बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

हतियार उठाउने विषयमा विप्लव समूहभित्र चर्को विवाद ?

१२ मंसिर,धनगढी । देशैभरिबाट दशौं हजार कार्यकर्ता राजधानीमा प्रदर्शन गरेर चर्चा बटुलेको विप्लव समूहभित्र कार्यदिशाको विषयमा गम्भीर बहस चलेको खुलासा भएको छ । ‘एकीकृत जनक्रान्ति’ को राजनैतिक कार्यदिशा अँगालेको विप्लव नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी’ भित्र सशस्त्र संघर्षको स्वरुपका विषयमा विवाद भएको श्रोतले जनायो ।

श्रोतका अनुसार, नेपालमा यसअघि पनि तत्कालिन माओवादीले सशस्त्र संघर्ष सञ्चालन गरेपनि सम्झौतामा आन्दोलन टुंग्याउनु परेको यथार्थलाई विश्लेषण गर्ने विषयमा शीर्ष नेतृत्वबीच अहिले बहस चलेको छ । पार्टीको शीर्ष तहमा रहेका नेत्रबिक्रम चन्द ‘विप्लव’, खडकबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, हेमन्त प्रकाश ओली ‘सुदर्शन’, इश्वरी दाहाल, धर्मेन्द्र बास्तोलालगायतबीच नै यस विषयमा एकरुपता कायम हुन सकेको छैन ।

“प्रकाण्ड कमरेडहरुले हतियार नै उठाएर ग्रामीण तहबाट सशस्त्र संघर्ष गर्ने र राजधानीमा छापामार शैलीमा सशस्त्र संघर्ष गर्नुपर्ने कुरा गर्नु भएको छ ।” श्रोतले भन्यो, “तर विप्लव कमरेडले भने यो मान्नु भएको छैन । जनसंघर्ष नै अहिलेको प्रधान कार्यनीति बनाउनुपर्नेमा वहाँको जोड छ । श्रोतका अनुसार, विप्लवले भने पार्टीले जनतन्त्र र जनजीविकाका मुद्दामा सघन जनसंघर्ष सञ्चालन गरी शक्ति सञ्चय गरेर अघि बढनुपर्ने र निर्णायक अवस्थामा तत्कालिन परिस्थिति हेरेर संघर्ष चलाउनुपर्ने मत राखेको श्रोतले बतायो ।

तर पार्टीभित्रको एउटा ठूलो तप्का भने जनसंघर्षसँगै अवैधानिक ढंगका ससाना हतियारबद्ध प्रकृतिका कार्यक्रम समेत गर्नुपर्ने मत राख्छन् । माओवादीले शुरुका दिनमा सुरु गरेका हतियारसहितका ससाना कार्वाही प्रकृतिका घटना भएमा यसले शक्ति झन बढन् उनीहरुको निश्कर्ष रहेको श्रोतको दावी छ । यद्यपी तल्लो तहमा सैन्य फर्मेसन गर्ने सवालमा भने पार्टीभित्र कुनै विवाद नभएको श्रोतले बतायो ।

“नियमित सेना बनाउन अहिले नै सम्भव नभएको र परिचालन गर्न नसकिने भएपनि तल्लोस्तरमा लडाकु दस्ता तयार गर्ने विषयमा सबै एकमत छन । विप्लवका लागि तत्कालै सशस्त्र संघर्ष गर्ने अवस्था भने विद्यमान छैन । र, उसको कार्यदिशाले यो माग गर्दैन पनि । पछिल्ला गतिविधिहरु हेर्दा उनीहरु दबाबमूलक रणनीतिमा नै रहेको देखिन्छ । श्रोतका अनुसार, पार्टीभित्र कार्यदिशामा एकरुपता नहुँदा व्यापक अराजकता छाएको र गुटले प्रश्रय पाएको छ ।

एमाले र माओवादी केन्द्रबीच एकता भएपछि असन्तुष्ट ठूलो जमातले आफूलाई समर्थन गर्ने आँकलन गरेको विप्लव समूहलाई संगठनात्मकरुपमा भने एमाले माओवादी एकताले खासै फाइदा पुगेको देखिँदैन । बरु, यही बीचमा उनीहरुभित्रै आन्तरिक कलह चुलिएपछि पार्टीभित्र थप संकट देखिएको हो । पार्टीको अन्तविरोध र विवाद हल गर्न राजधानीको भेला डाकिएको हो । मुक्तिखबरबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE