकारकै बजेटमा छापिनेछ ।

परिचयपत्रले नागरिकता विस्थापन नगर्ने

सरकारले नागरिकतालाई विस्थापित गर्न राष्ट्रिय परिचयपत्र जारी गर्ने उद्देश्य लिएको थियो । तर, वितरण गर्न लागिएको परिचयपत्र नागरिकताको विकल्प नबन्ने भएको छ । परिचयपत्र लिए पनि नागरिकता लिनुपर्छ ।

संविधानमा नागरिकता र राष्ट्रिय परिचयपत्रसम्बन्धी दुवै व्यवस्था भएकाले परिचयपत्रले नागरिकतालाई विस्थापित नगर्ने कार्यकारी निर्देशक काफ्लेले बताए । परिचयपत्रमा नागरिकता, लाइसेन्स, राहदानी, सामाजिक सुरक्षासम्बन्धी परिचयलगायत सबै विवरण रहनेछन् । तत्कालका लागि नागरिकता लिएका व्यक्तिलाई मात्र सरकारले राष्ट्रिय परिचयपत्र दिनेछ । पछि सबै नागरिकलाई दिइने योजना छ ।

परिचयपत्रमा दसवटै औँलाको औँठाछाप हुनेछ । कार्यकारी निर्देशक काफ्लेका अनुसार मेसिन रिडेबल प्रविधिको यस्तो कार्डमा सबै व्यक्तिगत विवरण रहनेछ । स्थायी ठेगाना, जन्ममिति, आमाबाबु, हजुरबा, श्रीमान्–श्रीमतीको नाम पनि हुन्छ । अन्य विवरण भने परिचयपत्रमा रहने चिपमा हुनेछ ।

परिचयपत्र लिन शुल्क नलाग्ने

राष्ट्रिय परिचयपत्र छपाइ महँगो भए पनि सरकारले शुल्क नलिने भएको छ । यससम्बन्धी कानुन नै नबनेकाले शुल्क नलिई परिचयपत्र दिइने व्यवस्थापन केन्द्रले जनायो । एउटा कार्ड छपाइका लागि करिब तीन सय ५० रुपैयाँ पर्छ । ।

तर, यससम्बन्धी कानुन नै नबनेकाले शुल्क नलिई परिचयपत्र दिइने व्यवस्थापन केन्द्रले जनाएको छ । कानुन नै नभई परिचयपत्र वितरण गर्दा समस्या हुन सक्ने गृहका कतिपय अधिकारीको भनाइ छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण व्यवस्थापन गर्न बनेको विधेयकको मस्यौदा अर्थ मन्त्रालय पुगेको कार्यकारी निर्देशक काफ्लेले बताए ।

अपराध नियन्त्रणमा सहयोग पुग्ने

राष्ट्रिय परिचयपत्र जारी भएपछि अपराध नियन्त्रणमा सहयोग पुग्ने प्रहरी अधिकारी बताउँछन् । अहिले कतिपयले पहिचान ढाँट्ने, नक्कली नागरिकतालगायत विवरण बनाउने प्रवृत्ति रोकिनेछ । साथै फिंगर प्रिन्टको विवरणसमेत सरकारसँग हुने भएकाले अपराधमा संलग्न व्यक्तिको फिंगर प्रिन्टमार्फत अपराध पत्ता लगाउन सहज हुनेछ ।

प्रस्तावित कानुनमा सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइने उल्लेख छ । ‘सबैले लिनैपर्छ भन्ने होइन,’ केन्द्रका कार्यकारी निर्देशक काफ्ले भने, ‘तर, सार्वजनिक सेवा लिन चाहनेका लागि परिचयपत्र अनिवार्य बनाउनेछौँ ।’

नयाँपत्रिकाबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE