मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

जीवन बीमा कम्पनीको नाफा ८३ करोड ४५ लाख, सबै भन्दा धेरै नेपाल लाइफको आर्जन शुल्क

६ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १८ वटा जीवन बीमा कम्पनीको नाफा ८३ करोड ४५ लाख पुगेको छ ।

नयाँ जीवन बीमा कम्पनीहरुको नाफा २५ करोड ५७ लाख रुपैयाँ रहेको छ । पूराना बीमा कम्पनीले गत आर्थिक वर्षभन्दा यो वर्ष औसतमा ९.१८ प्रतिशतले नाफा बढाएका छन् ।

गत आर्थिक वर्षमा बीमा समितिले एकै पटक ९ वटा जीवन बीमा कम्पनीलाई व्यवसाय गर्न अनुमति दिएको थियो । नयाँ बीमा कम्पनी आएपछि पूराना कम्पनीले आक्रामक रुपमा व्यवसाय विस्तार गरेका हुन् ।

नयाँ कम्पनीको समग्र नाफामा ३० प्रतिशत हिस्सा भएपनि बीमा शुल्क आर्जनको हिस्सा ९ प्रतिशत मात्रै छ । ३ महिनाको अवधिमा १८ कम्पनीले १४ अर्ब ८६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् ।

पूराना ९ कम्पनीको खुद बीमा शुल्क आर्जन १३ अर्ब ५१ करोड रुपैयाँ छ भने नयाँ ९ कम्पनीको एक अर्ब ३९ करोड रुपैयाँ छ ।
पूराना कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स सबैं भन्दा अगाडि छ । कम्पनीले ३ महिनामा २० करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको छ भने ५ अर्ब ४३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

बीमा शुल्क आर्जनमा नेपाल लाइफको हिस्सा ३६.५३ प्रतिशत छ । नयाँ कम्पनीमध्ये रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ ।

कम्पनीले ३ महिनामा ५ करोड २५ लाख रुपैयाँ नाफा गरेको छ भने खुद बीमा शुल्क आर्जन २२ करोड २१ लाख रुपैयाँ रहेको छ । यो नाफा पूराना ४ बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन र राष्ट्रिय बीमा संस्थानको भन्दा पनि धेरै हो ।

बीमा समितिले अघिल्लो आर्थिक वर्षमा पूराना जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब पुर्याउन निर्देशन दिएको थियो । साथै ९ वटा कम्पनीलाई नयाँ अनुमति प्रदान गरेको थियो ।

पूँजी बढेसँगै शहर बजारमा मात्रै केन्द्रित बीमा कम्पनी गाउँ जान थालेका छन् । एक वर्ष अगाडि ७ प्रतिशतको हाराहारीमा रहेको बीमाको पहुँच ११ प्रतिशत पुगेको छ ।

नयाँ आएका बीमा कम्पनी पनि ठूलो पूँजीसहित बजारमा छन् । पूँजीसँगै नयाँ व्यवस्थापन तथा जनशक्तिले गर्दा नयाँ बीमा कम्पनीहरुलाई बजार विस्तार गर्न सहज भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE