बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

झूटो अफवाह फैलाउने कामैतविरुद्ध मुद्दा दर्ता

२३ मंसिर, काठमाडौं । झूटो अपवाह फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोलबजारस्थित ज्योति विकास बैंकबाट गत बुधबार निकालेको रकम आफन्त र साथीभाइलाई दिएर बाँकी आफूले राखेर लुटिएको भन्दै झूटो अफवाह फैलाएको आरोपमा प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका १० का २३ वर्षिय चितकुमार कामैत पक्राउ परेका हुन् ।

उनले बैंकबाट रकम निकालेपछि गोलबजारमा रहेका दिदी-भिनाजुलाई ४ लाख, घरमा आमालाई १ लाख, गाउँको २ जनासँग लिएको ऋणबापत ४६ हजार चुक्ता गरी आफूसँगै बाँकी १ लाख ५४ हजार राखेका थिए ।

सबैलाई रकम दिइसकेपछि कामैतले आफूसँग धनगढी बजारमा रहेको उग्रचण्डी पेट्रोल पम्पअघि रातो रङको मोटरसाइकलमा आएका २ जनाले रकम लुटेको भन्दै इलाका प्रहरी कार्यालय लहानलाई खबर गरेका थिए ।
रकम लुटिएको खबर पाउनेबित्तिकै प्रहरीले जिल्लाभरि खोजी सुरु गरेको थियो । जिल्ला प्रहरी मातहतका सबै कार्यालयलाई यसबारे निर्देशन जारी गरिएको थियो ।

२ दिनसम्म प्रहरीको सम्पूर्ण संयन्त्र खोजीमा जुट्दा पनि घटनामाथि नै शंका उत्पन्न भएपछि प्रहरीले कामैतमाथि सूक्ष्म अनुसन्धान थालेको थियो ।

अनुसन्धानको धारै परिवर्तन गरेपछि भने कामैतले बैंकबाट निकालेको रकम सबैतिर बाँडेर केही आफूसँग राखेको स्वीकार गरे । नभएको घटना भयो भनेर सार्वजनिक शान्ति भंग गरी प्रहरीलगायत सबैलाई अफवाहफैलाएको भन्दै प्रहरीले कामैतविरुद्ध मुद्दा दर्ता गरेको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ७० मा झूटा अफवाह फैलाउन नहुने व्यवस्था छ । कसैले उक्त व्यवस्थाविपरीत काम गरेको ठहर भए १ वर्षसम्म कैद र १० हजारसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE