बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

ठूलो लगानीको च्याउ उद्योग सञ्चालनमा

१३ मंसिर,धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२, जुगेडा गाउँमा दुई करोड लगानीको च्याउ उत्पादन र प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । विगत दुई दशदेखि तरकारी खेतीमा क्रियाशिल कमलबहादुर घर्तीमगरले च्याउ उत्पादन र प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका हुन । उनी एक्लैले ओम केदार च्याउ तथा तरकारी फर्म सञ्चालन गरेका छन् ।

नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना -रिज्म्एफपी_ को पूरक अनुदान सहयोगमा फर्मले सञ्चालनमा ल्याएको ‘च्याउ प्रशोधन तथा बजारीकरण’ केन्द्रको बुधबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।

सो अवसरमा उनले मुलुक कृषि प्रधान देश रहेकाले कृषिको विकास र आधुनिकीकरण गर्न आवश्यक रहेको बताए । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले कृषिमा लगानी गर्न चाहनेलाई प्रदेश सरकारले पनि सघाउने बताए ।

‘कृषिमा लगानी गर्न चाहनेलाई सघाउने, कानूनी बाधा सहज बनाउने जस्ता कार्यक्रमतर्फ सरकार नीति र विधि अनुसार अगाडि बढ्छ’, मुख्यमन्त्री भट्टले अगाडि थपे–‘माटोमा काम गर्न चाहनेलाई सम्मान र हौसला प्रदान गर्नु पर्दछ ।’

कृषि सबैभन्दा राम्रो पेशा रहेको चर्चा गर्दै उनले कृषिमार्फत युवाहरुलाई स्वरोजगार बनाउने अभियानमा प्रदेश सरकार पनि लागेको उल्लेख गरे । उत्पादनयोग्य जमिनलाई सदुपयोग गर्नतर्फ प्रदेश सरकार अग्रसर रहेको मुख्यमन्त्री भट्टको भनाइ थियो ।

‘कृषि छ, तर सिचाइँ छैन ।’, उनले भने–‘त्यसैले, कृषिलाई प्रोत्साहन र आधुनिकीकरण गरेर नयाँ रुप दिन जरुरी छ ।’ उनले जनतालाई विकाससंग जोडेमामात्रै विकास सम्भव हुने उल्लेख गरे ।

मन्त्री भट्टले च्याउ प्रशोधन केन्द्र र च्याउ उत्पादन घरको अवलोकन समेत गरेका थिए ।

कृषक घर्तीमगरले च्याउ प्रशोधन केन्द्र नेपाल सरकार मातहतको रिज्म्एफपीको पूरक अनुदानमा सञ्चालन गरे पनि च्याउ उत्पादन कार्यमा भने उनको आफ्नो व्यक्तिगत लगानीमात्रै रहेको छ । च्याउ प्रशोधन केन्द्रको कुल लागत एक करोड आठ लाख २० हजार रुपियाँ रहेको छ । जसमा ६५ लाख २० हजार आयोजनाले अनुदान दिने र ४२ लाख ४३ हजार रुपियाँ सञ्चालकले लगानी गर्ने सहमति भएको थियो ।

आयोजनाबाट १३ लाख पेश्की लिइसकेको र ५२ लाख रुपियाँ लिन बाँकी रहेको ओम केदार च्याउ तथा तरकारी फर्मका व्यवस्थापक राजु पुनमगरले जानकारी दिए । प्रशोधन केन्द्रले एक घण्टामा पाँच सय किलो च्याउ प्रशोधन गर्ने जनाइएको छ । जिल्लामा उत्पादन भएका च्याउ प्रशोधन र बजारीकरणको जिम्मा पनि अब फर्मले लिने व्यवस्थापक पुनमगरले जनाए ।

प्रशोधित च्याउ सुदूरपश्चिम प्रदेशका विभिन्न शहरसहित नेपालगञ्ज, बुटवल, नारायणघाट र काठमाण्डौंसम्म पठाउने फर्मले लक्ष्य लिएको छ । यसैगरी, धेरै च्याउ भएमा विदेशसहित भारतको पलिया, लखनऊ, दिल्लीसम्म पु¥याउने लक्ष्य रहेको व्यवस्थापक पुनमगरले जानकारी दिए ।

ओम केदार च्याउ तथा तरकारी फर्मले यसवर्ष ५० मेट्रिक टनसम्म च्याउ आफैले उत्पादन गर्ने जनाइएको छ । कन्ये च्याउ ३० र गोब्रे च्याउ २० मेट्रिक टन उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक घर्तीमगरले जानकारी दिए । ‘गतवर्ष २० मेट्रिक टन च्याउ उत्पादन भएको थियो’, उनले भने–‘यसवर्ष १० हजार बल च्याउ हालेर उत्पादन ५० मेट्रिक टनसम्म पु¥याउने लक्ष्य छ ।’

दुई दशकबाट जुगेडामा तरकारी खेती गर्दै आएकोमा चार वर्ष अगाडि फर्म दर्ता गरेर व्यवस्थित र आधुनिक रुपमा व्यावसायिक खेती सुरु गरिएको जनाइएको छ । आगामि दिनमा च्याउको बीउ र एसीमार्फत बाह्रै महिना च्याउ उत्पादन गर्ने योजना रहेको व्यवस्थापक पुनमगरले बताए । उनले च्याउ उत्पादनका लागिमात्रै यसवर्ष ३५ लाखभन्दा बढी लगानी भइसकेको जनाए ।

च्याउ उत्पादन तथा प्रशोधन केन्द्रमा स्थानीय धेरै व्यक्तिले रोजगारी समेत पाएका छन् । फर्ममा स्थायी रुपमा सात जना र च्याउ राख्नका लागि कार्तिक महिनाबाट दैनिक ५५÷६० जनाले काम गरिरहेको जनाइएको छ । त्यसमा अत्यधिक महिला छन् ।

सो फर्ममा च्याउको पोका बनाउने र बीउ राख्ने काम गर्दै आएकी धनगढी उपमहानगरपालिका–१० की चन्द्रावती रानाले नजिकै काम गर्न पाउँदा आफूहरुलाई पनि जोहोको लागि सहज भएको बताइन् । ज्यालादारीमा काम गर्दै आएका महिलाले दैनिक चार सय रुपियाँ ज्याला पाउने गरेका छन् । उक्त फर्ममा भारतको सुडाका महिलाहरुले समेत काम गरिरहेका छन् ।

गाउँमा च्याउ उद्योग सञ्चालन भएपछि रोजगारीका लागि स्थानीयलाई सहज भएको जुगेडाकै विजकुमार जबरा बताउँछन् । ‘यहाँबाट महिलाहरु अन्यत्रै दैनिक ज्यालादारीको काम गर्न जाने गरेका थिए’, उनले भने–‘फर्म सञ्चालनले उनीहरुलाई सजिलो भएको छ ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE