शुक्रबार, बैशाख ३, २०७८
Friday, April 16, 2021

मैनामैनी सुगाचरी भीर क्षेत्रमा गिद्ध संरक्षण अभियान शुरु

६ मंसिर, गाईघाट । उदयपुर जिल्लाको पूर्वीक्षेत्रको बेलका नगरपालिका-७ को मैनामैनीस्थित सुगाचरी भीर क्षेत्रमा लामो समयदेखि बस्दै आएका दुर्लभ पंक्षी गिद्धको संरक्षण अभियान शुरु भएको छ ।

नगरपालिकाका अनुसार उक्त भीर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लाहरूमा घुमन्ते गिद्धहरूको लामो समयदेखि आश्रयस्थल रहेको र अहिले झण्डै ६०० गिद्ध बस्दै आएका छन् ।

दिनको समयमा सुगाचरी भीरमा बस्ने गिद्धहरू पहाडी जिल्ला खोटाङ, भोजपुर, संखुुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा घुमेर आहारा खोज्ने गरे पनि बेलुकी साँझपख बास बस्न सोही क्षेत्रमा आउने गरेको मैनामैनीका गर्जमान राईले बताए ।

मैनामैनी प्राथमिक विद्यालयका शिक्षक मणिकुमार राईले सो क्षेत्रमा पुस्तौंदेखि गिद्ध बस्दै आएको र यसलाई अझै संरक्षरणको अभाव रहेकाले अहिले आफूहरूसहित नगरपालिकाले संरक्षणको अभियान शुरु गरेको जानकारी दिए ।

यस क्षेत्रमा पाइने अति नै दुर्लभ प्रजातिका गिद्ध संरक्षण गर्न अहिले नगरपालिकाले नयाँ योजना ल्याएर संरक्षण अभियान अगाडि बढाएको नगरप्रमुख दुर्गाकुमार थापाले बताए ।

गिद्ध संरक्षण गर्न अहिले बेलका क्षेत्रका मरेका घरपालुवा जनावरलाई गिद्ध बसोबास गर्ने क्षेत्रमा राखिदिने कार्य नगरपालिकाले शुरु गरेको छ । महीनामा २ पटक गिद्धका लागि अन्य आहारा राख्ने गरिएको छ ।

“अहिले सुगाचरी भीरक्षेत्रका आसपास क्षेत्रमा सिमलका रूख नगरपालिकाले गिद्ध संरक्षणका लागि रोप्ने र हुर्काउने अभियान थालेको छ”, नगरप्रमुख दुर्गाकुमार थापाले भने ।

गिद्धले सिमलका रूखमा बस्न मन पराउने हुनाले यसको संरक्षणका लागि सिमलको बिरुवा रोपेर हुर्काउन लागिएको छ । यस्तै गिद्धका प्रजातिको अध्ययन गर्न चरा विशेषज्ञहरूसमेत झिकाउने तयारी गरिएको नगरपालिकाले बताएको छ ।

प्रदेश नं.१ को सुन्दर गहना भएका कारण आफूहरूले यसको संरक्षणमा लागेका छन् । दुर्लभ पंक्षी गिद्धको संरक्षण गर्न सके लोप हुँदै गएको गिद्ध प्रजातिको संरक्षणमा टेवा पुग्ने तथा गिद्ध हेर्न र अध्ययन गर्न आउने पर्यटकको पनि आगमनमा वृद्धि हुने भएकाले यो अभियान शुरु बताइएको छ ।

सुगाचरी भीर करीब ५ हजार १ सय फिटसम्मको उचाइमा रहेको र गिद्धका लागि पूर्वी क्षेत्रकै उपयुक्त बासस्थान रहेको कारण पनि यस क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र बनाउनुपर्ने आवश्यकता रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE