बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

मन्त्री विष्टको भनाई-‘सूचना प्रविधिसम्बन्धी प्रतिवेदन कार्यान्वयन हुन्छ’

१८ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सूचना प्रविधि तथा बिजनेस प्रोसेस आउटसोर्सिङ (आइटी-बिपिओ) प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न सरकारले काम गरिरहेको बताएका छन् ।

झन्डै ३ महिनाअघि मन्त्रालयका सहसचिव प्रकाश दाहालको कार्यदलले सूचना प्रविधि क्षेत्रको विकास र रोजगारीका लागि विभिन्न सुझावसहितको कार्यपत्र मन्त्रालयमा पेस गरेको थियो । सोमबार राजधानीको एक कार्यक्रममा बोल्दै उनले उक्त प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न मन्त्रालयबाट काम भइरहेको बताए ।

कार्यदलले ५ वर्षभित्र सूचना प्रविधि तथा बिजनेस प्रोसेस आउटसोर्सिङ (आइटी-बिपिओ) क्षेत्रमा ८५ हजार रोजगारी सिर्जना गर्न सकिने सुझाएको थियो । प्रविधि पत्रकार मञ्चले मन्त्रालयसँगको सहकार्यमा नेपालमा सूचना प्रविधि र रोजगारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अरु मन्त्रालयसँग सहकार्य गरेर उक्त प्रतिवेदन कार्यान्वयन गर्ने बताए ।

‘सरकारको प्राथमिकता रोजगारी हो,’ उनले भने,‘मुलुकका मध्यमस्तरका युवाका लागि रोजगारी सिर्जना गर्ने प्रमुख माध्यम सूचना प्रविधि क्षेत्र हो ।’ मध्यमस्तरका युवाहरुले उच्च क्षमताको रोजगारी गर्न नसक्ने र शारीरिक काम पनि नगर्ने हुँदा उनीहरुका लागि रोजगारीको समस्या उत्पन्न भएको उनले बताए ।

आफू अनुकूलको रोजगारी नहुँदा उनीहरुमा निराशा थपिएको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारी सिर्जना गरेर उनीहरुलाई रोजगारी दिने बताए । सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रका प्रतिनिधिहरुले प्रतिवेदनले उल्लेख गरे भन्दा धेरै रोजगारी सिर्जना गर्न सकिने तर यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताए ।

श्रम मन्त्रालयम बुझाएको प्रतिवेदनमा सूचना प्रविधि क्षेत्रमा १४ हजार ५ सय जनशक्तिले काम गरिरहेको उल्लेख छ । यस क्षेत्रमा प्रत्येक वर्ष ७ हजार ५ सय आइटी विद्यार्थी उत्तीर्ण भइसकेका छन् । त्यस्तै, हजारभन्दा धेरै कम्पनी दर्ता भएका र ५ हजारभन्दा धेरैले ‘फ्रिल्यान्सर’ गरिरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE