बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

१९ जना व्यक्ति परिवारको सम्पर्कमा, बेपत्ता आयोगले पीडकलाई बयानका लागि बोलाउने तयारी

१८ मंसिर, काठमाडौं । बेपत्ता छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरी अनुसन्धानका क्रममा दोषी देखिएका पीडकलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

आयोगमा उजुरी दर्तापछि गरिएको अनुसन्धानले पीडितका कुरा सुनेपछि पीडकलाई बयानका लागि बोलाउने तयारी भैरहेको अध्यक्ष लोकेन्द्र मल्लिकले बताए ।

पीडकहरूको बयान कार्यविधि तयारी समिति गठन गरी आन्तरिक काम सुरु गरिएको छ । आयोगका प्रवक्ता विष्णु पाठकको संयोजकत्वमा ७ सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिमा महान्यायाधीवक्ता कार्यालयका प्रतिनिधि, विज्ञ राखी छलफल गरिने बताइएको छ ।

समितिले मापदण्ड तय गरी अध्ययन, विद्यमान कानुन, विश्व अभ्यास समेतको अध्ययन गरी सिफारिससहितको प्रतिवेदन आयोगलाई दिनेगरी कार्यविधि तय गरिएको आयोगका प्रवक्ता पाठकले बताए । ती पीडक को हुने छन् भन्ने बारेमा भने आयोगले खुलाएको छैन ।

पीडितले आफूहरूको पक्षमा आयोगले कामै गर्न नसकेको भन्दै आलोचना गरिरहेका बेला आयोगले माघको पहिलो साता सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ । आगामी माघ २६ मा समय सकिन लागेको आयोगले सोमबार पत्रकार भेटघाट गर्दै आफूहरूले गरेको काम सार्वजनिक गरेको छ ।

आयोगका अध्यक्ष मल्लिकले आयोगले पीडितका पक्षमा काम गर्न नसके जस्तो देखिएको स्वीकार गरे । आयोगमा सीमित स्रोत साधन, ऐन नहुनुलगायतका कारणले राम्रोसँग काम गर्न नपाएको दोहोर्याए ।

पीडितका कुरा सुनेर मात्र पीडकलाई बोलाउने तयारी भैरहेको उनले दाबी गरे । ‘पीडितले न्यायको अनुभूति गर्न पाएनन्,’ उनले भने, ‘माघमा प्रतिवेदन बुझाउने तयारी गरेका छौं ।’ ६५ जिल्लाका उजुरी छानविन गरी प्रतिवेदन बुझाउने बताए ।

बेपत्ता आयोगले २ हजार ५२० जना व्यक्ति बेपत्ता भएका उजुरी विस्तृत अनुसन्धानमा लैजाने निर्णय गरेको बताएको छ । ५६ जिल्लामा अनुसन्धान टोली पुगी १ हजार ९ सय २ वटा उजुरी अन्तिम टुंगोमा पर्याई अनुसन्धानसमेत गरिसकेको आयोगले जानकारी गराएको छ ।

त्यसैगरी आयोगले बेपत्ता पीडित परिचय पत्र वितरण कार्यविधि तयारी समिति, कारबाही सिफारिस मापदण्ड समिति, भविष्यमा द्वन्द्व हुन नदिन संस्थागत सुधारको जरुरी समिति, परिपूरण सिफारिस तयारी समिति गठन गरेको छ ।

राजनीतिक दलले प्रमाण जुटाएर कारबाहीका लागि सिफारिस नगरिदिए हुन्थ्यो भन्ने धारणा कारण आयोगले सिफारिस गर्न नसकेको प्रवक्ता पाठकले बताए । पुसको दोस्रो साताभित्र विस्तृत अनुसन्धानको काम सक्ने कार्ययोजना आयोगको छ ।

पुसको तेस्रो सातासम्म ६५ जिल्लाको विस्तृत अनुसन्धान सक्ने,‘तोकिएको समयभित्रै आयोगले सरकारलाई प्रतिवेदन बुझाउने तयारी भैरहेको छ,’ अध्यक्ष मल्लिकले बताए ।

त्यसतै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले हालसम्म १९ जना व्यक्ति भेटिएको बताएको छ । सशस्त्र द्वन्द्वका समयमा हराएका भनिएका र आयोगमा उजुरी दर्ता भएकामध्ये १९ जना परिवारको सम्पर्कमा आएका छन् । विभिन्न संघ संस्थामा उनीहरू बेपत्ता भएको उजुरी निवेदन परेको थियो ।

आयोगले उजुरीहरूको छानबिन गर्ने क्रममा परिवारको सम्पर्कमा रहेको भेटिएका छन् । खोजी गर्ने क्रममा कतिपय काठमाडौंमै चालक पेशामा रहेको, कतिपय भारतमा काम गरिरहेको आफैंले आयोगमै पुगेर जानकारी गराएका थिए ।

द्वन्द्वका क्रममा बलपूर्वक व्यक्ति बेपत्ता पारिएका व्यक्तिहरूको सम्बन्धमा सत्यतथ्य पत्ता लगाई कानुनको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन २०७१ सालमा आयोगको गठन गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE